सिसी क्यामरा प्रभावकारी बन्दैः ९ हजार चालक कारवाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले सिसी क्यामराको सहयोगमा ट्राफिक नियम उल्लङ्घन गर्ने ८ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५–०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गर्ने उक्त सवारीसाधनका चालकलाई सिसि क्यामरा फुटेजको आधारमा सम्पर्कमा ल्याई कारबाही गरेको हो ।

महाशाखाले दिएको जानकारीअनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुमबाट सडकमा खटिएको टोलीमार्फत ५ हजार ३१४, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सिसी क्यामरा फुटेजको आधारमा एक हजार ९९७ र सर्भिलेन्स भेइकल र अन्य क्यामरामार्फत एक हजार ६९ चालकलाई कारवाही गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्त सिसि क्यामराको प्रयोगमार्फत सवारी नियम उलङ्घन गर्ने थुप्रै चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको बताउँछन् । ‘ट्राफिक प्रहरी देख्दा ट्राफिक नियम मान्ने, नदेख्दा ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्तिको अन्त्यका लागि सिसि क्यामरा सहयोगी बनेको छ”, उनी भन्छन् ।

ट्राफिक नियम उलङ्घनका घटनासँगै महाशाखाले वि.सं २०७४ माघ २५ देखि सिसि क्यामराको प्रयोगमार्फत सवारीसाधनका चालकलाई कारवाही गर्दै आएको हो । महाशाखाले सिसि क्यामराका अतिरिक्त ड्यासबोर्ड क्यामरा, ग्रोप्रो क्यामरा, बडिवन क्यामरामार्फत पनि कारवाही गर्दै आएको छ । उपत्यकामा १० लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् । रासस

कमेन्ट गर्नुहोस्