एकता मञ्चद्वारा सहयोग रकम हस्तान्तरण

काठमाडौं । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कोइरालखर्क निवासी र हाल भारत तमिलनाडु, चेन्नैको पर्शाबाक्कममा कार्यरत रेखिराम सुनारलाई अखिल भारत नेपाली एकता मन्चले सहयोग गरेको छ । होटलमा वेटरको काम गर्ने २७ वर्षिय सुनार गत फ्रेबुअरी २६ मा बाटो काट्ने क्रममा दुर्घटनामा परी देब्रे खुट्टा भाँचिएका छन् ।

आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी शीघ्र स्वास्थ्य लाभको कामनासहित पीडित सुनारलाई सहयोग रकम ३३,८९० (भारु) हस्तान्तरण गरिएको हो । अखिल भारत नेपाली एकता मन्च–तमिलनाडु–पुदुचेरी–केरला संयुक्त राज्य समितिको पहलमा सहयोग रकम संकलन गरी एकता मन्चका तर्फबाट राज्य समितिका अध्यक्ष लोकबहादुर क्षेत्रीले रकम हस्तानरण गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध उक्त मञ्चले विगतदेखि नै प्रवासमा रहेका नेपालीहरुका लागिसकेको सहयोग गर्दै आएको छ । अध्यक्ष क्षेत्रीले भने, ‘हामीले गरेको सानो सहयोगले कसैको ज्यान बच्छ, बाँच्न सहज हुन्छ भने त्यो हामीले गर्न हिच्किचाउनु हुँदैन ।’ उनले अखिल भारत नेपाली एकता मन्च, तामिलनाडु, पुदुचेरी, केरला, राज्य समितीका सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद र आभार व्यक्त गरे ।

कार्यक्रममा राज्य उपाध्यक्ष केशरबहादुर थापा, राज्य सदस्य मिठु पुरी, मध्यनगर समिति सह–सचिव राजु क्षेत्री, उत्तर नगर समिति सदस्य छविलाल सुनार र अशोक महरा, मध्य नगर समिती सदस्य रेखबहादुर सुनार, अम्जिकरै एरिया सचिब बालकृष्ण शाही, नेपाली युवा क्लब भारतका अध्यक्ष मिलन बिसुन्के, सदस्य गोपाल सुनार लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

‘सुनार अहिले पनि उपचाररत छन् । उनको आर्थिक अवस्था कमजोर भएकाले प्रवासमा रहेका हामीले सकेको सहयोग गरेका हौं’ एकता मञ्चका राज्य सह–सचिव चन्द्रबहादुर महराले जानकारी दिए । कार्यक्रमलाई समिति सचिव नारायणप्रसाद खनालले संचालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्