फरिया सेन्टर प्राइभेटद्वारा काठमाडौंमा ‘मिस नेपाल कर्भी’ आयोजना

काठमाडौं । फरिया सेन्टर प्राइभेट लिमिटेडद्वारा काठमाडौंमा ‘मिस नेपाल कर्भी’आयोजना गरिने भएको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस सौन्दर्य प्रतियोगिता अन्य प्रतियोगिता भन्दा अलिक फरक किसिमको हुन लागेको फरिया सेन्टरले जानकारी दिएको छ ।

राजधानी काठमाण्डौमा यस कार्यक्रमको जानकारी दिनका लागि पत्रकार सम्मेलन गरिएको थियो । शरीर चट्ट मिलेको जिउडाल राम्रो भएका युवतीले मात्र सौन्दर्य प्रतियोगितामा भाग लिनुपर्ने भन्ने मान्यतालाई यस सौन्दर्य प्रतियोगिताले तोड्दै सबै किसिमका रुप रंग भएकाहरुले पनि भाग लिन सक्ने बताइएको छ ।

संसारमा महिलाहरुको क्षमताको कुरा गर्दै खाली बाहिरी सौन्दर्य प्रतियोगितामात्र हुने भएकाले भित्री प्रतिभा र क्षमतालाइ नै वृद्धि गराई महिलाहरुमा हौसला प्रदान गर्ने यो प्रतियोगिताको लक्ष्य रहेको छ । उमेर ढल्दैमा र शरीर मोटो हुँदैमा कोही महिला पनि प्रतिभाविहीन र कमजोर हुन्छन् भन्ने हुँदैन । त्यसैले अब सबै महिला उद्यमशील र सामाजिक बन्नुपर्दछ भन्ने हेतुले यो प्रतियोगिता संचालन गर्न लागेको हो ।

प्रतियोगिताको लागि काठमाडौं लगायत विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका ३० जना महिलाहरुलाई क्लोज क्याम्पमा राखेर १५ दिने पूर्णकालीन तालिम प्रदान गरिने छ । आगामी भदौ १२ गते ठमेलको छायाँ सेन्टरमा ग्रान्ड फिनाले गरिने छ । बिजेता लगायत अन्य प्रतिस्पर्धीहरु देशका विभिन्न ठाउहरुमा पनि भाग लिई उद्यमशीलता र सामाजिक तालिमहरु प्रदान गर्नेछन । यस वर्षदेखि सुरु गरिएको यो सौन्दर्य प्रतियोगिता आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताइएको छ । यस कार्यक्रमा पश्चात ७ वटा प्रदेशका सात वटा शहरका विद्यालयमा गएर सेनीटरी न्याप्किनको बारेमा जानकारी दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्