राजधानीमा डेंगुको जोखिम: यी क्षेत्रमा छ बढी खतरा

काठमाडौं । काठमाडौं उपत्यकाभित्र डेंगु रोग सार्ने लामखुट्टे देखा परेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा एडिज नामक लामखुट्टेको बिगबिगी छ । यो लामखुट्टेले दिउँसो टोकेपछि मानिसमा डेंगुको संक्रमण हुन्छ ।

पछिल्ला ३ महिनामा उपत्यकामा डेंगुका ११ जना बिरामी देखिएका छन् । ‘असार, साउन र भदौमा गरी ११ वटा बिरामी भेटिएका छन्’, महाशाखामा डेंगु रोग हेर्ने सम्पर्क व्यक्ति उत्तमराज प्याकुरेलले भने, ‘उपत्यका डेंगुको उच्च जोखिममा छ ।’ उपत्यकाभर नै डेंगु सार्ने लामखुट्टे भएपनि बानेश्वर, तीनकुने र ताहचल क्षेत्र उच्च जोखिममा रहेको प्याकुरेलले बताए ।

‘डेंगु लागेका बिरामीलाई खुवाउने बेग्लै औषधी हुँदैन । अस्पताल जाने नर्सिङ केयरमा बस्ने हो,’ उनले भने । डेंगु नियन्त्रणका लागि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विभाग, प्रदेश र स्थानीय तहहरूबीच छलफल भएको थियो । ‘मन्त्रालय, विभाग, प्रदेश, काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहबीच अब कसरी अघि बढ्ने भन्ने छलफल भयो,’ प्याकुरेलले भने, ‘व्यापक रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भन्ने छ ।’

डेंगु लागेपछि ज्वरो, रूघाखोकी लाग्ने, खान मन नलाग्ने, जीउ दुख्नेजस्ता लक्ष्यण देखा पर्छन् । डेंगु लागेपछि समयमै स्वास्थ्य संस्था नगए बिरामीको मृत्युसमेत हुन सक्छ । दिउँसोपख लामखुट्टेले टोक्दा डेंगु लाग्ने हुँदा बाहुला भएको लुगा लगाउनुपर्छ भने घरमा झुलभित्र बस्नुपर्छ । उपत्यकाबाहिर मकवानपुर, कास्की, सुनसरी, उदयपुरमा डेंगु देखिएको छ।

यीमध्ये धरान उपमहानगरपालिकामा धेरै बिरामी छन् । दुई हजारभन्दा बढीमा डेंगु देखिएपनि कसैको मृत्यु नभएको महाशाखाले जनाएको छ । यहाँ लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काम नियमित रूपमा भइराखेको छ । कास्कीमा पनि साउनमा डेंगु देखा परेको थियो। पोखरा महानगर वडा नम्बर–८ शिवालय क्षेत्रमा १८ जना डेंगुका विरामी भेटिएका थिए । मकवानपुरको हेटौंडा उपमहानगर वडा नं. ४ मा पनि डेंगुका बिरामी देखा परेका थिए । ३८ जना विरामीको विभिन्न स्वास्थ्य संस्थाको रेखदेखमा राखिएका थिए ।

कमेन्ट गर्नुहोस्