सुदूरपश्चिममा गौरा पर्वको चहलपहल शुरु

डोटीः  सुदूरपश्चिमको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौराको चहलपहल शुरु भएको छ । गाउँमा गौरा घर लिपपोत शुरु भएको छ । वर्षाले भत्किएका बाटाघाटा मर्मत र सरसफाइमा गाउँलेहरू जुटिसकेका छन् ।

गौरा विसर्जन गर्ने मठमन्दिरको सरसफाइ पनि शुरु भइसकेको छ । डोटीका हरेक गाउँ र टोलमा गौरा महोत्सवको उल्लास देखिन थालेको छ । पुरुषहरूले मठमन्दिर सरसफाइ गरी गौरा भित्र्याउन देवताका चैत, धुमारी र ठाडो खेल शुुरु गरिसकेका छन्।

गौरापर्व मनाउनकै लागि थातथलो छोडेर बाहिर गएका पनि धमाधम घर फर्कन थालेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा, डोटीका गाउँघरमा अहिले गौरा पर्वको तयारी शुरु भएको डोटीको जोरायल गाउँपालिकाका–४का स्थानीयवासी दिनेशबहादुर मल्लले बताए ।

उनले भने, “गाउँमा गौराको चहलपहल बढेको छ, परदेश गएका घर आउन थालेपछि शहर बजार भन्दा पनि अहिले गाउँ घरको रौनक बढेको छ ।”

सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा मनाउन घर फर्किनेका कारण तराईबाट पहाड आउने गाडी प्राय भरिभराउ हुने गरेको ट्राफिक प्रहरी पोष्ट बुडरका ट्राफिक प्रहरी केशव खड्काले बताए । उजले भने, “गौरा पर्व मनाउने आउनेका कारण सबैजसो गाडी अहिले भरीभराउ देखिन्छन, दशै तिहारभन्दा पनि बढी गौरापर्व मनाउने भएकाले कामका लागि गएका अहिले फर्किन थालेका छन् ।”

त्यस्तै यहाँका जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्रसम्म यातायातका सावरी साधानमा भीड बढेको स्थानीयवासी बताउँछन् । दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा अहिले गौरापर्वका लागि चाहिने सामान तथा नयाँ लुगा खरीद गर्नेको भीड बढेको दिपायल पिपल्लाका हरिश फेन्सीका व्यापारी नरबहादुर खड्काले बताए । उन भने, “गौरापर्व मनाउन परदेश गएका घर फर्किन थालेका छन्, उनीहरुले बजारमा नयाँ लुगा तथा अन्य सरसामान किन्ने गरेका कारण यहाँका बजारको चहलपहल निकै बढेको छ ।” नेपाली पात्रोअनुसार यो वर्ष गौरा पर्व यही भदौ ६ गतेपर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेशका हरेक जाती, वर्ग र क्षेत्रका बासिन्दाको विभेद्रहित साझा सांस्कृतिक पर्व भएका कारण पनि गौराको उत्साह र रौनक बेग्लै हुने गरेको बुढापाका बताउँछन् । गौरा भित्र्याउने घर आँगनदेखि सामूहिक गौरा घरको सरसफाइसँगै गौरा विर्सजन गर्ने मठ–मन्दिरमा पनि सरसफाइ शुरु भएको गड्सेराका स्थानीयवासी पूर्णबहादुर विष्टले जानकारी दिए ।

महादेव वर पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आएको पर्वका रुपमा गौरालाई लिइन्छ । गौरा विसर्जन गरिने मठ मन्दिरमा भाद्र सङ्क्रान्तिका दिन पुरुष जम्मा भएर देवी–देवताको ठाडो (डेउडा) खेल लगाउँदै गौरापर्व शुरु भएको सन्देश दिने गरिन्छ । पञ्चमीका दिन महिलाले सामूहिक रुपमा बिरुडा (५ प्रकारका अन्न मिसाएर बनाइने) स्थानीय जलाशयमा गएर भिजाउने, अर्को दिन परम्परागत कुवाँ र नाउलामा गौरा पुज्ने र अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्यिाउने चलन छ ।

एक साता मनाइने गौरापर्व धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व बोकेको प्रमुख पर्व भएको डोटी शैलेश्वरी मन्दिरका पूजारी प्रेमशङ्कर भट्टले बताए । उनले भने, “गौरा धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व बोकेको पर्व भएकाले पनि यसको विशेष महत्व छ ।”

सुदूरपश्चिममा भएका पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ । पहाडी जिल्ला डोटी पनि गौरा महोत्सवको भव्य तयारी गरिएको छ । जिल्ला सदरमुकामसँगै गाउँगाउँमा गौरा महोत्सव भइरहेका छन्, कुनै गाउँ, टोल यस्तो बाँकी छैन जहाँ गौरा पुजनसँगै महोत्सवको तयारी नभएको होस् । ‘सुदूरको प्रमुख सांस्कृतिक पर्व भएकाले यसको महत्व पनि त्यत्तिकै ठूलो छ ’, पूजारी भट्टले भने, ‘गौरा केवल पर्व मात्र होइन, यो रामायणकालीन सभ्यताको निरन्तरता हो र सामूहिक उत्तरदायित्व झल्काउने पर्व पनि हो ।’ कुनै जातीय वा वर्गीय विभेद नहुने धार्मिक पर्व गौरा यस क्षेत्रमा सामाजिक एकताको पर्वका रूपमा समेत कायम रहेको छ ।

एकातिर देवीदेउताका चैत, फाग, धुमारी, ठाडो खेल र डेउडा गाएर धार्मिक लोककाव्य जीवन्त राख्ने परम्परा छ  भने अर्कोतिर नेपाल एकीकरणका वीरगाथा डेउडाका रूपमा गाएर राष्ट्रिय एकतालाई पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ । ‘यो धार्मिक तथा सामाजिक महत्वको अद्भूत सांस्कृतिक पर्व हो ’, उनले भने । सामाजिक अनुशासन, धार्मिक अनुशासनसँगै पारिवारिक अनुशासनसँग पनि पर्वको महत्व जोडिएको छ, पुजारी भट्टले भने, “रामायणकाल, महाभारतकाल र आधुनिक कालखण्डलाई जोड्ने गौरापर्वले विगतलाई सम्झिने, वर्तमान र भविष्यलाई सुखद बनाउने लक्ष्यअनुरूप मनाउने गरेको पाइन्छ ।”

विशुद्ध धार्मिक पर्वका रूपमा मनाइने गौरा शिव–पार्वतीको परम्परागत पूजासँगै डोटेली संस्कृतिमा देव जागरण पर्वका रूपमा समेत मनाउने गरिएको छ । बल, तील, गुभा, धान र साउँका बोटबाट बनाइने गौरा र शिवका रूपमा काठको प्रतिमा स्थापित गरी एक हप्तासम्म पूजा गर्ने परम्परा रहेको छ ।

अविवाहित कन्याहरूले घर भित्र्यिाउने गौरा विर्सजन गर्दा विवाहित बुहारीले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँदै स्थानीय मठमन्दिरमा लैजान्छन् । मठमन्दिरमा धामी, पूजारीले गौरालाई विधिवत् विर्सजन गर्ने परम्परा रहेको छ । नेपालको सुदूरपश्चिम मात्र नभइ कर्णाली प्रदेश, भारतको कुमाउ, गडवाल, हिमाञ्चलको केही भूभाग हुँदै कश्मीरसम्म मनाउने परम्परा रहेको छ । कुमाउ गढवाल र सुदूरपश्चिममा गौरा मनाउने परम्परा एउटै भए पनि हिंमाञ्चल र कश्मीरमा भने भिन्न रहेको पाइन्छ ।

सुदूरपश्चिममा ठाउँ अनुसार गौरापर्वको अवसरमा स्थानीय तहहरुले डेउडा खेल प्रतियोगितासमेत आयोजना गर्ने गरेका छन् । विवाहित महिलाले आफ्नो घाँटीमा गौरादेवीको प्रसादका रुपमा उन र धागोले बनाइएको धागो एक वर्षसम्म बाँध्ने चलन छ । उक्त धागोलाई दुबेधागो भन्ने गरिन्छ । विवाहित महिलाले वर्ष दिनसम्म उक्त धागोको पूजा गरेर मात्रै खाना खाने चलन रहेको दिपायल पिपल्लाकी स्थानीय खिमादवी विष्टले बताए । रासस

कमेन्ट गर्नुहोस्