मन्दिरको मुख्य पुजारीमा रोबोट नियुक्त

काठमाडौँ । जापानको एउटा बौद्ध मन्दिरमा रोबोटलाई पुजारीमा नियुक्त गरिएको छ । क्योटो सहरमा रहेको चार सय वर्ष पुरानो ‘कोदाइजी मन्दिर’मा एन्ड्रोइड क्याननलाई पुजारी नियुक्त गरिएको हो ।

सुरुमा उक्त नियुक्तिको व्यापक आलोचना भएपनि हाल मन्दिरमा रहेका अन्य पुजारीहरूले उक्त रोबोटको सहायता गर्न थालेको बताइन्छ । उक्त रोबोटले मन्दिरमा दर्शनार्थ आउने श्रद्धलुहरूलाई करुणा र दयाको प्रवचन दिन थालेको छ ।

अजर अमर पुजारी

कृत्रिम बुद्धिमत्ताले सुसज्जित उक्त रोबोट आउने दिनहरूमा झनै बुद्धिमान हुँदै जाने बताइएको छ । मन्दिरका एक पुजारी थेन्सो गाटो भन्छन्, “यो रोबोट कहिल्यै मर्ने छैन, न यो कहिल्यै बुढो नै हुनेछ । यस अर्थमा यो अजर अमर रहेको छ ।”

गाटो भन्छन्, “यसमा समयसँगै आफूमा सुधार ल्याउनसक्ने क्षमता रहेको छ र यसले आफूलाई सधैँ प्रासंगिक बनाइराख्न सक्छ । यसले बौद्ध धर्मको बदलिँदो ग्यानसँगै आफूलाई अद्यावधिक गर्न सक्छ । यसरी यसले समयसँगै आफ्नो ज्ञानलाई पनि फराकिलो बनाउँदै लग्न सक्छ ।”

मानवकै आकारमा

यस रोबोटको आकार वयस्क मानिस जत्रै रहेको छ । यसका साथै यसलाई हात हल्लाउन र हिंडदुल गर्न सक्ने गरेर बनाइएको छ ।

यसको अनुहार र काँधलाई सिलिकनले ढाकिएको हुन्छ जसले गर्दा यसको बाहिरी भाग मानिसको छाला जस्तै देखिन्छ । यसले दुवै हात जोड्दै कोमल स्वरले प्रार्थना गर्दछ । यसका साथै यसको यान्त्रिक पक्ष पनि सजिलै देख्न सकिन्छ । एल्म्युनियमले बनेको शरीर र झिप्झिप बलिराख्ने बत्तीले यो रोबोट नै हो भन्नेमा कुनै शंका हुँदैन ।

सोह्र लाखको लगानीमा तयार भयो पुजारी रोबोट

ओसाका विश्वविद्यालयका प्रख्यात रोबोटिक्स प्राध्यापक र जेन मन्दिरको सहयोगमा लगभग १६ लाख रुपैयाँ जति रकम खर्चेर यस रोबोटको निर्माण गरिएको हो । यसको विशेषता के हो भने यसले श्रद्धालुहरूलाई संवेदना र करुणाको शिक्षा दिने गरेको छ । यसका साथै यसले वासना, क्रोध र अहंकारका दुष्प्रभावबारे समत भन्ने गरेको छ ।

यो रोबोट यसै वर्षको सुरुदेखि संचालनमा ल्याइएको हो ।

कमेन्ट गर्नुहोस्