विराट कोहली–रोहित शर्मा विवाद: कोचको अन्तर्वार्तामा समेत उठ्यो कुरा

काठमाडौंः  भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र ओपनिङ ब्याट्सम्यान एवं उपकप्तान रोहित शर्माबीच विवाद रहेको भन्ने समाचारलाई कोहली र प्रमुख प्रशिक्षक रवि शास्त्रीले खण्डन गरेपनि दुवै खेलाडीबीच केही न केही अवश्य रहेको भन्ने आशंका जन्माउने समाचार बाहिरिएको छ ।

भारतीय क्रिकेट टीमका प्रमुख प्रशिक्षकको लागि भएको अन्तर्वार्तामा एक जना उम्मेदवारलाई दुई खेलाडीबीचको विवादबारे प्रश्न सोधिए पछि यस्तो आशंका उब्जिएको हो ।

पाँच जना आवेदकलाई उछिन्दै प्रमुख प्रशिक्षकको जिम्मेवारी एकपल्ट फेरी रवि शास्त्रीलाई दिइएको छ । भारतले विश्वकप क्रिकेटको सेमीफाइनलमा न्युजिल्याण्डसँग नराम्रोसँग हार बेहोरेपछि उनको अनुबन्ध नवीकरण हुने या नहुने कुरामा अनिश्चितता छाएको थियो ।

पीटीआईका अनुसार उक्त पदका लागि आवेदन दिने पाँचै आवेदकहरूको अन्तर्वार्ता कपिलदेव नेतृत्वको टोलीले गरेको थियो । सूत्रहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीले एक जना आवेदकलाई अन्तर्वार्ताको क्रममा भारतीय कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबिच्को द्वन्दको समाधान के होला भनेर पनि सोधिएको थियो ।

प्रकाशित समाचारमा यस्तो प्रश्न पाउने उम्मेदवार अन्तर्वार्तामा भने सफल हुन सकेनन् । ती उम्मेदवारले कोहली र शर्माबीच कुनै प्रकारको पनि द्वन्द नरहेको र स्वयम् विराट कोहलीले यस कुराको पुष्टि गरेको बताएका थिए । उनले दुवैबीच कुनै झगडा नै नरहेकोले यस प्रश्नको उत्तर दिन गाह्रो भएको बताएका थिए ।

उनले यदि त्यसो भएको खण्डमा आफूले यसमा हस्क्षेप गरेर सम्बन्ध अझ बिग्रिन नदिन प्रयास गर्ने बताएका थिए । उनले यस मामिलामा बिसिसिआईलाई पनि जानकारी गराउने बताएका थिए । साथै ती उम्मेवारले वर्तमान प्रशिक्षकले उक्त विवाद किन सुल्झाउन नसकेको होला भन्ने प्रश्न समेत गरेका थिए ।

उक्त पदका लागि आवेदन दिनेमा रवि शास्त्रीसँगै माइक हेसन, टम मुडी, रोबिन सिंह र लालचन्द राजपुत रहेका थिए । यसका अतिरिक्त वेस्ट इन्डिजका प्रशिक्षक फिल सिमंसले पनि यस पदका लागि आवेदन दिने इच्छा जाहेर गरेका थिए तर पछि उनले व्यक्तिगत कारण भन्दै नाम फिर्ता लिएका थिए ।

भारतले विश्वकपको सेमिफाइनलमा हार बेहोरेपछि विराट कोहली र रोहित शर्माबीच विवादबारे पहिलो पल्ट समाचार आएको थियो । तर कोहली र टीमका प्रमुख प्रशिक्षक रवि शास्त्रीले भने यी समाचारहरूको खण्डन गर्दै त्यस्तो केही नभएको प्रतिक्रिया दिएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्