११ महिना फ्रस्टेसनमा गुजारेँः अर्जुन घिमिरे ‘पाँडे’

काठमाडौं । सुरुवाती चरणमा अरूको सिरियलमा काम दिँदैनथे, जहाँ पनि आफ्नो मान्छे चाहिने । त्यो समयमा बारम्बार बिदेसिने सोच आइरहन्थ्यो । सुटिङमा बोलाउँथे, हिँडेरै जाने– फर्किने गर्थें ।आफूभित्र धेरै पीडा हुन्छन् ।

अरू साथी दर्शकको अगाडि जाँदा ‘मुड फ्रेस’ हुन्छ भन्छन् । तर, अरूलाई हँसाउने म धेरै पटक विभिन्न कारणले रोएको छु । आँसु भनेको मनभित्र गुम्सिएर रहेको पीडा बाहिर निकाल्ने माध्यम हो । सायद मान्छे सातामा दुईपटक मजाले रुने हो भने मानसिक रूपमा फ्रेस हुन्छ ।

त्यसवेला नेपाल टेलिभिजनमा ‘सिस्नुपानी’ प्रसारण हुन्थ्यो । तर, त्यसको १८औँ शृंखलामा पुगेपछि कुमार कट्टेल र म निकालियौँ, कार्यक्रम बन्द भयो । कुमारजी र म दरबारमार्ग पुगेर धक फुकाएरै रोयौँ । कत्रो मिहिनेत गरेर कार्यक्रम बनाइरहेका थियौँ, सबै सकियो । त्यसपछिका ११ महिना ‘फ्रस्टेसन’मा गुजारेँ । त्यो समयको पीडा अहिले सम्झनै मन लाग्दैन ।

त्यतिवेलाको दुःख बयान गरेर साध्य पनि छैन । अहिले सम्झिँदा लगानीकर्ताले आफ्नो मान्छेलाई खेलाउनुपर्ने भएकाले हामीलाई ‘सिस्नुपानी’बाट निकालेको जस्तो लाग्छ । सायद उनका मान्छेलाई खेलाउने गरी हामीले स्क्रिप्ट बनाउन सकेनौँ ।

कैलालीको धनगढीमा स्टेजमा चढ्न मेकअप गर्दै थिएँ । घरबाट फोन आयो, ‘छोरी एकदम सिरियस छिन्, सेता आँखा पल्टाइरहेकी छिन् ।’ छोरीलाई अस्पताल लाँदै गर्दा म भने दर्शकलाई हँसाइरहेको थिएँ ।

त्यसपछि केही गरौँ भनेर अर्को सिरियलको डमी बनायौँ । तर, त्यो डमी पनि कतैबाट प्रसारण गर्न सकिएन । कुमारजी र म अनेक ठाउँ धायौँ, बिन्ती बिसायौँ, तर सफलता हात लागेन । त्यसकारण झनै ‘फ्रस्टेसन’ बढ्यो । त्यतिवेला डमी लिएर ‘मिडिया हब’ पनि गएका थियौँ ।

‘हामीले यस्तो चिज बनायौँ, हामीलाई प्लेटफर्म दिनुपर्यो’ भन्यौँ । तर, उहाँहरूले करिब १२ महिना त ‘हुन्छ हुन्छ’ भन्दै टारिदिनुभयो । पछि जब पहिलो भाग प्रसारण भयो, त्यसलाई ‘कृषि कार्यक्रम’ भनेर उडाइयो ।

ऋण खोजेर बनाएको कार्यक्रमलाई ‘कृषि’ भनेर होच्याइदिँदा कस्तो अवस्थामा पुगियो, अहिले सम्झँदा कहाली लाग्छ । हामी केही गर्नै सक्दैनौँ भन्ने अवस्थामा पुग्यौँ । तर, त्यो पीडा र फ्रस्टेसनलाई हाम्रो आत्मविश्वासले चि(यो । प्लेटफर्म पाउँदा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास गुमेन ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिस्नुपानी’बाट कुमार कट्टेल र म निकालियौँ, कार्यक्रम बन्द भयो । दुवैजना दरबारमार्ग पुगेर धक फुकाएरै रोयौँ ।

आँसु र पीडासँगै धेरै स्टेज पर्फर्मेन्स गरेको छु । करिब पाँच वर्षअघिको कुरा हो । कैलालीको धनगढीमा भइरहेको क्षेत्रीय महोत्सवमा थिएँ । स्टेजमा चढ्न मेकअप गर्दै थिएँ । घरबाट फोन आयो– ‘छोरी एकदम सिरियस छिन्, सेता आँखा पल्टाइरहेकी छिन् ।’ मैले तत्काल डाक्टरलाई फोन गरेँ । छोरीलाई अस्पताल लाँदै गर्दा म भने दर्शकलाई हँसाइरहेको थिएँ ।

हजारौँ दर्शकको ताली र सिठी बजिरहेको थियो । करिब ३५ मिनेटको पर्फर्मेन्समा मनको छटपटी व्यक्त गरिसक्नु छैन । स्टेजबाट निस्केलगत्तै घरमा फोन गरेँ । छोरी निको हुँदै गरेको थाहा पाएँ, अनि मात्र बिस्तारै शान्त भएँ ।

कमेन्ट गर्नुहोस्