‘एक व्यक्ति एक पद’तर्फ नेकपा, वामदेव र माधव नेपाल एक ठाउँमा, नयाँ सन्तुलनको चर्चा हल्ला मात्रै

गोकर्ण भट्ट । काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीभित्र जिम्मेवारी बाँडफाँडसहित एकता प्रक्रिया एकाएक टुंगिएपछि टिप्पणीको बजार तातेको छ ।

सामाजिक सञ्जालदेखि नेकपा र नेकपाबाहिर पछिल्ला घटनाक्रमका सन्दर्भममा बिभिन्न किसिमका टिप्पणी सार्वजनिक भएका छन् ।

यी टिप्पणीहरु मूलतः यस्ता छन् ः

१. लामो समयदेखि विवाद हुँदै आएको स्कूल विभागमा अचानक इश्वर पोखरेलको नाममा सहमति जुट्यो । यसका पछाडि पक्कै पनि केही आन्तरिक सहमति या लेनदेन भएको छ ।

२. विधानमा नै नभएको पद सिर्जना गरेर वामदेव गौतमलाई अघि सारियो । वामदेव अब ओली गुटमा लागे ।

३. माधव नेपालको बरियताक्रम खोसियो । प्रचण्ड समेत ओली गुटलाई समर्थन गर्न पुगे ।

४. यी सबै घटनाक्रमले नेकपाभित्र नयाँ सन्तुलन र नयाँ ध्रुवीकरण भयो । यसमा माधव नेपाल समूह पेलानमा पर्यो ।
आदि । इत्यादि ।

सर्सती हेर्दा यी टिप्पणीहरुमा विश्वास गर्ने ठाउँ नभएको होइन । तर यी सबै टिप्पणी गहनरुपमा हेर्दा भने सतही देखिन्छन् । के नेकपाभित्र साँच्चिकै नयाँ शक्ति सन्तुलनले स्थान लिएको हो त ? या यो पूर्व एमालेभित्रको गुट अन्तरविरोधको समायोजन मात्र हो ? भन्ने प्रश्नको उत्तर यी टिप्पणीहरुले दिँदैनन् ।

साथै यी टिप्पणीहरुले पूर्व माओवादी समूहले एकताको शुरुआतदेखि नै सतत र निरन्तररुपमा एकताका लागि गरेको हरसम्भव प्रयास र एमालेभित्रकै अन्तरविरोधका कारण अहिलेसम्म एकता नटुंगिएको तथ्यलाई समेत प्रकाश पार्दैनन् । पार्टी एकता ढिलो हुनुको मुख्य कारण नै तत्कालिन नेकपा एमालेभित्र जब्बररुपमा अस्तित्वमा रहेका चलायमान गुटहरुबीचको शक्ति संघर्ष थियो र अहिले त्यो शक्ति संघर्ष उनीहरुबीच नै सहमति भएर नयाँ बिन्दुमा पुगेको तथ्य समेत यी टिप्पणीहरुले उजागर गर्दैनन् ।

त्यसो भए के हो त वास्तविकता ?

राजनीतिमा कतिपय घटनाक्रमहरु निरन्तरताको क्रमभंगताको रुपमा देखा पर्छन् । अहिले नेकपाले गरेका निर्णयहरु पनि त्यस अर्थमा एकाएक आकस्मिकरुपमा भएका हैनन् । यी सबै निर्णयहरु को अन्तर्य बुझ्नका लागि तत्कालिन नेकपा एमालेभित्रको गुटगत संघर्षलाई बुझ्नु जरुरी हुन्छ ।
जस्तो उदाहरणका लागि वरियताको प्रश्नमा माधव नेपाल समूहको आपत्ती छैन । स्वयम् माधव नेपालले समेत यसमा आपत्ती जनाएका छैनन । बरु उनले विधि र पद्दतीको कुरा उठाएका छन् । उनले विगतमा विधि र पद्दती मिचेर झलनाथ खनाललाई तेश्रो वरियता बनाएको र अहिले फेरी विधि सच्च्याउने नाममा आफूलाई निशाना बनाएको बताएका छन् । माधव नेपालले झलनाथ खनाल हुनुुहुँदैन भनेका छैनन् । बरु उनले बरियताको विधि केन्द्रमा मात्र नभएर सबै कमिटिमा लागु गर्न माग गरेका छन् । श्रोतका अनुसार, उनको यो मागमा मौखिक सहमति समेत भएको छ । र, यही अनुसार, नेकपाका सबै कमिटिहरुमा नयाँ अध्यक्ष पहिलो वरियता र लगत्तैका पूर्व अध्यक्ष दोश्रो वरियतामा रहने विधि अनुसार अब सबै तहमा वरियता निर्धारण हुने देखिन्छ ।

यसैगरी जनवर्गीय संगठन तथा अन्य विभागहरुको एकतामा अमूक व्यक्ति ल्याइए या अमूक व्यक्ति छोडिए भन्ने तथ्यका आधारमा प्रचण्ड यो वा त्यो गुटमा गए भन्ने या नयाँ सन्तुलन भयो कि या लेनदेन भयो कि भन्ने विषयले समेत अहिलेको सन्दर्भमा अर्थ राख्दैन ।

नेकपाको स्कूल विभाग भनेको पार्टी भित्रको प्रशिक्षणको जिम्मेवारी बोकेको विभाग हो । पार्टीभित्र कुनै एक लाइन या कार्यदिशा नभएको अवस्थामा यसको नेतृत्व लिने व्यक्तिको भूमिका प्रधान हुनसक्थ्यो । जस्तो केही समय अगाडिसम्म मात्रै पार्टी भित्र केही व्यक्तिहरुले मूल सहमति विपरित पार्टीको विचार यो वा त्यो भनेर बहस सुरु गरेका थिए । तर अहिले अवस्था त्यो होइन । नेकपाको राजनीतिक प्रतिवेदन र विचारले स्पष्टसँग नेकपाको कार्यनीति र रणनीति निर्धारण गरेको छ । नेकपाको तत्कालिन लक्ष्य समाजवादी क्रान्तिको तयारी गर्ने र सोही अनुसार जनताको जनवादको राजनीतिक कार्यक्रम बनाउने कुरा अहिले पार्टीको ठोस लाइन हो । त्यसैले अब हुने प्रशिक्षण या स्कूलिङको मूल आधार नै यो हुने भएकोले त्यहाँ कुनै अमुक व्यक्तिले नेतृत्व पायो भन्दैमा त्यसलाई लेनदेन भएर गरिएको भन्न मिल्दैन ।

विभागहरुमा विभाग प्रमुखको एकल भूमिका रहँदैन । र, विभागको नेतृत्वदेखि सबै सदस्यहरु मूल नीति अनुरुप हिंडनु पर्ने हुन्छ । त्यसपछि पार्टीले प्रशिक्षणका बिभिन्न तह निर्धारण गरी सोही अनुसार पाठ्यक्रम विकास गर्ने गर्दछ । यो पाठ्यक्रम विकासको काम एकल नेतृत्वले मात्रै गर्दैन । त्यहाँ समूहगत छलफल हुन्छ । विभागले ल्याएको विषयलाई त्यो माथिको स्थायी कमिटि या सचिवालयले पारित गर्नुपर्छ । यहाँ कुनै एकल व्यक्तिले यो लाइन या त्यो लाइनको कुरा गर्न सक्दैनन् । लाइनको कुरा महाधिवेशन अघि सहमतिले एकल प्रतिवेदन या सहमतिले नै फरक प्रतिवेदनहरु तलसम्म बहसमा जाने विषय हुन्छन् । स्कूल विभागले राजनीतिक प्रतिवेदन तयार गर्ने या यी प्रतिवेदनका बारेमा बहस चलाउँदैन । यो तथ्य बुझ्नु एकदमै जरुरी छ ।

माथि नै भनियो, यदि पार्टीले कुनै कार्यदिशा या कार्यनीति या कार्यक्रममा सहमति नगरको अवस्था भएको भए अवस्था फरक हुन्थ्यो । तर अहिले सर्वसम्मतले पार्टीले माक्र्सवाद, लेनिनवादी सिद्धान्तमा रहेर जनताको जनवादलाई न्यूनतम कार्यक्रम मानेको छ ।

यसरी पार्टीले कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा यदि कुनै अमुक व्यक्तिलाई जस्तो कि इश्वर पोखरेललाई स्कूल विभागको नेतृत्व दिंदा पूर्व एमालेभित्रको गुटगत समस्या हल हुनसक्छ भने त्यसतर्फ जाने कि नजाने प्रश्न नेताहरु सामु थियो । र, अन्ततः उनी स्कूल विभाग प्रमुख भएका छन् । फेरी ध्यान दिनुपर्ने कुरा के छ भने माधव नेपाल या उनको समूहले इश्वर पोखेरल संगठन विभाग प्रमुख भएकोमा कहिं कतै आपत्ती जनाएका छैनन् । र, माओवादी केन्द्रका लागि पूर्व एमाले केन्द्रभित्रको विवादलाई साम्य गर्दा नै एकतालाई छिटो र सबलरुपमा अघि बढाउन सकिन्छ भन्ने भएर त्यहाँ पूर्व माओवादीबाट समेत कुनै बिरोध भएको छैन ।

विवाद के हो त ?

यसरी हेर्दा अहिले जे जति सतहमा कुराहरु देखिएका छन्, तिनीहरु कुनै व्यक्ति या गुट माथि या तल हुनेसँग सम्बन्धित छैनन् । बरु यी सबै विषयहरु मूलतः दुईवटा पक्षसँग जोडिएका छन् । र, नेकपाका निर्णयहरु यसकै आधारमा हेर्नुपर्ने पनि हुन्छ ।

पहिलोः
संगठनात्मक कार्यशैली अर्थात् पार्टीभित्र विधि र पद्दती विकास गर्ने सवालमा
दोश्रोः पार्टीको वैचारिक धार समाजवादोन्मुख बनाउने सवालमा

र, संयोग भनौं, यी दुबै विषय समेत पूर्व एमालेसँग जोडिएका छन् ।
तत्कालिन नेकपा एमालेभित्र सबैभन्दा बढी उठ्ने विषय नै संगठनात्मक कार्यशैली र विधि एवं पद्दतीको हो । खासगरी माधव नेपाल समूहले पार्टीमा सामूहिक निर्णय, विधि अनुसार जिम्मेवारी र संगठनमा सन्तुलनको कुरा गर्दै आएका हुन । पार्टी सरकारमा गएको बेला होस् या अन्य बेला अध्यक्षले गर्ने निर्णय स्वेच्छाचारी र एकल हुनुहुँदैन भन्ने आवाज एमालेभित्र पुरानो विषय हो । पार्टीदेखि जनवर्गीय संगठनसम्म गुटको जब्बर विकास भएको अवस्थामा एउटा गुटले अर्को गुटलाई पेल्ने, विचार भन्दा गुटलाई संरक्षण गर्ने, संगठनात्मक अन्य शैलीमा गुटको प्रभाव हावी हुने कुरा पूर्व एमालेभित्रको क्रोनिक रोग नै हो । वामदेव गौतमले त पार्टी एकता भइसकेपछि पनि एकल जिम्मेवारीका पक्षमा बोल्दै आएको सबैले थाहा पाएकै कुरा हो ।

अहिले पार्टी एकता र जिम्मेवारी बाँडफाँडका सवालमा उठेको मूल विषय यो नै हो । त्यसैले नेकपा सचिवालयको पछिल्लो निर्णय र त्यसमा माधव नेपालको असहमतिको सन्दर्भ हेर्दा त्यहाँ यही विधि र पद्दतीको कुरा बेसी देखिन्छ । जस्तो झलनाथ खनाल नै त्यतिखेर उनीभन्दा माथिल्लो बरियतामा हुनुपथ्र्यो । तर अध्यक्ष ओली समूहले माधव नेपाललाई अघि सारे । अहिले फेरी झलनाथ त्यो भत्किएको विधि सच्चिएर ठीक ठाउँमा पुगेका छन् । माधव नेपालले सार्वजनिक कार्यक्रममा नै विधि र पद्दतीलाई यसरी चलाउँदा आफू र खनाल अन्यायमा परेको बताउनुले पनि यसको पुष्टि गर्छ ।
अर्कोतर्फ पार्टीभित्र विचारको सवाल महत्वपूर्ण छ । अहिले वामदेव गौतम उपाध्यक्ष र संगठन विभाग प्रमुख हुँदा प्रचण्डको समर्थन र त्यो कुरामा माधव नेपालको असहमति नहुने कुरा यही विचारको पक्षसँग जोडिएको छ ।

कार्यनीतिकरुपमा या घटनाक्रममा वामदेव गौतमले ओली या नेपाललाई कुनै विशेष परिस्थितिमा समर्थन या बिरोध गरेपनि वामदेव गौतमको मूल राजनीतिक प्रवृत्ति र विचार अग्रगमन नै हो । उनको राजनीतिक यात्रा, विचार, अडान, भूमिका सबै कुरालाई सापेक्षिक र समग्रतामा हेर्दा उनी जनताको जनवादलाई विकसित गर्दै समाजवादी क्रान्तिको कार्यदिशालाई समून्नत बनाउनुपर्ने वैचारिक धारका नेता हुन । उनले हालैमात्र लेखेको एउटा लेखमा समेत नेपालमा पूँजिवादी जनवादी क्रान्ति सम्पन्न भएको हुँदा जबजले समाजवादी क्रान्तिलाई निर्देशित गर्न सक्दैन भन्ने स्पष्ट विचार राखेका छन् । इश्वर पोखरेल र अध्यक्ष ओली समेतले बहुदलीय जनवाद नै समाजवादी क्रान्तिको मार्गनिर्देशक सिद्दान्त र कार्यक्रम बन्नुपर्ने बताईरहँदा वामदेवले त्यो भनेका छैनन । उनले जबजलाई सिद्दान्तको रुपमा लिनुपर्ने तर समाजवादी क्रान्तिका लागि भने नयाँ विचार विकास गर्नुपर्ने बताएका छन् ।

यता माधव नेपाल समूहभित्र समेत जबजप्रति मनोवैज्ञानिक लगाव भएपनि पँुजिवादी जनवादी क्रान्ति पुरा भएको अवस्थामा जबजमा टेकेर मात्रै अगाडि जान नसकिने स्पष्ट बुझाई देखिन्छ । र, माओवादी केन्द्रले त शुरुदेखि नै स्पष्टसँग नयाँ क्रान्तिकारी कार्यदिशाको वकालत गर्दै आएको छ ।
त्यसरी हेर्दा वामदेवको इन्ट्रि माधव नेपाललाई टक्कर दिन या ओलीलाई संरक्षण र बलियो बनाउन भएको देखिँदैन । यो एकातिर पूर्व एमालेभित्रको शक्ति सन्तुलन मिलाउने र अर्को वैचारिक अर्थमा भएको देखिन्छ ।

अब कसरी अघि बढला ?

माथि नै भनियो, (क) माधव नेपालले स्कूल विभाग या अन्य संगठनको नेतृत्वमाथि प्रश्न उठाएका छैनन । (ख) उनले झलनाथ खनालको बरियता तोकिनु गलत भएको भनेका छैनन् । उनको मूल आशय विधि र पद्दतीमा छ ।

र, यसको पुष्टि उनले सचिवालयको बैठकमा राखेको भनिएको सात बुँदे ुनोट अफ डिसेन्टु ले पुष्टि गर्दछ । माधव नेपालले नोट अफ डिसेन्टमा यही विधि र पद्दतीको कुरा गर्दा विगतमा वामदेव गौतमले प्रस्ताव राखेको एक व्यक्ति एक पदको कुरा अघि सारेका छन् । एक व्यक्ति एक पदमा अब वामदेव गौतम, माधव नेपाल र पूर्व माओवादी केन्द्रका शीर्ष नेतृत्व सहमत हुन के नयाँ सन्तुलन हुनु हो त ? कदापी होइन । माधव नेपालले “वरिष्ठता एवम् योग्यतालाई वेबास्ता गर्दै बिनाकुनै मापदण्ड कसैलाई जिम्मेवारीमाथि जिम्मेवारीको खातैखात, कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्ने कुरालाई न्यायोचित मान्न सकिन्‍न ।” यो उनले राखेको विधि र पद्दतीको विषय हो । उनले थप भनेका छन्, “अतः एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको बैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै ब्यक्तिमा लागु गरियोस् ।” माधव नेपालले अहिले भनेकै कुरा हिजो वामदेव गौतमले समेत राख्दै आएका हुन । त्यसैले यी विषयलाई तत्कालिन एमालेभित्रको गुट संघर्षको सन्तुलनका अर्थमा बुझ्नु पर्ने हुन्छ ।

यसरी हेर्दा नेकपाभित्र एक व्यक्ति एक पदको विचार प्रभावशाली भएर उठेको छ । यो स्थितिले त्यहाँ कुनै नयाँ सन्तुलन या वामदेव, नेपाल र खनालले क्याम्प फेरेको सतही चर्चालाई पुष्टि गर्दैन । बरु वैचारिक र संगठनात्मक सवालमा वामदेव, माधव नेपालहरु एक ठाउँमा उभिएको देखिन्छ ।

पार्टी एकता भएदेखि नै प्रचण्डको भूमिका हेर्दा उनले पूर्व एमालेभित्रका गुटहरुसँग खेल्ने भन्दा सबैलाई सन्तुलनमा मिलाएर छिटोभन्दा छिटो एकता सम्पन्न गर्न चाहेको देखिन्छ । छिटोभन्दा छिटो पार्टी एकता गर्ने र तलसम्म महाअभियान लैजाने घोषणा उनले धेरैपटक गरे पनि । वैचारिकरुपमा गलत विचारसँग संघर्ष गर्ने र अग्रगामी विचार र शैलीलाई समर्थन गर्ने नीति नै प्रचण्डको देखिन्छ । तल्लो तहसम्म समेत पूर्व माओवादीका नेता तथा कार्यकर्ताले पूर्व एमालेका सबै गुटसँग सन्तुलन र समन्वयका आधारमा नै अघि बढेको देखिन्छ । त्यसैले अहिले पनि उनले यो वा त्यो गुटलाई उपयोग गरेको तथ्यसँग मेल खाँदैन ।

माओवादी केन्द्रभित्र यसप्रकारको विवाद नभएको हुँदा उसका लागि पूर्व एमालेले आफ्ना नेता तथा कार्यकर्ताको जिम्मेवारी र व्यवस्थापनसम्बन्धी गर्ने निर्णयमा बोल्ने नैतिक पक्ष रहन्न । त्यसअर्थमा यो विषयलाई प्रचण्डसँग समेत जोडेर ब्याख्या गर्नु समेत वास्तविकतासँग मेल खाँदैन ।

कमेन्ट गर्नुहोस्