चन्द्र कक्षमा पुग्यो चन्द्रयान-२

एजेन्सी, नयाँदिल्लीः भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ। इसरोका अनुसार मंगलवार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो।

चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १ सय किलोमिटर टाढा रहेको छ। इसरोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु हुने जनाएको छ। इसरोद्वारा जारी विज्ञप्तिमा आगामी सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा चन्द्रयान–२ अवतरण गर्नेछ।

चन्द्रयानको अवस्था र गुणस्तर राम्रो भएकाले चन्द्रमामा अवतरण सफल हुने इसरोले जनाएको छ। यो यान गत जुलाई २२ का दिन पृथ्वीबाट प्रक्षेपण गरिएको थियो। चन्द्रयान–२ आजसम्म चन्द्रमाको कसैले पाइला नटेकेको दक्षिणी क्षेत्रमा अवतरण गर्नेछ। चन्द्रयानमा अर्बिटर, ल्यान्डर र रोवर रहेका छन्।

चन्द्रमाको सतहमा पहिलोपटक भारतीय यान अवतरण गर्न लागेको हो। यससँगै चन्द्रमाको सतहमा पुग्ने विश्वमै चौथो देश बन्नेछ। यसअघि अमेरिका, रूस र चीनले चन्द्रमामा यान ओरालिसकेका छन्। रासस/एएनआई

कमेन्ट गर्नुहोस्