“केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने”, आयुक्त घिमिरे

काठमाडौँ, भदौ ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने बताउनुभएको छ । उहाँले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरू सार्वजनिक हुनेछन् भन्नुभयो ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४औँ स्थापना दिवसमा मङ्गलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उहाँले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  ऐन महर भन्छन्, ‘गगन थापाको भ्रष्टाचारमाथि छानविन हुनुपर्छ’

प्रमुख आयुक्त घिमिरेले भन्नुभयो, “राजनीतिक आवरणमै ठूला प्रकृतिका भ्रष्टाचार हुने गरेको छ, यसप्रति सबै सचेत नभएसम्म भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो छ । ” अख्तियारमा परेका उजुरीको प्रकृति हेर्दा अब कारागारका कोठा खाली गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

निर्वाचनका बेला उम्मेदवारले कहाँबाट पैसा जुटाउँछन् भन्ने विषय अहिले अनुसन्धानको विषय भएको छ भन्दै उहाँले अहिले वडाध्यक्षको निर्वाचनका लागि २० देखि ३० लाख र गाउँपालिका अध्यक्ष र नगरपालिकाको प्रमुखको निर्वाचनमा एक करोड रुपियाँसम्म खर्च हुने गरेको उजुरी आयोगमा पर्ने गरेको जानकारी उहाँले दिनुभयो । नेपालमा शक्तिको आडमा हुनेले भ्रष्टाचार गर्ने गरेको चर्चा गर्दै घिमिरले भ्रष्टाचारप्रति सञ्चारजगत् र नागरिक समाजको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो ।
महालेखा परीक्षक टङ्कमणि शर्माले भ्रष्टाचार नियन्त्रणमा आफूले हिजो पनि खुट्टा नकमाएको र भोलि पनि खुट्टा नकमाउने बताउनुभयो । राजनीतिक दलका नेता र कार्यकर्ताको गलत प्रवृत्तिका कारण नेपालमा भ्रष्टाचार हुने गरेको चर्चा गर्दै उहाँले हाम्रा संस्कार र व्यवहार परिवर्तन नगरेसम्म भ्रष्टाचार नियन्त्रण नहुने
जिकिर गर्नुभयो ।
राजनीतिक दलहरूको पार्टी सञ्चालन गर्ने आर्थिक स्रोत कहाँबाट जुट्छ भन्ने विषय महवपूर्ण भएको भन्दै यस विषयमा नागरिक समाजले सधैँ खबरदारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले नेपालमा नीतिनिर्माता, व्यापारी र ठेकेदारबीचको दूरी नजिक हुँदा भ्रष्टाचार मौलाउँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो काम गर्ने हो भने यो सरकारले इतिहास रच्ने बेला छ, त्यसतर्फ सरकारको ध्यान जानुपर्छ । ”

याे पनि पढ्नुस  घुस रकम श्रीमतीको खातामा जम्मा गर्ने ईन्जिनियरविरूद्व ३५ लाखको भ्रष्टाचार मुद्दा

गाेर्खापत्रबाट

कमेन्ट गर्नुहोस्