रवि पक्राउ पर्दा कतिपयलाई फाईदै फाईदा

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने पक्राउ परेसँगै उनका समर्थकहरुको मनोदशा र भावना बुझेर केहीले यो समयलाई व्यापार–व्यावसाय बढाउने अवसरका रुपमा लिएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएपछि सञ्चारकर्मी लामिछानेसहित तीन जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

लामिछानेका समर्थकहरु उनी पक्राउ परेलगत्तै विरोधमा उत्रिएका छन् । सामाजिक सञ्जालमा उनका समर्थकहरुले टिका–टिप्पणी गरिरहेका छन् । लामिछानेसँगै उही आरोपमा पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । लामिछानेका समर्थकहरुले अन्य दुई जनाको बारेमा खासै चासो राखेका छैनन् तर सामाजिक सञ्जालमा लामिछाने निर्दोष रहेको भन्दै कतिपयले विभिन्न तर्कहरु गरिरहेका छन् ।

यसबाट प्रष्ट हुन्छ– एकथरी मानिस सञ्चारकर्मी लामिछानेप्रति ठूलो विश्वास राख्दछन् । समर्थकहरुको यही भावना र मनोदशालाई राम्ररी बुझेका केही युट्युव च्यानल र फेसबुक पेजका एडमिनहरु अहिले व्यावसायको होडमा लागेका हुन् । कतिपय युट्युव च्यानलका सञ्चालकहरु रवि लामिछानेको नाम जोडेर विभिन्न भिडियो तयार गर्दै युट्युवमा राख्न व्यस्त छन् । फेसबुक पेजका ‘एडमिन’हरु रवि लामिछानेको नाम जोडेर आफ्नो पेजको ‘लाइक’ बढाउन कम्मर कसेर लागेका छन्।

पाँच दिनयता पत्रकार शालिकराम पुडासैनीको आत्महत्या र सञ्चारकर्मी रवि लामिछाने पक्राउको विषयलाई लिएर सयौं भिडियो युट्युवमा ‘अपलोड’ भएको छ । ती भिडियो लाखौं दर्शकले हेरेका छन् । कतिपय भिडियोमा विषयको गहिराइ वा नयाँ जानकारी केही नभए पनि अतिरञ्जित शैलीका शीर्षक राखेर प्रस्तुत गरिएका छन्, जसले गर्दा दर्शकहरु आकर्षित हुन्छन् ।

जति बढी दर्शकले भिडियो हेर्छन्, युट्युव च्यानललाई उत्तिकै बढी रकम प्राप्त हुने गर्दछ । त्यसैले रवि लामिछानेको लोकप्रियतालाई कतिपयले आफ्नो आम्दानीको अवसर ठानेर यतिबेला एकपछि अर्को गर्दै भिडियो ‘अपलोड’ गर्ने होड चलेको छ । दर्शकका चासो बढेकै समयमा कतिपय युट्युव च्यानलका सञ्चालक चितवन पुगेरै भिडियो निर्माण गरिरहेका छन् । रविको पक्षमा नारावाजी भएका दृष्य, उनलाई अदालत लगेका दृष्य, जिल्ला प्रहरी कार्यालय अगाडिका दृष्य, स्थानीयबासी तथा प्रदर्शनमा सहभागी बालक, बृद्ध तथा महिलासँगका कुराकानी यतिबेला युट्युव च्यानलका पहिलो रोजाइका विषय बनेका छन् ।

कमेन्ट गर्नुहोस्