मायाँमा धोका खाएर गजलकार बनेका लोकनाथ

नेपाली गीत संङ्गितको क्षेत्रमा बिगत डेढ दशकदेखि अनवरत संघर्षरत रहँदै आएका उदियमान गायक हुन लोकनाथ सापकोटा । जसले बिभिन्न विधाका गीत संङ्गित स्रोतामाझ ल्याएर छोटो समयमै आफुलाई भर्सन्टायल गायकको रुपमा स्थापित गराइसकेका छन् । ‘म तिम्रै राजेश हमाल तिमी मेरै निरुता’, ‘हरेराम हरेराम खै त संविधान’, ‘बनाऊँ संविधान’ हुँदै बहुचर्चित लोक दोहोरी गजल ‘मायामा धोका खाएँ अनि गजलकार भएँ म’ लगायतका गीत गाएका गायक एवं गीतकार लोकनाथ सापकोटासंग अनलाइन पत्रिकाकालागि जनार्जन पौडेलद्वारा गरिएको कुराकानी सान्दर्भिक लगेर यहाँ साभार गरिएको छ ।

तपाई गायक कि गजलकार ?

म आफै रचना गर्दछु, आफै गाँउछु नृत्य पनि गर्दछु । लोक,आधुनिक,गजल,प्यारोडी लगायत थुपै् विधामा गाएको छु । सब समयको कुरा मात्र हो, कहिले दर्शक अनि श्रोताले मेरो गजल मन पराइदिनुहुन्छ म आफुलाइ गजलकारको रुपमा महशुस गर्दछु , कहिले गीतकारको रुपमा त कहिले अन्य रुपमा । समग्रमा भन्दा म आफुलाई एउटा कलाकार भन्न चाहन्छु ।
तपाईको सांङ्गितिक यात्रा कसरी सुरु भयो ?

मेरो सांङ्गितिक यात्राको शुरुवात २०५३ सालबाट भएको हो । स्कुल पढ्दादेखि नै म बिभिन्न सांङ्गितिक कार्यक्रममा सहभागी हुन्थें । पोखरा पीएन क्याम्पसमा पढ्दा पनि यो क्रमले निरन्तरता पाउदै गयो । शुरुमा म नृत्यमा बढी चाख राख्दथें पछि बिभिन्न किसीमका दोहोरी गीतहरु गाउन थालें । मेरो गायनको शुरुवात पोखराबाटै भएको थियो । शुरुवाती दिनहरुमा पोखराका बिभिन्न दोहोरी क्लव एवं स्टेजमा दोहोरी गीतहरु गाउन थालें । अनि केहि समय पछि काठमाडौ आएं ।

आजसम्म के कस्ता कस्ता गीत गाउनु भयो ?

सुरुवाती दिनहरुमा लोकगीत बाटै आफ्नो गायन यात्रालाई अगाडि बढाए । भर्खर-भर्खर माइक्रोबस भित्रीएको थियो त्यतिखेर “माइक्रो मिनीबस धेरै धाऐं पोखरा बजारमा पाइन फुलको रस” नामको मेरो दोहोरी गीत् चर्चित भएको थियो । त्यसपछि ‘टिपीकल’ दोहोरी गीतमा पञ्चेबाजाको प्रयोग गरें, दोहारी गीतमा पनि गजलको प्रयोग गरें, चलचित्रको लागि पनि गीत लेखें चलचित्र मुग्लानको दशैं आयो दशै आयो भन्ने गीत धेरैले मन पराए । बिशेष संविधान सम्बन्धी गीत र ‘मायामा धोका खाए अनि गजलकार’ बने म भन्ने गीत गाएपछि मात्र मलाई देशव्यापी रुपमा दर्शक श्रोताले चिन्न थाले ।

तपाई कसरी एउटा स्थापित गायकको रुपमा अगाडि आउनुभयो ? यसका पछाडि के कस्ता घटना जोडिएका छन ?

समय नै सबैको गुरु हो, संसारमा समय भन्दा बलवान केही छैन । म के बन्छु भन्ने कुरा मैले चाहेर हुने कुरा होइन । यदि मैले चाहेजस्तो हुदो हो त म कुनै दिन हिरो हुने सपना बोकेर आठ कक्षा पढ्दा पढ्दै छाडेर इन्डिया गएको थिए । इन्डियामा गएर धेरै हन्डर खाएर पुन नेपाल फर्केर ६/७ बर्ष पछि फेरि कक्षा ८ बाटै पढाई सुरु गरि स्नातक सम्मको अध्ययन गरें । गायन क्षेत्रमा लागे, निरन्तर संघर्षरत रहे जसका कारण आज धेरै स्रोताहरुले मन पराउनु भएको छ । गीत संङ्गित र साहित्य गरीबका झुपडीमा जन्मन्छ,रोएका आत्माहरुबाट जन्मन्छ मात्र यति बुझेको छु मैले ।

तपाई साँच्चै नै मायामा धोका खाएर गायक अनि गजलकार बन्नु भएको त हैन् ?

हो, वास्तवमा म मायामा धोका खाएको गायक हुँ । परिवारमा अपहेलित भए, आफन्तबाट धोका खाऐं, पीरतीमा धोका खाए । वास्तवमा माया बिनाको सन्सार चल्दैन,माया नै जिन्दगी चलाउने आधार हो । मैले पनि जीवनमा हजारौ चोट पाएँ,धोका खाएँ तर ति अप्ठेरा चोटहरुले मलाई गाल्न भने सकेन, म झन दर्शनढुङ्गो झै भएर निस्कें । हरेक मान्छेले मैले जस्तै जीवनमा चोटहरु खाएको हुन सक्छ तर त्यसको बदला प्राण त्याग्ने होइन आत्महत्या गर्ने हैन । यदि केहि त्याग्नु नै छ भने राष्ट्र र जनताको निम्ती त्याग्नु पर्दछ भन्ने मेरो मान्यता हो ।

तपाईका गीतहरु मध्ये संविधानका गीतहरु बढी चर्चित भएका छन । ती गीतहरु कसरी बने ?

नेतालाइ गाली गर्दैमा संबिधान बन्दैन । संबिधान नबन्नुमा हामी पनि उतिकै दोषी छौ जति ति नेता दोषी छन । किनकी ती नेतालाइ मैले नै चुनेर पठाएको हँु भन्दै संबिधान बनाउनको लागि सकारात्मक सोचका साथ “बनाऊँ संबिधान” नामको गीत लेखें । टीका पुन, सानु शर्मा, स्वरुप रसायलीको सहयोगमा यो गीत बिभिन्न पत्रकार, उद्योगी, व्यापारी, कलाकार, सन्चारमन्त्री, सभामुखलगायतलाइ लिएर भिजुअल तयार गरी बनाएको थिए । जुन गीतलाइ मिडियाले त्यति महत्व दिएनन तर माघ ८ मा संबिधान जारी हुन नसकेपछि मैले यस अघि गाएको “हरेराम हरेराम खै त संबिधान”भन्ने गीत मिडीयामा धेरै बज्यो र जनताले पनि अत्याधिक रुचाए ।

नेपालमा गायकहरुले गाएर मात्र जीवनयापन गर्न सक्ने अवस्था पाउनु भएको छ त ?

अवश्य छैन,नँ त पत्रकारले कलम चलाएर जीवन गुजारा गर्ने स्थिति बनेको छ नँ गायक एव अन्य कलाकारले नै । कार्यपालीका, न्यायपालीका,व्यवस्थापीका पत्रकारीता र कलाकारीता राज्यको पाँच अंङ्ग हुन । जसमध्ये कलाकारिता पाँचौ अंङ्गमा पर्दछ । कलाकार राष्टका गहना हुन भन्दै कलाकारलाइ राज्यले कलाकारको उपमा त दिएको छ तर, कलाकारहरुको उचित संम्रक्षण भने गर्न सकेको छैन । यदि भोलिको दिनमा राज्यले कलाकारको संम्रक्षण गर्न सकेन र यसरी नै उपेक्षा गर्दै गयो भने नेपाल विश्वमा कलाकार बिनाको राष्ट्र बन्ने निश्चीत छ ।

तपाईको विचारमा एउटा असल कलाकारमा नभई नहुने गुण के हो ?

एउटा कलाकारमा नभई नहुने गुण भनेको कलाकारीता नै हो । कलाकारीता भनेको त्यो हो जुन स्रोता तथा दर्शकको मनका पीडालाई भुलाउन सक्ने हुनुपर्दछ ,जुन स्रोता वा दर्शक हाँसिरहेको छ त्यसलाई रुवाउन सक्नु पर्दछ । अनि जुन स्रोता वा दर्शक रोइरहेको छ त्यसलाई हंसाउन सक्नु पर्दछ । कलाकारमा हुनुपर्ने अझ ठूलो गुण जसले नभएको कुरालाई पनि हो भनेर पुष्टी गर्न सक्ने क्षमता राख्नुपर्दछ । असल कलाकार त्यो हो जसले रोइरहेको वस्तीलाई र देशलाइ हसाउन सकोस ।

तपाईको आगामी गीत संङ्गितको यात्रा कस्तो होला ?

यस पटक पनि म चेतनामुलक प्यारोडी गीतको तयारी गर्दैछु । म धेरै समय काठमाडौ बसे तर मलाई मेरो पोखरा र स्याङ्गजा भन्दा काठमाडौ मन परेन, यहाको फोहर र प्रदुषणले मलाई वाक्क बनायो । त्यसैले यसपटक मैले “धुवा र धुलो फोहरको धुलो म मन पराइन काठमाडौ, हिलोले छेप्ने मान्छेले हेप्ने म मन पराइन काठमाडौ” भन्ने आफ्नै रचनामा यो गीत गाउने तयारी गरिरहेको छु ।

जसमा काठमाडौका नराम्रा कुराहरु र तिनलाइ सुर्धार्ने उपाय समेत प्रस्तुत गरेको छु । अनलाइन पत्रिकाबाट साभार

कमेन्ट गर्नुहोस्