रविका पक्षमा वरिष्ठ अधिवक्ताको बहस, अस्मिताको पक्षमा बोल्ने कोही भेटिएन

भरतपुर । पत्रकार शालिकराम पुडासैनी मृत्यु घटनाका आरोपित रुकु भनिने अस्मिता कार्कीको पक्षमा बहस गर्ने कुनै अधिवक्ता छैनन् ।

पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति चितवन अदालतले दिएको छ । रवि र युवराजको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता भए पनि अस्मिताको पक्षमा बहस गर्ने कुनै अधिवक्ता छैनन् ।

प्रतिवादी रवि र युवराजका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता सुनिल पोखरेल र चितवन अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चूडामणि सापकोटाले बहस गरेका छन् ।

पूर्व वार एशोसिएसनका अध्यक्ष गोपिलाल देवकोटाले अस्मिताको तर्फबाट बहस गर्ने कुनै अधिवक्ता नभएको बताए । उनले आफैँले बहस गर्ने सोच बनाएको भए पनि सफल हुन नसकेको बताए ।

बहसका क्रममा ती अधिवक्ताहरुले प्रहरीसँग मात्रै भएको भनिएको भिडियो कसरी मिडियामा गयो भनी छानबिनका लागि माग गरेका थिए ।

रवि र युवराजको पक्षमा पूर्वमहान्यायाधिवक्ता र वरिष्ठ अधिवक्ताले वकालत गरे पनि अस्मिताको पक्षमा कोही पनि नबोलेको अदालतले जनाएको छ । आरोपित रवि लामिछानेसँग झन्डै पाँच घन्टा बयान लिइएको थियो ।

कमेन्ट गर्नुहोस्