एसइईको पूरक परीक्षा स्थलबाटै विद्यार्थी पक्राउ, अध्यक्ष केसीले गरे रिहाइको माग

सल्यानः सल्यानमा एसईईको पुरक परिक्षा (ग्रेड वृद्धि) दिन श्रीनगर आएको बेला नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का विद्यार्थी गिरफ्तार भएका छन् ।

अखिल (क्रान्तिकारी) सल्यान जिल्ला अध्यक्ष टंकप्रकाश केसीले मंगलबार विज्ञप्ति जारी गरी संगठनका सल्यान जिल्ला सदस्य सुरेश भारती, महेश साहु र केही दिन पहिला अनिल विकलाई अपहरण शैलीमा केपी–बादल गृह प्रशासनले सोमबार साँझ गिरफ्तार गरेकोप्रति खेद प्रकट गर्दै विनासर्त तुरुन्त स–सम्मान रिहाई नगरे कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

जिल्ला अध्यक्ष टंकप्रकाश केसीले विज्ञप्तिमा भनेका छन्, ‘त्याग, बलिदान र विजयको प्राय हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शैक्षिक विकृति र विसंगतिका विरुद्ध र आमुल शैक्षिक रुपान्तरणका निम्ति निरन्तर सडक संघर्षमा विगत लामो समयदेखि वैज्ञानिक समाजवादी शिक्षाका पक्षमा नीति, कार्यक्रम तथा योजनासहित अघि बढिरहेको छ ।’

अध्यक्ष केसीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यतिवेला देश असाध्यै संकटपूर्ण अवस्थामा गुज्रिरहेको छ । देश र जनताको आवाजमाथि प्रतिबन्ध जेल, हत्या र दमनको साहारामा दुई तिहाई कम्युनिस्ट सरकार चलिरहेको छ । विगत लामो समयदेखि नेपाली जनताको बलिदानबाट स्थापित भएका अधिकार पनि गुम्दै गएका छन् । पार्टीमाथि प्रतिबन्ध लागे सँगसँगै विद्यार्थी न्याय प्राप्ति र वैज्ञानिक समाजवादी शिक्षाको वकालत गरिरहेको संगठन अखिल (क्रान्तिकारी) खुला र वैधानिक मोर्चा हुँदाहुँदै पनि देशैभर कयौं विद्यार्थी नेताहरुले जेल तथा हिरासतमा झुठा मुद्दा खेपिरहनु भएको छ । यसै सन्दर्भमा गएराति संगठनका सल्यान जिल्ला सदस्य सुरेश भारती, महेश साहु र केही दिन पहिला अनिल विकलाई अपहरण शैलीमा गरिएको गिरफ्तारप्रति हाम्रो संगठन खेद प्रकट गर्दछ । गिरफ्तार गरिएका विद्यार्थीहरु तुरुन्त विनासर्त रिहाई गर्न जोडदार माग गर्दछौं । अन्यथा आँधीहुरीमय आन्दोलन सुरु गरी संघर्षको बाटो रोज्न बाध्य हुनेछौं । उक्त आन्दोलनबाट उत्पन्न परिस्थितिको सबै जिम्मेवार सम्बन्धित निकायले लिनुपर्ने कुरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’

कमेन्ट गर्नुहोस्