ज्ञानेन्द्र शाहीहरुको घुसपैठले बदनाम हुँदै रवि समर्थकहरुको आन्दोलन

चितवन । चितवन माडीका कमल ढकालका लागि रवि लामिछाने आदर्श पात्र थिए । अरु समर्थक जस्तै उनी पनि रविलाई प्रहरीले पक्राउ परेपछि आक्रोशमा आए । भोलीपल्टै चितवन लागे उनी ।

शुरुका दिन चर्का नारा लगाउनेमा उनी पनि थिए । रविलाई फसाईएको भन्ने उनको मत थियो ।

तर आन्दोलनमा देखिएका दृश्यले भने उनको मनमा चिसो पस्यो ।

२०६२/२०६३ सालको जनआन्दोलनमा प्रत्यक्ष सहभागी भएका कमलका लागि आन्दोलनमा नाराबाजी गर्दै केही पात्रहरु अपाच्य थिए । ती तिनै पात्र थिए जसविरुद्ध कमलहरु लडेका थिए । चितवन र आसपासका टोले गुण्डाहरु, राजा आउ भन्दै बेलाबखत चर्चा गर्नेहरु समेत आन्दोलनमा थिए । यसै जमातले भोलीपल्टै चितवन बन्दको घोषणा समेत गर्यो । तर यो कुरा कमलहरुको योजनामा थिएन । “मनमा रविका पक्षमा नारा लगाउने हुटहुटी थियो, तर आन्दोलनमा केही अरु नै हुने छाँट देखेपछि मनमा चिसो पस्यो ।” उनले भने ।

कमलजस्तै सूर्य विश्वकर्मालाई पनि आन्दोलनमा देखिएका पात्रहरु देखेर सकसक भइरहेको थियो । आन्दोलनको दोश्रो दिन सिंगो प्रदर्शन एकाएक रवि समर्थकहरुको हातबाट फुत्कियो । त्यहाँ बेग्लै पात्रहरु देखा परे । ज्ञानेन्द्र शाहीदेखि रमेश प्रसाईं सम्म । युट्युबमा चर्चित रमेश प्रसाई, खरो बोल्ने ।

र, यहींबाट शुरु भयो व्यवस्था बिरोधी नारा । गणतन्त्र बिरोधी नारा । प्रचण्ड र रेणु दाहालविरोधी नारा

जबकि आन्दोलनमा हिंडेका कतिपयका लागि यो पाच्य थिए । चितवन नगरपालिका बस्ने कमला केसीका अनुसार, गणतन्त्रकै बिरुद्दमा दोश्रो दिन आन्दोलन चर्किएपछि यो कुराले अधिकांश समर्थकहरु अप्ठ्यारो मान्न पुगे । “त्यसमाथि भाषणमा सन्दर्भ नै नजोडिएका प्रचण्डलाई समेत गाली गरेर भाषण भयो । जबकि चितवनवासीका लागि प्रचण्ड आस्थाका बिन्दु हुन । के कांग्रेस, के एमाले प्रचण्ड सबैलाई चाहिने व्यक्ति हुन भन्ने स्थापित भएको छ।” उनले भनिन, “तर आन्दोलनमा त्यसरी अराजकता मच्चिएपछि मैले जान छोडे ।

एकथरिका लागि रवि रिहाईको आन्दोलन तुष पोख्ने माध्यम बन्न पुग्यो । अर्काथरिका लागि यो व्यवस्थाविरुद्ध आन्दोलन चर्काउने मौका बन्यो । ज्ञानेन्द्र शाहीहरुका लागि यो त्यही मौका थियो ।

व्यवस्थाकै बिरोधको तहसम्म आन्दोलन चलेपछि चितवनका सचेत राजनीतिक दलहरुले यसविरुद्ध सामूहिक संकल्प गरे । यता संघीय संसदमा समेत गणतन्त्रविरोधी नारा उठेकोमा चर्को आवाज उठ्यो ।

यसले गर्दा आन्दोलनमा आम जनता जान चाहेनन् । चितवनका एक बुद्दिजीवि भन्छन, “गणतन्त्र भन्दा रवि ठूलो हुन सक्दैनथ्यो चितवनवासीका लागि । परिवर्तनको आँधी ल्याउने जनताले गणतन्त्र र प्रचण्डविरुद्ध नारा लाग्न थालेपछि आन्दोलन बहिस्कार गरेका हुन ।

ज्ञानेन्द्र शाहीहरुलाई रवि समर्थकहरुले किन निमन्त्रणा गरेका हुन त्यो कसैलाई थाहा छैन । तर यसको सबैभन्दा ठूलो प्रतिघात उनीहरुले नै झेल्नु परेको छ ।

“प्रहरीलाई दबाब दिनुको साटो सत्यतथ्य पत्ता लगाउन अनुसन्धानलाई सहयोग गरेको भए बरु सहानुभूति जाग्थ्यो होला, तर रविलाई देवदूत बनाउने नाममा राजाको पक्षमा गणतन्त्रको बिरोध गर्ने कुरा कुनै पनि नेपालीले सहन सक्दैनन ।” ती बुद्दिजीविले भने ।

शुरुमा जसरी आन्दोलन चर्कियो, अब त्यही गतिमा अघि जाने छाँट देखिन्न । सबै राजनीतिक दलदेखि नागरिक समाज र व्यापारी बुद्दिजीविहरुले आन्दोलनका नाममा धमिलो पानीमा माछा मार्न सक्रिय अराजक समूहलाई बेलैमा चिनेपछि उनीहरु यसको बिरोधमा उत्रिएका छन् । प्रहरीले सत्यतथ्य पत्ता लगाउनु पर्ने र दोषीलाई कार्वाही गर्नुपर्ने माग अहिले बलियो बनेको छ ।

घटनालाई प्रतिगमनको पक्षमा मोडन सफल नभएपछि अहिले ज्ञानेन्द्र शाही तप्का भने थप रणनीति बनाउन लागेको श्रोतले बतायो । “उनीहरुले आन्दोलनलाई हिंसात्मक बनाउन चाहेका थिए, कोही घाइते या मर्ने मार्ने अवस्थासम्म पुर्याउन खोजेका थिए ।” श्रोतको दावी छ, “तर प्रहरी प्रशासनको कुशलता र स्थानीयस्तरका सबै निकायको सुझबुझले उनीहरुले सफल हुन सकेनन् ।

कमेन्ट गर्नुहोस्