गोँगबुको होटलमा एक जोडी मृत भेटिए

काठमाडौंः  टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा २ व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

उक्त होटलको १११ नम्बर कोठामा मंगलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीया सविना तामाङ बजगाईं आज दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले मङ्गलबार राति सुत्न आएको दुवैजना आज दिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको जानकारी दिए ।

गेस्ट हाउसको बन्द कोठामा युवती खाटमा र युवा भुँइमा पल्टिरहेको अवस्थामा फेला परेको उनले बताए ।

दुवै व्यक्ति के कारणले मरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्