Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तीन महिना घर छाडेर बाजुराका महिला नुन किन्न चीनतिर

काठमाडौं । बाजुरा पाण्डुसेन गाउँपालिका–९ की २४ वर्षीया पवित्रा थापा डेढ वर्षको काखेबालकसहित हुम्लाको रानीखर्कमा भेटिइन् । उनको यात्रा चीनको ताक्लाकोट (भोट)सम्मका लागि रहेछ, नुन किन्नका लागि । श्रीमान् र केटाकेटीसहित जेठको पहिलो साता घरबाट हिँडेको पवित्राले सुनाइन् । हाल उनीहरू रानीखर्कमा जडीबुटी संकलन गर्दै छन् । अब, संकलित जडीबुटीसहित उनीहरू ताक्लाकोट पुग्छन्, बेचेर पैसा जम्मा गर्छन्, अनि त्यही पैसाले नुन र लत्ताकपडा किन्छन् ।

‘मेरो परिवार मात्रै होइन, गाउँका सबै घर अहिले खाली छन् । सबै भोट जानका लागि आएका छन् । घरका भेँडाबाख्रासमेत साथमा लिएर जडीबुटी खोज्दै नुन किन्न भोट जाने समय हो यो,’ पवित्राले सुनाइन् । बाजुराका दुर्गम क्षेत्रका नागरिक नुन किन्न भोट नै जान बाध्य छन् । अधिकांश घरका पुरुष रोजगारीका लागि भारत जाने भएकाले प्रायः महिला नै भोटका लागि निस्किन्छन् ।

उनीहरू भोट यात्राका लागि करिब तीन महिना घरबाहिर हुन्छन् । पाण्डुसेनकै ३५ वर्षीया धनकला कार्की पनि दुई छोराछोरी साथै लिएर भोटको यात्रामा छिन् । ‘गाउँमा कोही हुँदैनन्, केटाकेटीलाई घरमै छाडेर आउने कुरा भएन, त्यसैले साथै ल्याएको,’ धनकलाले भनिन्, ‘केही जडीबुटी खनुँला र त्यही पैसा लिएर भोटबाट नुन र लुगाकपडा किनौँला भनेर आएको ।’

दुई–तीन महिनासम्म घर छाडेर भोटतिर लाग्नेमा अधिकांश जनजाति महिला छन् । उनीहरूले एक महिना त हुम्लाको रानीखर्कमै जडीबुटी खोजेर बिताएका छन् । जटामसी, कटुकी, यार्सागुम्बालगायत जडीबुटी संकलन गरेका छन् ।

बाटोमै सुत्केरी
तीन महिना घरबाहिर रहँदा कतिपय महिला बाटैमा सुत्केरीसमेत हुन्छन् । हरेक वर्ष भोट लाग्ने क्रममा बाटैमा कोही न कोही सुत्केरी हुने गरेको धनकला कार्कीले बताइन् । तर, बाटैमा बच्चा जन्मिए पनि ताक्लाकोट पुगेरै फर्किने गरेको सुनाइन् । हुम्लाको नाम्खा गाउँपालिका–३ का वडाध्यक्ष छपाल लामाले नुन किन्न भोट जाने क्रममा बाजुराका महिलाहरू बाटैमा सुत्केरी हुने गरेको कैयौँपटक देखेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: