भारतका पूर्व अर्थमन्त्री चिदम्बरम भ्रष्टाचारको आरोपमा पक्राउ

नयाँदिल्ली । भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सिबिआई) ले बुधबार साँझ भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरेको हो ।

सिबिआईले ७३ वर्षीय चिदम्बरम माथि संयुक्त प्रगतिशिल गठबन्धन (युपिए) को सरकारमा अर्थमन्त्री भएका बेला आइएनएस मिडिया कम्पनीमा सन्२००८मा गरिएको अवैधानिक रुपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप लगाएको छ।

सिबिआईले उनलाई दिल्लीको जोरबागस्थित निवासबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नका लागि चिदम्बरमको घर पुगेका सिबिआईका अधिकारीहरुले निकै कसरत गर्नु परेको थियो। निवासको मूलढोका नखोलिएपछि उनीहरु पछाडिको ढोकाबाट प्रवेश गरेका थिए। सिबिआईका केही अधिकारीहरु त पर्खाल नाघेर समेत भित्र पसेका थिए।


त्यसअघि चिदम्बरमले आफूमाथि सिबिआईले लगाएको आरोप निराधार भएको भन्दै आरोपलाई खारेज गर्न र पक्राउ नगर्न माग गर्दै दिल्ली उच्च अदालत गएका थिए। तर, मंगबालर उच्च अदालतले उनको माग अस्विकार गरेको थियो।

त्यसपछि सिबिआई र प्रवर्तक निर्देशनालय (इनफोर्समेन्ट डाइरक्टरेट–ईडि) को टोलीले चिदम्बरमलाई पक्राउ गर्न खोजी शुरु गरेको थियो। त्यसका लागि मंगलबार दुई पटकसम्म उक्त टोली उनको निवास पुगेको थियो। तर, उनलाई फेला पार्न सकेको थिएन। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्