‘संविधान दिवस भव्य रूपले मनाऔँ’

काठमाडैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका सङ्घर्षहरूको, गौरवको, इतिहासको, बलिदानको र उपलब्धिको सङ्ग्रह नै संविधान भएको बताएका छन् ।

उनले भने, “वर्तमान अवस्थाका यथार्थहरूको प्रतिविम्ब हो, संविधान । भविष्यमा हामीले हिँड्ने बाटो, पुग्नुपर्ने गन्तव्य, ती सबैको पनि एकीकृत रूप हो ।” उनले संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति २०७६ को बैठकमा बुधबार सम्बोधन गर्दै भने, “यसमा हाम्रा विगतका आँसु र पीडाहरू, सङ्घर्ष र बलिदानका कथाहरू छन् ।”

उनले संविधानमा वर्तमानका जटिलता, अप्ठ्यारा, आवश्यकता र राष्ट्रिय आकाङ्क्षा एवं गन्तव्य समेटिएको बताए । उनले भने, “संविधानले नेपालको विकास, नेपाली जनताको अधिकार, अवसर, सुरक्षा र सम्मानसम्मको पहुँच र समग्रतामा सुखी नेपालीको आकाङ्क्षालाई समेटेको छ ।”

उनले संविधान दिवस–लाई जनस्तरमा भव्यता र व्यापकतासाथ मनाउनुपर्नेमा जोड दिए । उनले भने, “संविधान दिवसलाई भव्यता र व्यापकताका साथ मनाउनु पर्छ । नेपालका सबैभन्दा महत्वपूर्ण र ठूलो दिवस हो ।” उनले प्रदेश र स्थानीय सरकारले जनसहभागितासाथ सिर्जनात्मक ढङ्गले राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने बताए । उनले घरघरमा दीपावलीसहित संविधान दिवस मनाउन सबैमा
आग्रहसमेत गरे । प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण र उपचारका लागि बिहीबार सिङ्गापुर जाने बैठकमा जानकारी गराए । प्रधानमन्त्री ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति २०७६ गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्