प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् ।

आज अपरान्ह १:३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले एक विज्ञप्ती जारी गरेर जनाए अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो ।

‘एण्टीबडीलाई शरीरबाट निश्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उनी फेरि त्यसतर्फ जान लागेको विज्ञप्तीमा उल्लेख छ ।

सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उनको मिर्गौलाको थप परिक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तीमा जनाइएको छ ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा. सिंहले जनाएका छन् । ‘प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं ’डा. सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिनेछ ।

फोटो : गोरखापत्र अनलाइनबाट

कमेन्ट गर्नुहोस्