वामदेवकाे प्रश्न: अनि कसरी वामदेव प्रधानमन्त्री हुन्छ ?

काठमाडौं, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले उप निर्वाचनमा उम्मेद्वार बन्ने विषयमा केही नसाेचेकाे बताएका छन् ।

प्रधानमन्त्री बनाउन उपाध्यक्ष पद सिर्जना गरिएकाे टिप्पणीप्रति लक्षित गर्दै वामदेवले चुनाव नै नजिति कसरी प्रधानमन्त्री बन्ने भन्दै प्रतिप्रश्न गरे

गौतमले आफू कास्की २ बाट उठ्नेबारे केही नसोचेको उल्लेख गरे । ‘कसले भन्यो मेरो प्रधानमन्त्री हुने बाटो खुल्यो ? निर्वाचित हुन पर्यो, सिफारिस हुन पर्यो । प्रधानमन्त्री पद खाली हुनुपर्यो । यी कुरा केही भएकै छैनन्, अनि कसरी वामदेव प्रधानमन्त्री हुन्छ ?’, उनले भने, ‘मैले उपनिर्वाचनमा उठ्नेबारे सोचेकै छैन । पार्टीले के निर्णय गर्छ उसको कुरा हो । अहिलेसम्म मैले चुनाव लड्नेबारे निर्णय गरेको छैन । उठ्छु पनि कतै भनेको छैन ।’

उनले आफू उपाध्यक्ष हुँदा देशलाई कुनै बेफाइदा नभै फाइदा नैं हुने बताए ।

नेकपा सचिवालयको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकपछि उनले आफूलाई खुसी बनाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पद सिर्जना गरेको बताउँदै उनले अब आफूले कार्यकर्तालाई खुसी बनाउने उल्लेख गरे ।

विधानमै नभएको पदमा तपाईं किन ? भन्ने प्रश्नमा उनले भने, ‘मैले वरिष्ठ उपाध्यक्ष भएर दुई कार्यकाल १२ वर्ष बिताइसकेको छु। मलाई अध्यक्षहरुले खुसी बनाउन यो पद दिएका हुन् मैंले बुझेको छु । म उपाध्यक्ष हुँदा पार्टी मात्रै होइन देशलाई नै फाइदा हुन्छ म त्यही ढंगले आफूलाई लगाउँछु काम गर्छु । यत्रो पार्टी निर्माण गर्न लागेको छु । जनताका छोरा पार्टी सदस्यहरुलाई म घर घरमा स्थापित गर्छु ।’

उनले आफू उपाध्यक्ष भएपछि पार्टी र पार्टी बाहिरको पनि लोकतन्त्र बलियो पार्ने उल्लेख गरे । ‘जसरी विरुवा हुर्काउन पोषक तत्व चाहिन्छ, त्यसैगरी म नेकपाका कार्यकर्ताका लागि काम गर्छु’, उनले भने, ‘म उपाध्यक्ष भएपछि आन्तरिक लोकतन्त्र बाह्य पनि बलियो हुन्छ ।’

 

कमेन्ट गर्नुहोस्