पूर्वसभासद् जयसवाललाई नेकपाले कार्वाही गर्ने

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश २ का सदस्य तथा पूर्वसभासद् अशोक जयसवाललाई कारवाही गर्ने भएको छ ।

पार्टी सचिवालय निकट स्रोतका अनुसार पार्टीभित्र अन्तरघात गरेको भन्दै जयसवाललाई पार्टीबाट निष्कासनसम्मको कारवाहीको तयारी भएको छ । जयसवालविरुद्ध पार्टीमा निरन्तर उजुरी परेपछि उनलाई कारवाही गर्न लागिएको हो ।

पहिलो संविधानसभाको निर्वाचनदेखि पछिल्लो आमनिर्वाचनमा गरेको अन्तरघातका सबै उजुरीहरुमाथि पुनः छानबीन थालिएको नेकपा स्रोतले जनाएको छ ।

पहिलो संविधानसभा निर्वाचनमा जमानत जफत भएर पराजित भएका जयसवाललाई दोस्रो संविधानसभाको समानुपातिक उम्मेदवार बनाइएको थियो । त्यतिबेला उनले अन्य दलका उम्मेदवारबाट ठूलो मात्रामा पैसा लिएर नेकपाकै नेता प्रभु साहलगायत रौतहटका विभिन्न उम्मेदवारविरुद्ध मत मागेको उजुरी जिल्लाका नेताहरुले पार्टीमा दर्ता गराएका थिए ।

अन्तरघात गरेको भन्दै उजुरी पर्दा पनि उनलाई समानुपातिक सभासद् बनाइएको थियो । अन्तरघात गर्दा पनि उनलाई सांसद बनाएकै कारण चन्देश्वर बैठालगायत रौतहटका दर्जनौं नेताहरुले पार्टी परित्याग गरेका थिए ।

कमेन्ट गर्नुहोस्