स्वदेश फर्किए भारतीय विदेश मन्त्री जयशंकर

काठमाडौंः  भारतीय विदेश मन्त्री डा.सुव्रमण्यम (एस) जयशंकर स्वदेश फर्किएका छन् । बुधबार नेपाल आएका उनी आज स्वदेश फर्किएका हुन् ।

नेपाल उत्रे लगत्तै विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार नै भेटघाट गरेका थिए । बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितल निवास पुगेका थिए ।

भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उनी बसेकै होटल सोल्टी पुगेका थिए ।

यस्तै समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई तथा अर्का अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव पनि होटलमै पुगेर भेट गरेका थिए ।

बुधबारदेखि सुरु भएको नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन उनी नेपाल आएका थिए ।

भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार दोस्रो कार्यकालका लागि गठन भएपछि भारतीय विदेश मन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी जयशंकरले सहअध्यक्षतामा बुधबार साँझ आयोगको बैठक बसेको थियो । बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी भएका थिए ।

संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई विभिन्न पाँच शीर्षकअन्तर्गत राखेर छलफल गरिएको थियो ।

राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्