नेकपा सचिवालय सदस्य तत्काल थप नहुने

काठमाडौंः  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ ।

यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा (एमाले) मा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकपछि पत्रकारको जिज्ञासामा सचिवालय सदस्य वामदेव गौतमले भने, ‘सचिवालयमा सदस्य थप्ने अहिले सोचाइ छैन र पार्टीमा कुनै त्यस्तो विवादको अवस्था छैन । पार्टीमा पूर्व एमाले र पूर्व माओवादीको गुट छैन, नेकपाको एउटै गुट छ ।’

भदौ १ गतेकै बैठकले अध्यक्षद्वयपछिको पहिलो वरिष्ठ नेतामा भलनाथ खनाल र त्यसपछिको वरिष्ठमा नेता नेपाल रहने निर्णय गरेको थियो । त्यसअघि नेता नेपाल वरिष्ठतामा भने पहिलो वरियतामा थिए। नेता खनालले तत्कालीन एमालेमा आफू निवर्तमान अध्यक्षका हैसियतमा पहिलो वरिष्ठ नेताका रुपमा रहेकाले एकीकरणपछि पनि सोही वरियता हुनुपर्ने माग गर्दै आएका थिए ।

हाल नेकपामा तत्कालीन एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु खनाल, नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासहित नौ सदस्यीय सचिवालय छ ।

तत्कालीन एमालेमा रहेका उपाध्यक्षमध्ये गौतम मात्र र उपमहासचिव रहेका पौडेल एकतापछिको सचिवालयमा पर्नु तर अन्य उपाध्यक्ष नपर्नुले पूर्ववत् वरियताको स्पष्ट मापदण्ड नभएको नेता नेपालको जिकिर छ ।

सचिवालय बैठकले पार्टीको विभिन्न जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको थियो । वरिष्ठ नेताको वरियता हेरफर र ती निर्णयमा नेता नेपालले सात बुँदे ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । उनले पार्टीमा एक पद, एक जिम्मेवारीका लागि पनि वकालत गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्