आज कृष्ण जन्माष्टमी, यस्तो छ श्रीकृष्णका १६ हजार पत्नीको रहस्य

काठमाडौं । आज भाद्र कृष्ण अष्टमीका रात स्वदेश तथा विदेशका सबै कृष्ण मन्दिरमा भव्यताका साथ कर्मका पुजारी भगवान् कृष्णको जन्मदिन मनाइँदै छ ।

महाशिवरात्रि, महाष्टमीको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र कृष्णजन्माष्टमीको मोहरात्रि गरी यी चार रातलाई हिन्दू धर्मशास्त्रमा महत्वको रात मानिएको छ ।

द्वापरयुगमा पिता वासुदेव र माता देवकीको सन्ततिका रूपमा कृष्णको जन्म भएको शास्त्रमा वर्णित छ ।

ज्योतिषशास्त्रमा सूर्य ग्रहबाट भगवान् राम अवतार, मङ्गल ग्रहबाट नृसिंह अवतार र चन्द्र ग्रहबाट कृष्णको जन्म भएको वर्णन छ । शुक्रबार मध्यरातदेखि शनिबार बिहान ३ः३० बजेसम्म अष्टमी परेको छ ।

राष्ट्रपतिद्वारा शुभकामना 
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा, प्रचलन र मान्यताहरू राष्ट्रिय जीवनका अमूल्य निधि रहेको धारणा व्यक्त गरेकी छिन् । श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सो धारणा व्यक्त गरेकी हुन् ।

‘मुलुकको सभ्यता र सम्पन्नताको सूचकसमेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व हो’ सन्देशमा भनिएको छ, ‘यस प्रकारको ऐतिहासिक र सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा आर्थिक सहिष्णुता एवं सद्भाव अभिवृद्धि गर्न ठूलो मद्दत पुर्या एको छ ।’

के हो श्रीकृष्णका १६ हजार पत्नीको रहस्य?
भगवान् कृष्णका अनेकौं लीलामध्ये सोह्र हजार गाेपीनीहरूको प्रसंग पनि आउँछ । कसरी श्रीकृष्णले सोह्र हजार गाेपीनीसँग विवाह गर्नुभयो त ?

पौराणिक कथाहरूका अनुसार एक दिन देवराज इन्द्रले भगवान् श्रीकृष्णलाई प्राग्ज्योतिषपुरका दैत्यराज भौमासुरको अत्याचारका बारेमा अवगत गराए । इन्द्रको प्रार्थना स्वीकार गरेर श्रीकृष्ण आफ्नी प्यारी पटरानी सत्यभामाका साथ गरुडमा सवार भएर प्राग्ज्योतिषपुर पुगे । त्यहाँ पुगेर भगवानले मुर दैत्यको वध गर्नुभयो ।

मुर दैत्यको वध भएको खबर पाएपछि भौमासुर आफ्ना सेनापति तथा दैत्यहरूको सेनालाई साथ लिएर युद्ध गर्न आयो । भौमासुरलाई स्त्रीको हातबाट मर्ने श्राप थियो । त्यसैले भगवानले सत्यभामालाई सारथी बनाउनुभयो र घोर युद्धपछि अन्त्यमा उहाँले सत्यभामाको सहयोगमा उसको वध गरिदिनुभयो ।

यसरी भौमासुरलाई श्रीकृष्णले मारेपछि उसको पुत्र भगदत्तलाई अभयदान दिएर उसलाई प्राग्ज्योतिषको राजा बनाउनुभयो । भौमासुरले अपहरण गरेर राखेका १६ हजार कन्यालाई उहाँले मुक्त गरिदिनुभयो ।

ती अपहृत नारीहरूलाई तत्कालीन समाजले स्वीकार नगर्ने भएकाले श्रीकृष्णले उनीहरूलाई पत्नीरूपमा स्वीकार गर्नुभयो । यसरी उहाँका आठ पटरानीका अलावा १६ हजार पत्नी भए ।

कमेन्ट गर्नुहोस्