Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाली मार्क्सवादीको चलचित्र चेत

लेखक आहुतिले नेपाली चलचित्रहरूको विषयवस्तु र शिल्पकेन्द्रित चिन्तन मनन गर्ने सवालमा विद्वान्हरू गम्भीर उदासीन छन् भन्ने आशय आफ्नो स्तम्भ ‘पञ्चायती’ मा लेखे  ।

आहुतिले अभिव्यक्त गरेको उक्त आशयमा आलोचनात्मक चेत निहित भए तापनि लामो समय प्रगतिशील राजनीतिमा संलग्न लेखक स्वयंले भने बलियो कम्युनिस्ट पार्टीभित्रको महत्त्वपूर्ण विभागहरूमा रहँदा नेपाली चलचित्रको सैद्धान्तिक र बौद्धिक विमर्शमा कति समय खर्चिए भन्ने प्रश्न मूल रूपले उनीतिरै तेर्सिन्छ । आहुतिलगायतका झर्रा संरचनावादीहरूले संरचनागत रूपान्तरणको प्रश्नलाई प्रधान मान्दै चलचित्रजस्ता सांस्कृतिक पक्षहरूको रूपान्तरणको सवाल सहायक र गौण अर्थमा मनन गरेकै कारण पनि आमसञ्चार र चलचिजस्ता सांस्कृतिक उत्पादनहरूका बारेमा नेपालमा राजनीतिक पार्टीभित्र र बाहिर यथेष्ट बहस हुन सकेको छैन ।

चलचित्रजस्ता सांस्कृतिक उत्पादनहरूले शक्ति सम्बन्धहरूको पुनरुत्पादन र सोचहरूको वैधानिकीकरण गर्न दरिलो भूमिका खेलिरहेको हुन्छ भन्ने यथार्थलाई नेपालका प्रगतिशील आन्दोलनका हिमायतीहरूले पूरापूर नजरअन्दाज गरेको देखिन्छ । प्रगतिशील साहित्यिक आन्दोलनको लामो इतिहास पार गरिसक्दा पनि नेपाली चलचित्रको अन्तरवस्तु र शिल्पमा भने मार्क्सवादी सौन्दर्यशास्त्रीय दृष्टिकोणमा नगण्य योगदान हुनु आफैंमा विडम्बना पूर्ण स्थिति देखिन्छ । विश्वभर अन्तरविषयगत प्राज्ञिक अभ्यासहरूमा थुप्रै बौद्धिक कर्महरू हुने भए तापनि नेपालमा भने आफ्नै खेत, आफ्नै पानी आफ्नै अनाज र आफ्नै मुखजस्तो विषयगत शुद्धताहरू हरक्षेत्रमा हावी हुनुले पनि ज्ञान उत्पादनको दायरा संकुचित भइरहेको देखिन्छ । राजनीतिक उद्देश्य प्राप्तिका लागि नेपालमा सबैभन्दा बढी प्रयोग भएको दर्शनहरूमध्ये मार्क्सवाद पनि एक हो । मार्क्सवाद र चलचित्र दुवैले आम जनमानसलाई नै आधार बनाउँछ । नेपाली सन्दर्भमा मार्क्सवादीहरूले चलचित्रलाई वर्गीय सांस्कृतिक उत्पादनको रूपमा समालोचना गर्दै चलचित्रले पस्किएको विचारलाई फरक दृष्टिकोणवाट प्रस्तुत गरेर समाजमा ज्ञान निर्माण गर्ने कार्यमा निम्छरो भूमिका खेलेको स्पष्टै देखिन्छ ।

चलचित्र कुनै विचारको प्रचार गर्ने माध्यम मात्र बन्न सक्छ वा चलचित्र आफैंले स्वतन्त्र रूपले नयाँ दर्शनको पादुर्भाव गर्न सक्छ भन्नेबारेमा विश्व सिनेमाको सेरोफेरोमा धेरै बहस हुने गर्छ । आम जनताको भावना प्रतिनिधित्व पर्दामा हुने गरेर मार्क्सवादी दृष्टिकोणले चलचित्रको पात्र, प्रवृत्ति तथा परिवेश उजागर गरेका चार्ली च्याप्लिनको मोडर्न टाइम्स र रुसी निर्देशक सर्जेई आइजेस्टाइनको ब्याटलसिप पोटेमकिनजस्ता चलचित्रहरूमा तत्कालीन अर्थराजनीतिक कारणहरूले गर्दा आम जनजीवनमा पर्न गएको निर्मम प्रभावहरूलाई पर्दामा उतार्न सफल भएका थिए । जबजब आम जनजीवनमाथि अर्थराजनीतिक शक्तिसंरचनाहरू कहालीलाग्दो तरिकाले हावी हुँदै जान्छन्, त्यतिबेला मार्क्सवादीहरूले चलचित्रले बजार, राज्य र आमदर्शकको मनोविज्ञानको बीचमा सशक्त भूमिका खेल्न सकिरहेको छ कि छैन भन्ने बहसलाई घनीभूत तरिकाले अगाडि बढाउन सक्छन् । समाजमा हुने वर्गीय चेतनाहरूको द्वन्द्वमा चलचित्रले कुलीन वर्गको प्रभुत्वशाली संस्कृति लादेर सीमान्तकृत वर्गलाई ठूलो सपना देख्न नसक्ने बनाउँछ । त्यस्तै, सीमान्तकृत वर्गलाई पनि चलचित्रले यथास्थितिविरुद्धको आवाजलाई बुलन्द पार्नुपर्छ भन्ने चेतना बीजारोपण गर्न उत्प्रेरणाकारी भूमिका खेल्न सक्छ । नेपालको सन्दर्भमा भने बजारले दिनप्रतिदिन गाँज्दै लगेको उपभोक्तावादी संस्कृतिको आलोचनात्मक चर्चा गर्न चलचित्रको भूमिका कस्तो हुन सक्छ भन्ने सवालमा नेपालको प्रायः सबै राजनीतिक पार्टीहरू मौन देखिन्छन् । आहुति मात्रै नभई उनका पुस्ताको तमाम बौद्धिकहरूका लागि नेपाली चलचित्र एउटा अबौद्धिकहरूको फगत मनोरञ्जन मात्र बनिरहेको तीतो यथार्थ सितिमिति बिर्सन सकिने खालको छैन। फलस्वरूप, नेपालमा चलचित्रकर्मको पाँचौं दशक लामो यात्रामा पनि चलचित्रमा प्रतिविम्बित गर्न खोजिएको अन्तरवस्तु र मानवीय चेतनाबीचको अन्तरसम्बन्ध जोड्ने पुल भेटाउन नै अलमलिएको अवस्था देखिन्छ । पाँच दशक लामो यात्रा पार गरिसक्दा पनि नेपालका यावत् बौद्धिकहरू तथा समाज विज्ञान अध्ययन अध्यापन गर्ने गराउने तथाकथित ज्ञानका केन्द्रहरूले नेपाली चलचित्रको अन्तरवस्तु र शिल्पको गुणात्मक फड्को मार्ने सवालमा प्राज्ञिक भूमिका नदेख्नु गम्भीर विडम्बना हो । नेपाली चलचित्रको विद्यमान वैचारिक र कलात्मक कुपोषणका लागि तमाम राजनैतिक संघसंगठन, तथाकथित बौद्धिक तथा लेखकहरू लगायत नीति निर्माताहरूले समेत स्पष्टै जिम्मेवार देखिन्छन् । फरक सोच र शैलीबाट आएको आलोचनात्मक चेतले मात्र सीमान्तकृतहरूको मौन आवाजलाई चलचित्रमा मूलप्रवाहीकरण गर्न प्रवल भूमिका खेल्छ । चलचित्रमा विविधताको खोजी गरेर सीमान्तकृत वर्गको आवाजलाई मुखरित पार्दै प्रतिरोधको संस्कृतिलाई टेवा दिने प्राज्ञिक चेत र आलोचनात्मक रुझानको वर्तमान अवस्थामा ठूलै खडेरी परेको देखिन्छ ।

आमसञ्चार र चलचित्रजस्ता शक्तिशाली माध्यमहरूले आम जनताको राजनीतिक र सामाजिक काल्पनिकीहरू निर्माण गर्न गहन भूमिका खेलिरहेका हुन्छन् । चलचित्रले निर्माण गर्ने यस्ता काल्पनिकीहरूले मानवीय मूल्य मान्यता र संस्कारमा पनि प्रभाव बनाउँछ । कलामा स्थापित सत्यलाई भत्काउने र अर्को यथार्थ र्सिजना गर्न सक्ने क्षमता पनि हुन्छ । फलस्वरूप, निश्चित समयपछि चलचित्रले निर्माण गरेको काल्पनिकी आफैंमा विचारको रूप ग्रहण गर्न थाल्छ । चलचित्रले पस्किएको विचार तथा विषयवस्तुहरूले आमजनमानिसको काल्पनिकीमा पार्ने प्रभावले नै समाजमा नयाँ संस्कृतिहरूको पनि प्रादुर्भाव भइरहेको हुन्छ । यस्ता काल्पनिकीहरू चलचित्रले निर्माण गर्ने वर्गको विचारले प्रभावित बनाएको हुन्छ । वर्गीय विविधता भएको समाजमा विचार त समाजमा जुन वर्गको पनि हुन्छ, मात्र सवाल यो हो कि कुन वर्गको कस्तो विचार चलचित्र मार्फत अभिव्यक्त हुन्छ र अर्को वर्गले चुपचाप ग्रहण गर्छ वा त्यसलाई प्रतिकार गर्छ भन्ने विषयवस्तु महत्त्वपूर्ण हुन्छ । नेपाली चलचित्रसँगको आलोचनात्मक र समीक्षात्मक नाता जोड्ने कार्यमा नेपालको बौद्धिक वर्गको निम्छरो उपस्थिति भइसकेपछि नेपाली चलचित्रको वैचारिक र कलात्मक फड्कोको सवाल गौण हुन पुग्नु नौलो यथार्थ अवश्य होइन । चलचित्रलाई मनन गर्ने र विश्लेषण गर्ने निर्दिष्ट सोचअभावमा खुल्लमखुला बलात्कारलाई वैधानिकता दिएको चलचित्रका पक्षमा ढुलमुले सापक्षेतावादी तर्क गरेर महिलामाथि थप वैचारिक र सांस्कृतिक अपमान गरिएका कलंकित दृष्टान्तहरू इतिहासमा दर्ज भइसकेका छन् । तसर्थ, चलचित्रले पस्किएका विषयवस्तुमाथिको आलोचनात्मक दृष्टिकोण राख्न सक्ने पुस्ताको विकासमा राजनीतिक पार्टी र प्राज्ञिक क्षेत्रहरूको चरम वैचारिक स्खलन पनि वर्तमानमा नेपाली चलचित्रले भोगेको नियतिका लागि उत्तिकै जिम्मेवार देखिन्छ ।

चलचित्र निर्माण प्रक्रियामा वादप्रतिवाद गर्दै सिर्जनात्मक चेतनाको गुणात्मक वृद्धि गर्न चलचित्र निर्माणकार्यमा खटिएका विषयगत शिल्पीहरूमा निहित चेतनाको तहले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । निर्देशकीय सोचलाई पर्दामा उतार्न चलचित्रकर्ममा संलग्न कलाकार र प्राविधिकहरूमा पनि व्यावसायिकता र कलात्मक चेतना भरपूर हुनुपर्ने हुनाले चलचित्र निर्माण एक अर्थमा सामूहिक चेतनाको उपज हो । यद्यपि, चलचित्र निर्माणका प्रत्येक पाटोहरूमा निर्देशकको पूर्ण नियन्त्रण रहन्छ भन्ने अट्योर सिद्धान्त लागू भएका कलात्मक चलचित्रहरूको सवालमा भने निर्देशकीय चेतनाको तहले चलचित्रको अन्तरवस्तु र शिल्प दुवैलाई मुख्य रूपले प्रभावित बनाएको हुन्छ । ‘ब्लू भेल्भेट’ का निर्देशक डेभिड लिन्चका अनुसार प्रत्येक व्यक्तिमा कलात्मक चेतना तथा सिर्जनात्मक सम्भावनाको अनन्त समुद्र लुकेको हुन्छ । चलचित्र निर्माण प्रक्रियामा निर्देशकले आफूभित्र लुकेको अनन्त अस्तित्वको सिर्जनात्मक उजागर गर्न सक्नुपर्छ । त्यस्तै, निर्देशकीय चेतनालाई पनि ऊ बाँचेको समाजको आर्थिक, सामाजिक र राजनीतिक परिवेशले उत्तिकै प्रभाव पारिरहेको हुन्छ । तसर्थ, चलचित्र निर्देशक सिर्जनात्मक र कल्पनाशील मात्र हुने नभई ऊसँग तार्किक, विश्लेषणात्मक र आलोचनात्मकचेत पनि उत्तिकै हुन जरुरी हुन्छ । प्रतिरोधको आवाजहरूलाई मनन गरेर वैचारिक र सामाजिक विविधतालाई आत्मसात् गर्न सक्ने क्षमता चलचित्र निर्देशकमा हुनुपर्छ । जर्मनी निर्देशक हान्स योर्गेन साइवरवर्ग चलचित्रलाई केही घण्टाको मनोरञ्जन दिने साधनको रूपमा मात्र मनन नगरी, राजनीतिक सोच र सत्यको खोजी गर्ने एउटा खुला अवधारणाको रूपमा स्वीकार गरिनुपर्ने तर्क गर्छन् । नितान्त व्यक्तिगत खुसीहरूभन्दा माथि उठेर उग्र उपभोक्तावादी संस्कारको चपेटामा क्षय हुँदै गएका मानवीय सम्बन्धहरूलाई प्राण भर्ने अवसर संवेदनशील चलचित्रहरूले सिर्जना गर्न सक्छन् । सबैले देखिरहेको भन्दा फरक तरिकाले समाजलाई चलचित्रमा पस्किएर अनुभूति गराउन सक्ने प्रखर भूमिका निर्देशकसँग हुने दार्शनिक र कलात्मक रुझानले नै खेल्न सक्छ ।

सांस्कृतिक उच्चताभासले ग्रसित भएर आत्मकेन्द्रित र नश्लवादी विचारहरूको प्रभुत्व जम्दै गएको डरलाग्दो अवस्थामा संवेदनशील चलचित्रहरूले नै विविधतालाई आत्मसात् गर्ने उदार मानवीय संवेदनाहरूको निर्धक्क अभिव्यक्त गर्न सक्छ । फरक परिवेशवाट आएकाहरूलाइ सशंकित नजरले हेर्ने, एउटै वर्ण र जातलाई मात्र मानवीय सर्वोच्चताको मानक मान्ने र आफूले देखेको, भोगेको मात्र वस्तुनिष्ठ भन्ठान्ने अहम्पूर्ण र रूढिवादी चेतहरूको निर्मम अवसान संवेदनशील चलचित्रहरूले नै गराउन सक्छन् । संवेदनशील र कलात्मक चलचित्रहरूले फरक दृष्टिकोण र फरक शैलीको वकालत गर्ने हुनाले पनि मानव समाजको वैचारिक र भावनात्मक काल्पनिकीहरूको दिशानिर्देश गर्ने सवालमा बेजोड भूमिका खेल्न सक्छ । समाजका शक्तिसम्बन्धहरूको चपेटामा बेलिएर सीमान्तकृतहरूको सपना साकार बनाउन नदिने र प्रभुत्वशाली वर्गको विचार मात्र एकोहोरो लाद्ने कार्यको ठोस प्रतिरोध गर्न पनि चलचित्र एउटा सशक्त कलात्मक हतियार मानिन्छ । प्रतिरोधको संस्कृतिलाई अगाडि बढाउन निर्देशकमा निहित सामाजिक राजनीतिक चेतना आफैंमा समाज रूपान्तरणको संवाहक हुन सक्छ । चलचित्र समकालीन समाजका मानवीय अपेक्षाहरूको बेजोड समागम हो जसले विचार र मानवीय संवेदनाको एकमुष्ट अभिव्यक्त गर्न सक्छ । तसर्थ, मानवीय अस्तित्वको पुनर्विचार गर्न र उपभोक्तावादले लादेको वर्तमानका बेथितिहरूविरुद्ध तिखो प्रश्न गर्ने सवालमा पनि चलचित्र सशक्त माध्यम बन्न पुग्छ । तर अफसोस, आलोचनात्मक चेतलाई निषेध गर्दै निरर्थक प्रशंसा नै कलाकर्मीहरूको रूखो भोक बन्दै गइरहेको वर्तमान अवस्थामा नेपाली चलचित्रहरूले गुणात्मक फड्को मार्ने अपेक्षा दिनप्रतिदिन धमिलो हुँदै गएको देखिन्छ । दुर्भाग्यवश, आलोचनात्मक चेतलाई स्वीकार गर्न नसकी निर्देशक स्वयंले राज्यको शक्ति–सम्बन्धहरूको दुरुपयोग गरेर आलोचकहरूको आवाज थुन्नेजस्ता कुकर्मको ऐतिहासिक साक्षी वर्तमान पुस्ता हुन अभिशप्त छ । सिर्जनशील कर्ममा आलोचनालाई निषेध गर्न खोज्ने र अर्कोतर्फ मनोरञ्जनका लागि केवल मनोरञ्जन भन्ने भावनाहरूको प्रभाव बढिरहेको अवस्थामा नेपाली चलचित्रहरूमा पनि मानवीय मूल्यभन्दा प्रविधिको भद्दा प्रयोगको होडबाजी बढ्दै गएको अवस्था देखिन्छ । एकातर्फ, प्रविधिमा खर्च भएको रकमको आधारमा चलचित्र प्रदर्शनका लागि मुख्य समाचार बन्नु नै कथावस्तु र संवेदनाभन्दा प्रविधिको पाटो बढी ध्यान केन्द्रित हुँदै गएको देखिन्छ । अर्कोतर्फ, नेपालमा उपलब्ध प्रविधिको उच्चतम उपयोग गरेर अब्बल चलचित्र सिर्जना गरिएको उदाहरण नगन्य नै छन् । प्रविधिको उग्र प्रयोगले खिचिएका तस्बिरहरूमा मानवीय अस्तित्व संकुचन हुँदै हरेक व्यक्ति आत्मसम्मोहनको अगाडि घुँडा टेक्दै गइरहेको तीतो यथार्थमा संवेदनशील चलचित्रहरूले फरक विचारको बीजारोपण गर्न सशक्त भूमिका खेल्न सक्छ ।

प्रसिद्ध अमेरिकी निर्देशक स्ट्यानले कुब्रिकले सोचेको विचार लेख्न सकिन्छ, लेखेको विचार खिच्न सकिन्छ भनेका थिए । चलचित्र निर्माण गर्ने सिलसिलामा कुन विषयवस्तु कसरी सोच्ने र कसका लागि सोच्नेजस्ता अहम् प्रश्न चलचित्रको दिग्दर्शक मानिने निर्देशकमा निहित कलात्मक चेतनाको तहले नै निर्धारण गरिरहेको हुन्छ । कलात्मक चलचित्रका लागि रोजिने कथावस्तु, कथावस्तुको पटकथाकरण र प्रस्तुतिका लागि प्रयोग गरिने शिल्पको तौरतरिकाजस्ता पक्षहरूमा चलचित्र निर्देशकले नेतृत्व गरेको चेतनाको तह नै सर्वमान्य भूमिका खेलिरहेको हुन्छ । निर्देशकले सोच्ने पद्धतिलाई उसले बोकेर आएको इतिहास र संस्कार, दार्शनिक चेतना र निर्देशक हुर्किएको सामाजिक राजनीतिक परिवेशले समेत गहिरो प्रभाव रहन्छ । दार्शनिक गिलिज डेल्युजका अनुसार, समयको र गतिको चित्रलाई पर्दामा उतार्न एकै पटकमा सोच्न सक्नुपर्ने खुबीले नै चलचित्र निर्देशकलाई साहित्यकार, संगीतकार र अन्य सर्जकहरूभन्दा विशिष्ट कोटीको सर्जक मानिन्छ । निर्देशकको कलात्मक चेतनाको तहले नै श्रव्यदृश्य माध्यम मार्फत दर्शकहरूसँग सिर्जनात्मक अन्तरसंवाद गर्ने अवसर प्राप्त गरेको हुन्छ । लामो र प्रयोगात्मक चलचित्र निर्देशन गर्ने फिलिपिनो निर्देशक लाभ डियाज पनि चलचित्रको व्यावसायिक र मनोरञ्जनात्मक मूल्य मात्र हुन नहुने बरु चलचित्रलाई मानवीय भावना र चेतनाको एकमुष्ट अभिव्यक्त गर्न सकिने विशिष्ट कलाको रूपमा मनन गर्नुपर्ने धारणा राख्छन् । सिर्जनशीलता नितान्त निजात्मक कर्म मात्र नभई यसले मानवताको सेवा गर्न सक्नुपर्छ भन्ने निर्देशक डियाजको जस्तै वैचारिक धारले अझै पनि सान्दर्भिकता नगुमाइसकेको हुनाले सिर्जनशीलता र मानवीय संवेदनशीलताबीच गहिरो सम्बन्ध रहिआएको छ । कलात्मक चलचित्र निर्माणको सिलसिलामा निर्देशकमा निहित निजत्वको कलात्मक उजागर गर्ने कार्य नै चलचित्रमा भइरहेको हुन्छ । प्रत्येक मानवमा निहित निजत्वको सारभूत अर्थ के हो भन्नेबारेमा ब्लेड रनरजस्तो चलचित्रले उठान गरेका अहम् प्रश्न मानवीय अस्तित्वमा आफ्नो सोच अभिव्यक्त गरेका बर्नाड विलियम्सजस्ता दार्शनिकहरूले भन्दा पनि गहन देखिन्छ । आफ्नो निजत्ववाट सिर्जनाको सुरुआत हुन्छ भन्ने मान्यतामा निर्देशक आर्सोन वेल्स पनि उत्तिकै अडिग थिए । वेल्सका अनुसार, अर्काको सिर्जनामा निर्भर हुनेभन्दा पनि कुनै पनि वस्तुलाई हेर्न सक्ने आत्मदृष्टिले नै सिर्जनात्मक अन्वेषणमा सहयोग पुर्‍याउँछ । निर्देशकमा निहित आत्मदृष्टिलाई चलचित्रसम्बन्धी विश्व दृष्टिकोणले वैचारिक र कलात्मक मन्थन गरेपछि मात्र कालजयी चलचित्र जन्म हुन पुग्छ । कालजयी चलचित्र निर्माण हुने प्रक्रियामा निर्देशक बाँचेको वस्तुगत परिवेशहरूले पनि निर्देशकीय निजत्वलाई उत्तिकै प्रभावित बनाउँछ । निजत्वको उजागर गर्न चलचित्र निर्देशकमा समाज संस्कृति र राजनीतिको भरपूर ज्ञान, दार्शनिक र कलात्मक चेतना र प्रेमील उत्प्रेणाहरूको यथेष्ट आवश्यकता हुन्छ । जापानी निर्देशक अकिरा कुरुसोभाको १९५० को चलचित्र ‘रसोमोन’ होस् वा उडी एलनको १९८९ को चलचित्र ‘टुर डे फोर्स’ कै सन्दर्भ होस्, यस्ता चलचित्रहरूमा निहित दार्शनिक पक्षको आत्मसात् नगरीकन यस्ता चलचित्रहरूको कथावाचनको शैली मनन गर्न सकिँदैन । तसर्थ, चलचित्र निर्देशक एक यस्तो सर्जक हो, जसले कथावाचन र कल्पनाशीलताको शक्तिले जीवन, जगत् र प्रकृतिका अनगिन्ती आयामलाई नवीन र कलात्मक दृष्टिकोणबाट अनुभूति गर्न सक्ने मौका प्रदान गर्छ । निर्देशकले आफ्नो मन मस्तिष्कलाई आनन्द दिने चलचित्र सिर्जना गरेर दर्शकहरूलाई आफूले महसुस गरेको कलात्मक आनन्दको अनुभूत गराउन सकिन्छ भन्ने धारणा निर्देशक सत्यजित रेको पनि थियो ।

कठिन मिहिनेत र कलात्मक अन्तरसंघर्षवाट सिर्जना भएका संवेदनशील चलचित्रहरू मानविय सभ्यताको प्रतिनिधित्व गर्ने सशक्त माध्यम हुन् । कुनै पनि समाजमा निहित मानवीय संवेदनाको निर्देशकीय सोचले कुँदेर कलात्मक तरिकाले श्रव्यदृश्य माध्यममा अभिव्यक्ति गर्न सकिने एक साझा थलो चलचित्रका पर्दा नै हुन् । वर्तमानका विसंगतिहरूलाई नयाँ शिराबाट प्रश्न गर्दै समाजमा प्रेम र करुणाको माध्यमबाट ज्ञान, पुनरमिलन न्यायपूर्ण शक्ति आर्जनका लागि उत्प्रेरणा दिन सक्ने सामर्थ्य चलचित्र निर्देशकमा हुनुपर्छ । तर यथार्थमा मानवीय भावनाहरूको उजागर गर्नेभन्दा पनि नाफा कमाउन र स्वार्थसिद्धिका लागि बनाइएका कमसल श्रव्यदृश्य सामग्रीहरूको प्रभावले आम जनजीवन आक्रान्त हुँदै गएको देखिन्छ । यस अवस्थामा सिर्जनशील निर्देशकले नै चलचित्र मार्फत मानवीय अस्तित्व प्रविधिको दास मात्र नभई विचार, भावना र कलाले बनेको समष्टि हो भन्ने सत्यको उजागर गराउन सक्छ । त्यस्तै, आँखाले देखिने दृश्यहरू मात्र नभई मानवसँग निहित अन्य चक्षुहरू पनि जीवन, जगत् र प्रकृतिको महत्त्व चलचित्र मार्फत समाजलाई अनुभूत गराउन सक्छ । भावनात्मक रूपले संवेदनशील र कलात्मक रूपले बेजोड चलचित्रहरूले नै हरेक समाजभित्रको अन्धकार र असहनशीलतालाई पहिचान गर्दै सामाजिक सद्भाव र सहअस्तित्वको भावनालाई फैलाउने जमर्को गर्न सक्छ । तसर्थ, चलचित्र चेत नै निर्देशकीय चेतको प्रतिफल भएको हुनाले युगचेतनाको मनन गरेर आफ्नो अस्तित्वको खोजी गर्नु नै सिर्जनशील निर्देशकहरूको काँधमा वर्तमान समयले गहन कलात्मक अभिभारा र वैचारिक चुनौती सुम्पिएको छ। कान्तिपुर दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: