Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सत्तामा पुगेपछि कम्युनिष्टहरु राजा महाराजा बने– प्रचण्ड (कम्युनिष्ट आन्दोलनको चिरफारबारे विशेष सामग्री)

प्रचण्डले गरे कम्युनिष्ट आन्दोलनको चिरफार– कम्युनिष्टका नेता नै राजा महाराजा हुन थालेको टिप्पणी
२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना एउटा ऐतिहासिक परिघटना थियो । नेपाली समाजलाई यो बिन्दुमा ल्याइ पुर्याउन माक्र्सवादी दर्शन र वर्ग संघर्षको मुख्य भूमिका रहेको छ ।

अहिले संघर्षका धेरै तीतामीठा, त्याग तपस्या र बलिदानका श्रंखला पार गरेर देशको नेतृत् वगर्ने देशको सबैभन्दा ठूलो पार्टी लोकप्रिय मत सहित देशलाई समृद्धितिर नेपालीलाई सुखी र खुशी दिने अभियानको नेतृत्व गर्दै छौं । यो आफैमा एउटा परिघटना हो । एउटा परिघटनाहरु निश्चित परिस्थिति र शक्ति सन्तुलनको अवस्थामा देखा पर्ने गर्दछन् ।

नेपालका कम्यु्निष्ट पार्टीको स्थापना हुँदा विश्वमा नै दर्शन र राजनीतिको क्षेत्रमा ठूला बहसका साथै बर्ग संघर्ष भएका थिए । त्यतिखेर सोभियत रुसमा समाजवादी अभ्यासको शुरुआत भएको थियो । त्यो पहिलो विश्वयुद्दको समय थियो । दोश्रो विश्वयुद्दसँगै फेरी नयाँ वर्ग संघर्षहरु चलेका थिए । यही बेला नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भयो । रुसमा समाजवादको पुनर्निमाणको महाअभियान चलिरहेको बेला चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर चीन समाजवादमा प्रवेश गरेको थियो । रुसमा समाजवादी क्रान्ति हुँदाको परिस्थिति र चीनमा नयाँ जनवादी क्रान्ति हुने परिस्थिति फरक थियो ।

नेपालमा पनि कम्युनिष्ट पार्टीको स्थापना हुँदा पुष्पलाल लगायतले चिनियाँ मोडेलमा जाने मान्यता विकास गरे । भारतमा पनि तेलांगानालगायतका कतिपय क्षेत्रमा ठूला वर्ग संघर्ष चलेका थिए ।

क्रान्ति अगाडि बढेको बेला कहाँ त्रुटी भयो भन्ने कुराको ठूलो समीक्षा आवश्यक थियो । जस्तो भारतमा तेलंगानमा किसान आन्दोलन चलेको बेला विश्वमा समाजवादी आन्दोलन संगठित रुपमा अघि बढाउने प्रयास थियो । त्यतिबेला अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन केन्द्रमा र स्टालिनको नेतृत्व विश्वभरी नै मान्य भएको अवस्थामा थियो । तर दोश्रो विश्वयुद्द चलिरहेको बेला हिटलरमाथि विजय हासिल गरिसकेपछि अमेरिका, बेलायत र सोभियत संघको मोर्चा बनेको थियो । भारतमा लामो समयदेखि बेलायतको साम्राज्य थियो । भारतका कम्युनिष्टलाई स्टालिनले ब्रिटिशसँग सम्झौत ागर्ने, द्वन्द्वमा नजाने सन्देश दिएपछि स्टालिनले तेलांगानामा आन्दोलनलाई सम्झौतामा टुंग्याउनु पर्छ र नेहरुसँग मिलेर जानुपर्छ भनेपछि त्यो विद्रोह रोकियो । यदि त्यो किसान विद्रोहलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले साथ दिएको भए विश्वको परिस्थिति फरक हुन्थ्यो । भारतको जनवादी क्रान्ति र अंग्रेजविरुद्धको क्रान्ति कम्युनिष्ट पार्टीको नेतृत्वमा अंग्रेजबिरुद्धको आन्दोलन सफल भएको भए विश्वमा नै समाजवादी क्रान्ति र कम्युनिष्ट आन्दोलन निकै फरकरुपमा देखा पथ्र्यो ।

यो प्रसंग किन जोडन खोजेको हो भने नेपालमा सामन्तवाद र राजतन्त्रका विरुद्ध पूँजिवादको विकासका लागि या समाजवादको आधार तयार पार्नका लागि जनताले हामीलाई किन भरोसा गरे ? जनताका किन लोकप्रियता बढ्यो भन्दा भारतले दोश्रो विश्वयुद्दका बेला गरेको गल्ती हामीले दोहारिन दिएनौं ।
यो निकै ठूलो प्रश्न छ । हामीले सामन्तवादको विरुद्दको लडाईमा, राजतन्त्रविरुद्दको लडाईमा स्वतन्त्रतापूर्वक पहलकदमी लियौं । त्यसमा हामीले यो बुर्जवाको क्रान्ति हो, बुर्जुवाको पछि हामी लाग्नुपर्छ भन्ने मान्यता राखेनौं । भारतमा जस्तो ब्रिटिश साम्राज्यवादसँग सम्झौता गर्दैनौं र स्वतन्त्रता आन्दोलनको नेतृत्व नेहरुहरुलाई सुम्पिने गल्ती गरेनौं । हामीले सक्रिय र त्याग, तपस्या र बलिदानका साथ सामन्तवादविरुद्दको सशस्त्र र शान्तिपूर्ण संघर्ष गर्यौं ।

यो आन्दोलनको नेताको रुपमा, सामन्तवादविरुद्द कम्युनिष्ट पार्टी र नेताहरु स्थापित भए । यो हामीले गरेको एकदमै मौलिक र सिर्जनशील प्रयोग थियो । यसको अर्थ र महत्वलाई गहिरोसँग आत्मसात गर्न अनुरोध छ ।
यदि हामीले त्यसो नगरेको भए यहाँ पनि बुर्जुवा नै आन्दोलनके नेताको रुपमा देखिने हुन्थ्यो र हामी समाजवाद तर्फ अघि बढने कुरा कल्पना गर्न सक्दैनथ्यौं । हामीले जे जे कुरा आधारभूत अधिकारका रुपमा संविधानमा लिपिबद्ध गर्न सक्यौं, त्यो सम्भव थिएन । संविधानमा बुर्जवाहरुको मात्रै कुरा हुन्थ्यो ।
यसअर्थमा हामीले यसमा गर्व गर्न सकिन्छ ।

कम्युनिष्ट आन्दोलनमा जहिले पनि दुईवटा गलत विचार र प्रवृत्तिका कारणले ठूलो क्षति विश्वभरी आएको छ । एउटा प्रवृत्ति माक्र्सवाद, लेनिनवादलाई यान्त्रिक ढकोसलाका रुपमा बुझ्ने र त्यसमा जे छ, अक्षरस त्यसको पालना गर्ने । त्यो एउटा मार्गदर्शक हो र शक्ति सन्तुलनका आधारमा देशको परिस्थितिका आधारमा, प्रकृति र मानव समाजका घटनालाई नबुझने अनि माक्र्सवादलाई धर्मशास्त्रका रुपमा लिने प्रवृत्ति छ । रुस या चीनमा भएका क्रान्तिलाई महान काम भयो भन्ने तर आफ्नो देशमा कुनै प्रयोग नगर्ने संकीर्ण घेरामा विकास भएको जडसूत्रवादी धारा छ ।

अर्को अनुभववादी धारा छ । यसलाई संशोधनवादी अवसरवादी धारा पनि छ । यसको विशेषता भनेको वर्ग समन्वय गर्ने, आन्दोलन, संघर्षलाई गतिदिने भन्दा सुधारमा मात्रै ध्यान दिने । माक्र्सवादले मात्राबाट गुणमा परिवर्तनको सम्बन्ध, रुप र सारको सम्बन्धको बारेमा जे बताएको छ, यो धाराले यो गुणात्मक परिवर्तनलाई अस्वीकार गर्दछ । क्रान्तिलाई अस्वीकार गर्दछ । प्रकृतिमा पनि कहिलेकाहिं अचानक ठूला ठूला घटना हुन्छन, देख्दा एक्कासी लागेपनि त्यो निकै ठूलो आन्तरिक मात्रात्मक संघर्षको परिणाम हो भन्ने विज्ञानले समेत पुष्टि गरेको छ । मानव समाज पनि त्यही हो । यहाँ पनि विचार, राजनीति, दर्शन, संस्कृतिमा भित्रभित्रै बहस चलेको हुन्छ, मात्रात्मक परिवर्तन भइरहेको हुन्छ र समाज एउटा बिन्दूमा गुणात्मक रुपान्तरण हुन्छ । तर यो प्रवृत्तिले मात्राबाट मात्रा र मात्राबाट मात्रा मात्र सोच्छ । यसले पनि समाज र क्रान्तिलाई ठूलो क्षति पुर्याउने गर्दछ ।

अहिले हामी नेपाल कम्युनिष्ट पार्टीले आत्मविश्वासका साथ जडसूत्रवादका विरुद्ध पनि संघर्ष गर्यौं र संशोधनवादका विरुद्द पनि संघर्ष गर्यौं । हामीले माक्र्सवादको मूल तत्वलाई बुझ्ने कोशिस गर्यौं । अन्तर्राष्टिय, क्षेत्रीय र देशको अवस्था र नयाँ शक्ति सन्तुलनलाई जस्तो छ, त्यस्तै बुझ्ने कोशिस गर्यौं । जसको कारणले हामी आजका मितिसम्म आन्दोलनको नेता र नेतृत्वको रुपमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्न सफल भयौं ।

हामी कम्युनिष्टहरुको विशेषता के छ भने सत्तामा नपुग्दा सम्म समाजको निम्ति, वर्गको निम्ति, जनताको निम्ति माक्र्सवादका निम्ति धेरै दुख, त्याग तपस्या गर्ने । यहाँसम्म कम्युनिष्ट एकदम ठीक छ । तर सत्तामा पुगिसकेपछि त्यो सबैकुरा बिस्तारै बिर्सिंदै जाने । जनताको चाहना के हो, राष्ट्रको चाहना के हो, त्यसका लागि हामील्े गर्नुपर्ने मेहनत के हो ? हामीले लिनुपर्ने कार्यशैली के हो भन्ने कुरामा बिस्तारै बिस्तारै बुर्जवा वर्ग हुँदै जाने । अनि आफैले गरेको त्याग, तपस्या र बलिदानको महत्वलाई अबमूल्यन गर्दै जाने ।
यो कुरामा बुर्जुवाहरु एकदमै सिपालु छन, कम्युनिष्टहरुलाई लडाईंमा त जित्न सकिंदैन, यो कुरा संसारभरीका समाजवादी क्रान्तिमा देखियो । तर उनीहरु सत्तामा गइसकेपछि कम्ष्टिनलाई विकृत पार्ने, बुर्जुवा बनाईदिने र एउटा गोली पनि नचलाईकन ढलाइदिने । एउटा गोली खर्च नगरीकन आफ्नै पुँजिवादी कित्तामा लगिदिने कुरामा बुर्जुवाहरु एकदमै सिपालु रहेछन् । पूर्वी यूरोपमा कुनै विदेशी हस्तक्षेप भएर या कम्युनिष्टहरुविरुद्द सशस्त्र संघर्ष भएर समाजवाद ढलेको होइन । कम्युनिष्ट नेताहरु नै राजा महाराजाहरु जस्तो हुँदै गएपछि राजा महाराजविरुद्द लडेका जनताहरु कम्युनिष्ट नै राजा महाराजा जस्तो बन्न थालेपछि वितृष्णा हुने अवस्था रहेको छ ।

यो अवस्था हामीकहाँ पनि देखियो । अहिले लक्षण चाहिँ त्यही देखिएको छ । अहिले पार्टीमा चलेको बहस पनि यही हो । यो कम्युनिष्ट पार्टी एकतापछि ठूलो भएको छ, जनताले म्याण्डेट पनि दिएका छन् । जनताले आशा अपेक्षा गरेका छन् , हामी यस्तो परिस्थितिलाई नेपालमा दोहारिन नदिने बरु त्यसबाट पाठ सिकेर कम्युनिष्ट आन्दोलनमा जनताको पक्षमा निरन्तर वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक बहस पार्टीमा छ ।

हिजो हामी निकै अनुशासित थियौं, त्यही भएर यहाँ आइपुगेका हौं । तर अहिले हेर्नुस त, जसलाई जे मन लाग्यो बोल्ने, संगठन र पार्टीलाई वेवास्त ागर्ने ? हामीले हिजो आएको सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी भन्ने हुन्थ्यो, अहिले त्यो उल्टिएको छ । व्यक्तिगत निर्णय जिम्मेवारी समूहको भन्ने भएको छ । यसलाई सुधार गर्ने जिम्मेवारी तपाई हाम्रो काँधमा छ । अहिले यो प्रवृत्तिलाई परास्त गरेर मनोगतवादका विरुद्ध बस्तुगत पक्ष हावी गर्नु जरुरी छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विकास कसरी भयो र यो विज्ञानलाई स्थापित गर्न प्रगतिशील इन्जिनियरहरुको ठूलो भूमिका छ । यसो गर्न सकिएन भने प्रतिगमनलाई परास्त गर्न सकिन्न ।

एकता प्रक्रिया टुंग्याएका छौं । आउने दिनमा हाम्रो समाजलाई समाजवादतिर उन्मुख गराउने र पार्टीलाई लोकप्रिय बनाउन सबैको योगदान जरुरी छ ।

(प्रोग्रेसिभ इन्जिनियरको कार्यक्रममा व्यक्त मन्तव्यको सम्पादित अ‌श)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: