Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सामाजिक सञ्जालले बहकाएको नेपाली समाज– चैतन्य मिश्र

काठमाडौंः  टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पूर्वसहकर्मीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउ परेपछि उनको समर्थनमा देशका विभिन्न ठाउँमा नारा जुलुसका साथ प्रदर्शन भएका छन् ।

उनलाई सोधपुछका लागि लागिएको चितवनमा त प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था समत आइलाग्यो ।

रवि लामिछाने सामाजिक संजालमा गत एक हप्ता देखि ट्रेन्डिङ भैराखेको नाम हो । उनकै नाम भजाएर थुप्रै युट्युब च्यानलले व्यापार समेत गरेको बताइन्छ ।

सामाजिक सञ्जालमा पनि उनको पक्षमा वकालत गर्नेहरू निकै देखिन्छन् भने उनको विरुद्ध बोल्ने या सम्यक अभिव्यक्ति दिने प्रति सामाजिक संजालमा आक्रामक प्रतिक्रिया देखा पर्न थालेको छ ।

प्रहरीले भने लामिछानेलाई कानुन अनुसार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ।

अनुसन्धानका लागि कानुन अनुसार नै प्रहरीले नियन्त्रणमा लिँदा पनि किन धेरै मानिसहरू उनको पक्षमा उत्रिरहेका छन् भन्ने कुरा नेपाली समाजका लागि एउटा अध्ययनको विषय हुनसक्ने कतिपयको तर्क छ।

बिबिसी नेपालि सेवाले यसै सन्दर्भमा समाजशास्त्री चैतन्य मिश्रसँग गरेको कुराकानी हामीले सान्दर्भि लागेर यहाँ साभार गररेका छौं । प्रस्तुर छ बीबीसी न्यूज नेपालीकाविष्णु पोखरेलले गरेको कुराकानीमा आधारित उनको विचार:

सामाजिक सञ्जालको युग

अहिले रवि लामिछानेको कुरा आयो तर यस्ता घटनाहरू पछिल्लो समयमा बढिरहेका छन्।

यो नेपालको मात्र प्रवृत्ति होइन, संसारभरकै हो। यसमा सबैभन्दा ठूलो भूमिका सामाजिक सञ्जालले खेलेको छ।

मान्छेले गरेका राम्रो वा नराम्रो कामबारे पहिले पनि कानेखुसी हुन्थ्यो। साथीभाइबीच चर्चा हुन्थ्यो। तर त्यसको घेरा सीमित थियो। थोरै मान्छे र सानो क्षेत्रमा मात्र त्यस्तो कुरा फैलन्थ्यो।

अहिलेको सामाजिक सञ्जाल भनेको लाखौँ मान्छेहरूबीचको कानेखुसी जस्तै हो। पहिले त त्यस्ता कानेखुसी कतिपयले आजको भोलि बिर्सने गर्थे।

अहिले त्यस्तो अवस्था छैन। सामाजिक सञ्जालमा राखिएका र प्रसार भएका विचारहरू वर्षौसम्म रहिरहने भए।

त्यसले मानिसहरूले चाँडै कुनै कुराहरू बिर्सदैनन्। सामाजिक सञ्जालबाट हुने प्रचारप्रसारको दायरा पनि व्यापक हुने भयो।

जहाँ पनि राम्रोभन्दा नराम्रो कुराहरू चाँडै प्रसार हुने गर्छ। कतिपय राम्रा कुरा पनि होलान् तर सामाजिक सञ्जालमा धेरै नराम्रा कुराकै फैलावट बढी रहेको देखिन्छ।

र, यो हाम्रोमा मात्र पनि होइन। नेपाल गरिब भएर वा मानिसहरू निराश भएर यस्तो भएको पनि होइन।

विश्वव्यापी प्रवृत्ति

यो मामिलामा हामी कुनै पनि हिसाबले विशिष्ट होइनौँ। संसारभर नै अहिले यस्तैखाले प्रवृत्ति व्यापक भइरहेको छ।

अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्पको विजयदेखि युरोपमा आप्रवासीप्रति गरिने व्यवहारसम्ममा यस्तै प्रचारहरूको भूमिका देखिएको छ।

अहिले सांस्कृतिक र जातीय लडाइका कुरा हुन थालेका छन्। कतिपय गोराहरूले आप्रवासीहरूलाई दानव वा मानिसै होइनन् भन्ने खाले व्यवहार गरेको समेत पाइएको छ।

त्यसमा सामाजिक सञ्जालबाट हुने दुष्प्रचारको भूमिका रहेको देखिन्छ।

त्यसैले नेपालमा अहिले जसरी केही मान्छेहरूको पछाडि धेरै मानिस किन लागे भन्ने बुझ्न एउटा तत्वलाई मात्र हेरेर हुँदैन।

कतिपयले नेपालमा मानिसहरूले नायकको खोजी गरेका हुन् कि भन्ने पनि गरेका छन्।

तर त्यत्ति मात्र भनियो भने त्यो गलत हुनजान्छ। मानिसहरूले त प्रणाली खोजेका हुन्। सही ढङ्गले संस्थापनले जनतालाई आफूसँग अनुबन्धित गर्न नसक्नु मुख्य कारण हो।

षडयन्त्रमा विश्वास

मानिसहरूले रहस्य वा षडयन्त्र छ भन्ने कुराहरूमा बढी विश्वास गर्छन्।

त्यसैले कतिपयले त्यस्ता कुराहरू फैलाउँछन्। किनकि कसैलाई आरोप लगाउन प्रमाण आवश्यक पर्दैन।

अनि त्यस्तो आरोपित मान्छे कमजोर हुनसक्छ। कमजोर पात्र खोजेर आरोपित गर्ने चलन पनि हुन्छ।

जो यस्ता कुराहरूको पछि लाग्छन्, उनीहरूले त्यसबारे यथार्थ कम बुझेका हुन्छन्।

नेपालमा मात्र होइन संसारभर नै समाजको दायरा बढेको छ। साथसाथै त्यसले मानिसहरूलाई नजिकबाट चिन्ने जमात घट्दै गएको छ।

नेपालकै कुरा गर्दा पनि पहिले मानिसहरू आफ्नै थातथलोमा जन्मिन्थे, हुर्कन्थे र जीवनको अन्तिम समय पनि त्यो स्थानमै गुजार्थे।

त्यसले गर्दा को मान्छे कस्तो हो सबैलाई थाहा हुन्थ्यो। पुस्तौँपुस्तादेखि एकआपसमा जोडिएका हुन्थे।

आजको परिवर्तन

कुनै व्यक्तिको बारेमा राम्रो वा नराम्रो भने पनि मानिसहरूले सहजै विश्वास गर्दैन थिए।

किनकी उनीहरूलाई हामीले पुस्तौँदेखि चिनेको मान्छेले यस्तो गर्‍यो होला त भन्ने हुन्थ्यो। मानिसहरू हल्लाका पछि लाग्दैन थिए।

अहिले लामिछानेकै उदाहरण हेर्ने हो भने पनि जसले उनलाई समर्थन गरेर जुलुस नै निकाले, त्यसमा उनलाई नजिकबाट चिन्ने मान्छे एकदमै थोरै छन्।

उनी कुनै टेलिभिजनमा प्रकट भए र लोकप्रिय भए। तर उनको सामाजिक सम्बन्धको दायरा कसैलाई थाहा छैन।

उनी कुन पृष्ठभूमिबाट आए वा कसका छोरा हुन् वा विगत कस्तो थियो भन्ने मानिसहरूलाई थाहा छैन। अझ उनको वर्तमानका धेरै कुराहरू पनि धेरैलाई थाहा छैन।

तर टेलिभिजनमा देखेको भरमा मानिसहरू अहिले पक्ष र विपक्षमा छन्।

राज्य कमजोर हुनुको परिणाम

त्यसमा सामाजिक सञ्जालको प्रयोग धेरै भएको छ। र, यस्तो अवस्था संसारभर नै छ।

अहिले यस्तो अवस्था आउनुमा राज्य व्यवस्था र सरकार कमजोर हुनुको पनि दोष छ।

तर त्यो मात्रै कारण हो भन्नु चाहिँ ठिक होइन।

त्यस्तो त जहिले पनि हुने गरेको थियो। माओवादी सशस्त्र द्वन्द्वकै कुरा गर्ने हो भने त्यसबेला पनि त मान्छेहरूमा राज्य संयन्त्रमाथि विश्वास उडेको थियो।

माओवादीले पनि त जनसरकार र जनअदालत गठन गर्दै जनकारबाही गरेकै हो।

कतिपय मानिसहरू उनीहरूका त्यस्ता संयन्त्रमा न्याय माग्न भन्दै पुगेकै हुन्।

तर त्यसमा राज्य वा सरकारको अकर्मण्यता मात्र कारण होइन।

कतिपयले त्यसबाट आर्थिक फाइदा लिने काम पनि गरे भने केहीले अन्य फाइदा पनि लिए।

अहिले सामाजिक सञ्जालले त्यस्तो दायरा थप फराकिलो पारिदियो।

त्यसैले अहिले पनि त्यस्ता समूह र व्यक्तिहरू सक्रिय भएका हुनसक्छन्।

कसैलाई यस्तै विषयहरू उचालेर नाम कमाउनु होला, कसैलाई पैसा। हरेक घटनाहरूमा यस्तो प्रवृत्ति हुने गर्छ।

समाधान के त?

यस्ता गतिविधिले समाज सार्थक र तार्किक बहसतर्फ जाँदैन। किनकि यो भनेको भावनामा बग्ने काम हो।

भावनाका अगाडि तर्क र तथ्यहरू कमजोर बनेका हुन्छन्। त्यसैले सबैभन्दा पहिले हामीले तथ्यका आधारमा तार्किक भएर सोच्नु जरुरी छ।

यो सरकार वा राज्यले मात्र गरेर हुने काम पनि होइन। हरेक तहमा यसबारे छलफल हुनु जरुरी छ।

हाम्रोमा छलफल गर्ने चलन नै घटेको छ। त्यसलाई सुधार गर्न सके यस्ता कुराहरूमा कमी आउँछन्।

रवि लामिछानेकै कुरालाई लिएर पनि समाजमा बहस हुनुपर्छ।

सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक कुराहरूलाई लिएर पनि गाउँ तहदेखि केन्द्र तहसम्म छलफल हुनुपर्छ।

यस्ता छलफलहरू परिवारदेखि सुरु गरेर टोल, वडा, विद्यालय र स्वास्थ्य केन्द्र सबैतिर हुनुपर्छ।

त्यसैका आधारमा सामूहिक निचोड निकाल्नु पर्छ। त्यसरी पर्गेल्न सकिएन भने हल्लाहरू सत्य जसरी फैलिन थाल्छन्।

त्यसलाई कम गर्दै समाजलाई तार्किक बनाउनु हामी सबैको दायित्व हो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: