‘मार्क्सवादलाई अक्षरशः पालना गर्नेभन्दा मार्गदर्शन बनाउनुपर्छ’

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मार्क्सवादलाई अक्षरशः पालना गर्ने भन्दा पनि मार्गदर्शन सिद्धान्तका रूपमा लिनुपर्ने बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘‘एउटा प्रवृति मार्क्सवाद, लेनिनवाद, या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई एउटा धर्मशास्त्रको रुपमा बुझ्ने र त्यसमा जे लेखेको छ अक्षरशः पालना भन्दा पनि मार्गदर्शन बनाउनुपर्ने पर्छ ।’ प्रचण्डले भने ।

उनले पार्टी एकतामा केही ढिला भएपनि लगभग सबै प्रक्रिया टुंगिएको बताए । कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै त छैन भन्दै प्रश्न गर्दै भने, ‘कम्युनिष्टहरुमा बैचारिक विचलन आएको छ । सामूहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रीत भएको महशुस भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ । ’

अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भएपनि सत्तामा पुगेपछि त्यसलाई विर्सदै जाने प्रवृति आएको भन्दै राष्ट्र र जनताको चाहाना के हो? कार्यशैली के हुने हो? भन्ने बिर्सेर विस्तारै–विस्तारै वुर्जुवा शैलीतर्फ जान थालेकोप्रति आफूलाई चिन्ता लागेको बताए ।

सोभियत संघ लगायतमा कम्युनिस्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उनले बुर्जवाहरुले कम्युजिस्टहरुसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने गरेको उदाहरण रहेको बताए । उनले अगाडि भने, ‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिस्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।’

कमेन्ट गर्नुहोस्