परीक्षा विशेषः विकास र समृद्धिमा कृषि विकास बैंकको भूमिका के छ ?

ध्रुबप्रसाद न्यौपाने
राष्ट्रको आर्थिक विकास कृषिमै आधारित भएको हुँदा कृषि विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक हित र सुविधा कायम गर्न, कृषि क्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पुँजी तथा ऋण उपलब्ध गराउने उद्देश्य लिई सहकारी ऐन २०१९ अनुसार २०२०मा स्थापित सहकारी बैंकलाई समेत एकै ठाउँमा ल्याई २०२४ साल माघ ७ गते कृषि विकास बैंकको स्थापना भएको थियो । २०३० सालमा भूमिसुधार बचत संस्थानलाई पनि यस बैंकमा गाभी एकद्वार प्रणालीबाट देशको ग्रामीण क्षेत्रमा व्यक्ति तथा संस्थागत कर्जा उपलब्ध गराउने एक मात्र कृषि विकास बैंक रहेको थियो । सन् १९७५मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) तथा खाद्य कृषि संगठन (एफएओ)ले एसियाका नौवटा देशहरु बंगलादेश, भारत, इन्डोनेसिया, लाओस, नेपाल, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका र थाइल्याण्डमा सर्वेक्षण गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने आर्थिक अवस्था कमजोर र सुविधाबाट वञ्चित गरिबीको रेखामुनि रहेका साना मोही, कृषि श्रमिकहरुको लागि उनीहरुको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउन विशेष कार्यक्रम सञ्चालन गर्न पाँचवटा सुझाव दिएको थियो । उक्त सुझावअनुसार तीनवटा देशहरु नेपाल, बंगलादेश र फिलिपिन्समा कार्य अनुसन्धान आयोजनाको रुपमा यो कार्यक्रमले मूर्त रुप लिनपुगेको हो ।

देशमा गरिबीको रेखामुनि रहेका अतिदुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिबीबाट पिल्सिएका ग्रामीण जनताहरुको आर्थिक तथा सामाजिक विकासका लागि २०३२ सालमा दुईवटा साना किसान विकास आयोजनाबाट सुरु भएको यो कार्यक्रम २०५३÷०५४मा आइपुग्दा ७५ जिल्लाको छ सय ५२ गाविसमा चार सय २२ वटा साना किसान विकास आयोजना विस्तार भई दुई लाख १० हजारभन्दा बढी विपन्न परिवारलाई छ अर्ब ४९ करोड कर्जा लगानी गरी देशको गरिबीको रेखामुनि रहेका सीमान्तकृत जनताहरुको शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक अवस्थामा सुधार ल्याई उनीहरुको जीवनस्तर माथि उठाउन गरेको योगदानले कृषि विकास बैंक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो विशेष पहिचान कायम गर्न सफल हुनुका साथै सन् २००३मा विश्वका विभिन्न देशहरुबाट ग्रामीण क्षेत्रको विकासको लागि योगदान पु¥याउने देशहरुका बीचमा प्रतिस्पर्धा हुँदा नेपालमा सञ्चालित साना किसान विकास कार्यक्रम सर्वोत्कृष्ट मोडेलको रुपमा छनोट भई ५० हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुन समेत सफल भएको थियो ।

बैंकले आवश्यकताअनुरुप आयोजना विस्तार गरी सञ्चालन गर्न यसको प्रक्रिया पद्धति र खर्चको दृष्टिकोणबाट त्यति सम्भव नदेखिएको र दातृनिकायबाट दिँदै आएको आर्थिक तथा प्राविधिक सहयोगहरुमा समेत क्रमिक रुपमा कटौती हुँदै गएको तथा देशमा २०४६ सालको राजनीतिक परिवर्तनपछि खुलेका बैंक तथा वित्तिय संस्थाहरु र आउने क्रम पनि तीव्र रुपमा बढ्ने अवस्थालाई ध्यानमा राखी समयानुकूल आपूmलाई पनि परिवर्तन गरी नाफा कमाउनुपर्ने चुनौतीलाई मध्यनजर गर्दै आ.व. २०५१÷०५२बाट साना किसान विकास आयोजनाहरुलाई जर्मन सरकार जीटीजेडमार्फत आर्थिक तथा प्राविधिक सहयोगमा चरणबद्ध रुपमा साना किसानमा आबद्ध साना किसान (समूह सदस्य) हरुलाई आवश्यक सीप, ज्ञान प्रदान गरेर व्यवस्थापकीय क्षमतामा वृद्धि गरी साना किसानहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि उनीहरु नै संलग्न रहेको, उनीहरुबाटै सञ्चालन गरिने स्वायत्त संस्थाको संस्थागत विकास गराई उनीहरुलाई नै व्यवस्थापन हस्तान्तरण गर्ने नीतिअनुसार २०५६÷०५७ बाट साना किसान विकास आयोजनाको व्यवस्थापन साना किसान सहकारी संस्थाहरुलाई हस्तान्तरण गर्ने कार्य सुरु भई आ.व. २०६५÷०६६ सम्ममा दुई सय २८ वटा आयोजनाहरुको व्यवस्थापन हस्तान्तरण गरियो । उक्त साना किसान सहकारी संस्थाहरुलई यस बैंकको सक्रियतामा २०५८ असारमा स्थापित साना किसान विकास बैंक लि.मार्फत वित्तीय कारोबार लगायत अन्य सेवाहरु उपलब्ध गराउने व्यवस्था भएको छ ।

कृषि विकास बैंक कम्पनीमा रुपान्तरण भएपछि आ.व. २०६४÷०६५देखि बैंकले हासिल गरेको लघु उद्यमसम्बन्धी महत्वपूर्ण अनुभवलाई समयानुकूल सञ्चालन गर्न साना तथा लघु उद्यम विकास कर्जा कार्यक्रम अन्तर्गत साना तथा लघु उद्यम कर्जा कारोबारमा बैंकसँग सहकार्य गर्न सम्भाव्य वित्तीय रुपमा सक्षम विकास बैंक, वित्तीय संघ÷संस्थाहरुमार्फत गरिब र कम आय भएका साना तथा लघु उद्यमी व्यवसायीहरुको सीप, क्षमता र दक्षतामा अभिवृद्धि गराई सरल सुलभ ढंगबाट संस्थागत रुपमा छोटो समयमा आम्दानी दिने सानो आकारको कर्जा प्रदान गरी बैंकको ग्राहक संख्या बढाई स्वरोजगारको अवसर सिर्जना गर्ने र आयआर्जनमा वृद्धि गर्दै बैंकको कर्जा तिर्ने क्षमताको विकास गर्न साना तथा लघु उद्यम कर्जासम्बन्धी नीति ल्याई कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

नेपालको ग्रामीण तथा सहरी क्षेत्रमा बसोबास गर्ने निम्न तथा मध्यम वर्गका उद्यमी व्यवसायीहरुबाट साना तथा लघु उद्यम कर्जाको माग अत्यधिक रहेकोले साना तथा लघु उद्यम विकास कार्यक्रममा सहभागी उद्यमी, बैंक तथा वित्तीय संघ÷संस्थाहरुका कर्मचारी पदाधिकारी लगायत उद्यमीहरुलाई नेपाल सरकार तथा बैंकको आफ्नै स्रोतद्वारा केन्द्रीय तालिम प्रतिष्ठान र बैंकको पाँचवटा क्षेत्रीय तालिम केन्द्रहरुबाट उनीहरुको व्यवसाय प्रवद्र्धनसम्बन्धी सीप, दक्षता र क्षमतामा अभिवृद्धिसम्बन्धी तालिमहरु प्रदान गरी उद्यमशीलताको विकास गराई कर्जाको सुरक्षित तथा परियोजना सञ्चालन क्षमता बढाई साना लघु उद्यम कर्जालाई गुणस्तरीय, कम खर्चिलो, उद्यमी तथा बैंक दुवैको हितअनुकूल हुने गरी उद्यमी÷व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्न वित्तीय रुपमा सक्षम संघ÷संस्था, विकास बैंक तथा वित्तीय संस्थाहरुमार्फत संस्थागत थोककर्जा उपलब्ध गराई हाल लगानीमा रहिरहेको कर्जा तथा ग्राहक संख्यामा वृद्धि गर्ने ।

नेपाल सरकारको एक मात्र भरपर्दो र विश्वासिलो बैंक भएको कारण विगतदेखि साना किसान विकास कार्यक्रमसँग सम्बन्धित सामाजिक तथा सामुदायिक कार्यक्रमका लागि नेपाल सरकारबाट उपलब्ध गराउँदै आएको अनुदान रकमलाई हालसम्म निरन्तरता दिँदै आएकोले सो अनुदान रकमबाट छरिएर रहेका निम्न आयस्तरका कृषकहरुलाई एकै ठाउँमा ल्याई सामूहिक सहभागिताको भावना जगाई उनीहरुद्वारा नै स्थानीयस्तरको आवश्यकता पहिचान गरी जनसहभागिताबाट खानेपानी, बाटो, पुलपुलेसा निर्माण, मर्मत, सुलभ शौचालय, धूँवारहित चुलो तथा सार्वजनिक विद्यालय मर्मत निर्माणकार्यमा अनुदान रकमको पर्याप्त सदुपयोगबाट जनता र बैंकबीचको सुमधुर सम्बन्धलाई निरन्तरता दिँदै बैंकले यो कार्यक्रमलाई अगाडि बढाइरहेको छ । कार्यक्रमको सुरुवातदेखि नै सामाजिक तथा सामुदायिक कार्यक्रमहरु साना किसान विकास आयोजना तथा साना किसान सहकारी संस्थाहरुमार्फत सञ्चालन हुँदै आएकोमा बैंकसँग कारोबार गर्ने सहकारी संघ/संस्था स्थानीय क्लबहरुलाई पनि सो कार्यक्रममा समावेश गराई ग्राहकसंख्या वृद्धि गर्नुको साथै निक्षेप संकलन तथा अन्य कारोबारमा समेत वृद्धि ल्याउन यस कार्यक्रमलाई विस्तार गरी सबै क्षेत्रीय कार्यालयअन्तर्गतका कार्यालयहरुबाट उल्लिखित कार्यक्रमहरुलई लक्षित गरी कारोबार बढाउन सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्न क्षेत्रीय कार्यालयहरुलाई बजेट उपलब्ध गराउँदै आएको छ ।

सो कार्यक्रम महाकालीको दोधारा चाँदनीदेखि ताप्लेजुङसम्म विस्तार भई भूमिहीन किसानलाई २७ वटा रिक्सा वितरण, दुग्ध संकलन तथा बिक्री केन्द्र स्थापना, उन्नत जातको बोका वितरण, सामुदायिक भवन निर्माण, स्वास्थ्य शिविर सञ्चालन, महिलाहरुलाई सिलाइ कटाइ तालिम, पशुस्वास्थ्य शिविर सञ्चालन, शारीरिक अपांगता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण, प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीको तीन स्थानमा खानेपानी निर्माण, दाङ्ग घोराहीका महिला समूहद्वारा सञ्चालित अल्लो धागो उद्योगलाई कपडामा बुटा हाल्ने, कढाइ मेसिन (मोटरसहित) वितरण, कपिलेश्वरनाथ मन्दिर निर्माण, जनकपुरमा दुईवटा शौचालय र रामजानकी मन्दिरमा खानेपानी ट्यांकी निर्माण, धनुषा रामदैया गाविस मेडिकलचोक (ढल्केवर जनकपुर हाइवे)मा आरसीसी ढलानको यात्रु प्रतीक्षालय निर्माण, सिरहाको गोलबजार र सप्तरीको लहान पूmलबारी चोकमा यात्रु प्रतीक्षालय, हनुमाननगरमा मन्दिर निर्माण, जनकल्याण ताजा तरकारी कृषि समूह सुर्खेतमा पोखरी निर्माण पलाञ्चोक भगवती मन्दिर तथा दोलखा भीमेश्वर मन्दिर प्रतीक्षालय निर्माण, पासाङ्गल्हामु हेल्थपोष्ट निर्माण, पशुपति गौरीघाटमा चौतारी निर्माण, थापाथलीको माइतीघर मण्डलाको पुनर्निर्माण तथा सौन्दर्यीकरण, पृथ्वी राजमार्गको खैरेनीटार धारापानीमा खानेपानीको धारा निर्माण, मुक्तिनारायण उच्च मावि सिलगढी डोटीलाई फर्निचर र सूर्यचन्द्र उच्चमावि बैजनाथ अछाममा पुस्तकालयको भवन निर्माण तथा व्यवस्थापनको लागि सहयोग, लेटाङ्गमा सडक निर्माण, भगवती उच्च मावि चन्द्रनिगाहापुरको प्रांगणमा सरस्वतीको मन्दिर निर्माण, छतिवनमा प्रतीक्षालय निर्माण, दोधारा चाँदनी कन्चनपुरमा गोलघर निर्माण लगायतका कार्यक्रमहरुबाट लाखौं जनता प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । ती कार्यक्रमहरुबाट ग्रामीण क्षेत्रका जनताहरुमा सामाजिक तथा आर्थिक चेतनाको विकास हुन गई उनीहरुको जीवनस्तर माथि उठाउने कार्यमा कृषि विकास बैंक लि.को महत्वपूर्ण योगदान रहेको हुँदा ग्रामीण क्षेत्रका उद्यमी/व्यवसायी कृषकहरुले यस बैंकलाई दुःख सुखमा साथ दिने आफ्नै घर आँगनको बैंकको रुपमा लिएका छन् ।

साना किसान विकास आयोजना हस्तान्तरणपश्चात् पनि साना किसानहरुको सक्रियतामा सञ्चालित पशु बीमा कार्यक्रमअन्तर्गत किसानले तिर्नुपर्ने बीमाबापतको प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारबाट प्राप्त अनुदान उपलब्ध गराउँदै आइरहेकोमा २०६६÷०६७बाट व्यावसायिक रुपमा तरकारी तथा फलपूmल (केरा) खेती तथा पशुपालन गर्ने सहकारी संघसंस्था तथा कृषक समूहहरुलाई पनि पशुधन तथा बालीमा हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्दै कृषकहरुलाई तालिम तथा अन्तत्र्रिmया कार्यक्रममा सहभागी गराई उक्त व्यवसायतर्फ उत्प्रेरित गर्न बाली तथा पशुधन सुरक्षण (बीमा) कार्यक्रमअन्तर्गत अनुदान प्रदान गर्ने गरिएको छ । उक्त कार्यक्रमबाट महाकालीको कन्चनपुरदेखि ताप्लेजुङ्गसम्मका ५४ जिल्लाका तीन सयभन्दा बढी सहकारी संघ/संस्था कृषक समूहहरुमा आबद्ध कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
(लघुवित्त दर्पण २०७०को सम्पादित अंश)

कमेन्ट गर्नुहोस्