‘काल’ बन्दै रेबिज

काठमाडौं । रेबिजका कारण उपत्यकामा मात्र बर्सेनि कम्तीमा १७ जनाको ज्यान जाने गरेको छ। कुकुरको टोकाइबाट हुने रेबिजका कारण मृत्युदर घटाउने विषय चुनौती बनेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दिनहुँ डेढ सय व्यक्ति कुकुरको टोकाइविरुद्धको उपचार लिन जाने गरेका छन्। अस्पतालका प्रवक्ता डा। अनुप बाँस्तोला भन्छन्, ‘कहिलेकाहिँ त तीन सय पुग्छन। भ्याक्सिन लगाउन लाइन नै लाग्छ।’

रेबिज लागेपछि उपचार सम्भव हुँदैन। छाडा कुकुरले टोकेको केही घण्टाभित्रै एन्टिरेबिज भ्याक्सिन लगाउँदा अकालमा ज्यान जाँदैन। कुकुरले टोकेपछि हेलचेक्र्याईं गर्ने र भ्याक्सिन नलगाउँदा ज्यान गइरहेको डा। बास्तोला बताउँछन्।

काठमाडौं महानगरपालिकाको सबै वडामा पशु व्यवस्थापन समितिसँग समन्वय गरी बध्याकरण र रेबिज भ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको छ। अहिलेसम्म महानगरका २७ वटा वडामा ६ हजार ९ सय ३६ वटा कुकुरको बन्ध्याकरण गरिएको संयोजक गौतमले जानकारी दिए। बाँकी रहेका ५ वटा वडामा कुकुरको बन्ध्याकरण र भ्याक्सिन लगाउने योेजना रहेको छ। कार्यक्रम संयोजक संगीता सापकोटाका अनुसार हालसम्म ९ हजार ४ सय ६४ कुकुरले रेबिजविरुद्ध खोप लगाइएको छ।

कुकुर तथा अन्य जनावरको टोकाइबाट सर्ने रेबिज संक्रमणबाट जोगिन बर्सेनि तीस हजारको संख्यामा रेबिज प्रतिरोधि खोप आवश्यक पर्छ। इन्स्टिच्युटले सन् ०१५ मा गरिएको सर्भे अनुसार काठमाडौं महानगरमा मात्रै बन्ध्याकरण नभएका १४ हजार सामुदायिक कुकुर थिए। सामुदायिक र घरपालुवा गरी २१ हजार ८ सय ५६ थियो।

नेपालमा करिब ३० लाख कुकुर रहेको तथ्यांक छ। मुलुकभर कुकुरको टोकाइबाट झण्डै दुई सयको मृत्यु हुने गरेको छ। सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदर शुन्यमा पुर्याउने दीगो विकास लक्ष्य रहेको छ। शुक्रराज ट्रपिकल अस्पतालका डा। बास्तोला भन्छन,‘ लक्ष्य राखेर मात्र हुँदैन। वेवारिसे कुकुरको घनत्व र रेबिज संक्रमणलाई नियन्त्रण गर्न स्थानीय र केन्द्रीय तहबाट तथ्यांक संकलन गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ।’ यो समचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्