परिवारभित्रैका तीन सत्रु

आमा र बुवा यस्ता व्यक्ति हुन्, जसले आफ्नो सन्तान आफूभन्दा सफल भएको हेर्न चाहन्छ । आफुभन्दा खुसी भएको हेर्न चाहन्छ । आफूभन्दा प्रशिद्ध भएको हेर्न चाहन्छ ।

आमाबुवाले नै छोराछोरीका लागि सबै कुरा त्याग्छन् । त्यसैले त आमाबुवालाई देवता समान भन्ने गरिन्छ । भगवान शिवको पौराणिक कथामा पनि बुवाआमाको महिमालाई बुझाउँदै आमाबुवा संसारभन्दा महान् हुन् भनिएका छन् ।

कथाको सार यस्तो छ-
भगवान शिवले आफ्ना दुई पुत्र गणेश र कुमारको दक्षता र बुद्धी परीक्षण गर्ने हेतुले दुबैलाई एउटा प्रतिस्पर्धामा उतार्छन् । उनीहरुलाई भनिन्छ, कसले चाडै पृथ्वीको फन्को लगाउन सक्छ, उसैको बाजी जित्छ । कुमार आफ्नो वहानमा चढेर तुरुन्तै पृथ्वीको फन्को लगाउन थाल्छ । यता गणेश आफ्नो वहान मुसामा चढेर पृथ्वी फन्को लगाउन समर्थ हुँदैनन् । अन्ततः उनले आफ्नै माता पिताको फन्को लगाउँछन् । जित उसैको हुन्छ ।

धार्मिक हिसाबले जेसुकै भए पनि यो कथाले आमाबुवाको महत्वलाई दर्शाएको छ । छोराछोरीले सबैभन्दा श्रद्धा गर्न लायक पात्र भनेकै आमा र बुवा हुन् । तर, के तिनै आमाबुवा सन्तानका लागि सत्रु समान हुन्छन् ?

आचार्य चाणक्यले यस सम्बन्धमा केही कुरा बताएका छन् । आचार्य चाणक्य महान नीतिकार थिए । उनीसँग अथाह ज्ञानको भण्डार थियो । उनी अत्यन्तै समझदार र ज्ञानी थिए । कुटनीतिक क्षमतामा पनि उत्तिकै अब्बल उनले एक शासकलाई हटाएर नयाँ साम्राज्यको स्थापना गरेका थिए ।

चाणक्यले यस्तो नीति बताएका छन्, जो व्यवहारिक छ र त्यसलाई मान्छेले जीवनमा कुनै पनि बेला प्रयोग गर्न सक्छन् । आचार्य चाणक्यले आफ्नो एक नीतिमा यस्ता व्यक्तिको बारेमा उल्लेख गरेका छन्, जो सबैभन्दा ठूलो सत्रु हुन सक्छ ।

यस्तो पिता सत्रु बराबर

ऋणकर्ता पिता शत्रुर्माता च व्यभिचारिणी ।

भार्या रुपवती शत्रुः पुत्रः शत्रुरपण्डितः ।।

चाणक्यले यस श्लोक अनुसार ऋण लिने वा आफ्ना सन्तानलाई ऋणको भार बोकाउने पिता सत्रु बराबर भनेका छन् । एक पिताको धर्म आफ्नो बालबच्चालाई राम्रो ढंगले लालन पालन गर्नु हो । यदि पिता स्वयम् ऋणको बोझ झेल्दैछ भने यो बच्चाका लागि कष्टदायी हुन्छ । यदि पिताले ऋण चुकाउन सकेनन् भने त्यो बोझ बच्चाको टाउकोमा थोपरिन्छ । यस्तो पिता कुनै सत्रु भन्दा कम नहुने चाणक्यले बताएका छन् । आफ्ना सन्तानलाई सही रुपमा शिक्षादिक्षा नदिलाउने पिता पनि सत्रु बराबर हो ।

यस्ती आमा सत्रु बराबर
कतिपय माता आफ्ना सबै बच्चाका लागि समान हुँदैनन् । उनीहरु आफ्नै कोखको बच्चालाई पनि भेदभाव गर्छन् । उनीहरु आफ्ना बच्चालाई सही हिसाबले हेरचाह गर्दैनन् । यस्तो महिला आफ्ना बच्चाका लागि घातक हुन्छ । पतिबाहेक अन्य पुरुषसँग सम्बन्ध बनाउने माताले घरपरिवारलाई तहसनहस बनाउँछ । यस्ती माता सत्रु बराबर हुन्छन् भनिएको छ ।

यस्ता सन्तान सत्रु बराबर
खराब आमाबुवा मात्र सन्तानका लागि सत्रु हुँदैनन् । कतिपय सन्तान पनि आमाबुवाका लागि सत्रु बराबर हुन्छन् । ती सन्तातले आमाबुवालाई सन्तोष र सुख होइन, पीडा र कष्ट दिन्छन् । चाणक्यका अनुसार मूर्ख सन्तान कुनै पनि माता पिताका लागि सत्रु भन्दा कम हुँदैन । यदि कुनै परिवारमा यस्तो सन्तान जन्मिएका उनले जीवनभर कष्ट दिन्छन् ।

कमेन्ट गर्नुहोस्