टीकापुरमा थरुहट थारुवान् राष्ट्रिय सम्मेलन सुरु, कैलालीको सुरक्षामा व्यवस्था कडा

धनगढी ।  कैलालीको टीकापुरमा थरुहट थारुवान् राष्ट्रिय सम्मेलन सुरु भएको छ । थरुहट–थारुवान् राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक मीनराज चौधरीका अनुसार देशभरका ८ हजार बढी थारु समुदायका नागरिकको उपस्थिति गराउने गरी सम्मेलन सुरु गरिएको हो ।

थरुहट–थारुवान् राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक मीनराज चौधरीले बताए। उनले सामाजिक सद्भावमा खलबल पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना नगरिएको पनि स्पष्ट पारे।

संविधानमा थारुहरूका अधिकार स्थापित गराउने भनेर थारुहरूले टीकापुरमा गरेको आन्दोलन हिंसामा परिणत भएपछि २०७२ साल भदौ सात गते ८ प्रहरी र १ नाबालकको ज्यान जाने गरी टीकापुरमा घटना घटेको थियो। त्यस यता थारुहरूको त्यो सङ्घर्ष अवरुद्ध भयो।

सम्मेलनमा सहभागी हुन टीकापुरमा पूर्व प्रधानमन्त्री ड. बाबुराम भट्टराई, किशोर नेपाल, विश्लेषक खगेन्द्र सङ्ग्रौला लगायतका व्यक्तिहरू पुगिसकेको बताइएको छ ।

थरुहट थारुवान् राष्ट्रिय सम्मेलनलाई लक्षित गरी टीकापुरमा उच्च सुरक्षा सतर्कता बढाइएको छ। टीकापुरमा फेरि पनि कुनै अप्रिय घटना नहोस् भनेर ४ गतेबाटै सजगता अपनाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

कैलालीका प्रहरी प्रमुख सुदीप गिरीको नेतृत्वमा टीकापुरमा प्रहरी परिचालित छन्। जिल्ला सुरक्षा समितिले टीकापुरलाई भदौ ४ गतेबाट मदिरा निषेधित क्षेत्र समेत घोषणा गरिसकेको छ।

सम्मेलनका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले सर्वदलीय बैठक बोलाएर ५ गतेबाटै टीकापुर तथा आसपासका क्षेत्रमा सुरक्षामा कडाइ गर्ने निर्णय गरेको थियो।

आज लम्की बजारदेखि नै प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। ठाउँठाउँमा चेकजाँचका साथै सादा पोसाकमा खटिएका प्रहरीको सङ्ख्या पनि उच्च छ।

कमेन्ट गर्नुहोस्