रविन्द्र मिश्र भन्छन्, ‘साझा पार्टी राजनीतिक रुपमा तेस्रो पार्टी हो’

दाङ । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जनताले साथ दिएकै कारण पार्टी तेस्रो रुपमा स्थापित भएको दाबी गरेका छन् ।

प्रदेश–५ को संयोजक घोषणा तथा नागरिक संवोधन कार्यक्रमलाई तुलसीपुरमा सम्बोधन गर्दै संयोजक मिश्रले प्राविधिक रुपमा पाँचौ स्थानमा भएपनि राजनीतिक रुपमा तेस्रो स्थानमा भएको बताए ।

‘‘न पार्टीको आफनै कार्यालय थियो । न त संगठन नै निर्माण भएको थियो,’ संयोजक मिश्रले भने– ‘यस्तो अवस्थामा तीन वटा निर्वाचनमा पुराना पार्टीलाई पछि पार्दै हाम्रो पार्टी पाँचौ स्थानमा आयो । यो जनताको ठूलो साथ हो ।’

परम्परागत शैलिमा चल्ने ठूला पार्टीको पद्धतीका कारण देशमा वेरोजगार, भ्रष्ट्राचार बढ्दै गएको भन्दै संयोजक मिश्रले भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता प्रमुख अभियान भएको तर्क अघि सारे । आफुहरु सत्ता प्राप्ती भन्दा पनि पार्टीले अघि सारेका एजेन्डाको न्यायको पक्षमा रहेको उनले बताए ।

सामान्य नागरिक देखि प्रवुद्ध व्यक्तिसंगको छलफललाई चलायमान र गतिशिल बनाउन राजनीतिक भुँइ यात्राको अभियान सुरु गरेको भन्दै संयोजक मिश्रले भातृ संगठनका रुपमा युवा, महिला र जेष्ठ नागरिक संगठन निर्माण गर्ने बताए । अन्य राजनीतिक पार्टी जस्तो, शिक्षक, वकील, इन्जिनियर, पत्रकार, डाक्टर, कर्मचारी लगाएतका संगठन नखोल्ने बताए ।

फरक प्रसंगमा संयोजक मिश्रले संविधानलाई नाघेर हिंसात्मक गतिविधिमा लागेको विप्लव माओवादीलाई सरकारले प्रतिवन्ध लगाउनु स्वभाविक भएको बताए । हिसांत्मक गतिविधि र बम विष्फोट गराउनु शान्ति विरोधी गतिविधि भएको उनले बताए ।

धेरै लामो त्याग बलिदानी पछि देशमा आएको संघियता, धर्मनिरीपेक्षता र गणतन्त्रको तत्काल उपलब्धी खोज्ने बेला नभएको भन्दै कार्यान्वयनको चरणमा भएकाले संस्थागत हुन अझै केहि समय लाग्ने संयोजक मिश्रले बताए ।

कमेन्ट गर्नुहोस्