प्रहरी र रवि लामिछाने समर्थक झडप, डीएसपीसहित ७ जना घाइते

चितवनः  पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछाने समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ । झडपमा परी डीएसपीसहित ७ जना घाइते भएका छन्।

ड्युटीमा खटिएका प्रहरीमाथि प्रदर्शनकारीले एक्कासि ढुंगा प्रहार गरेपछि स्थिति तनाबपूर्ण भएको चितवन जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रदर्शनकारीले भरतपुरको चौबीस कोठीमा राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले खुलाउन प्रयास गर्नेक्रममा झडप भएको हो। रविका समर्थकहरुले राजमार्गमा चल्ने सवारी साधन समेत तोडफोड गरेका छन्।

प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गको सो भाग अवरुद्ध बनेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ।

‘अहिले अवस्था प्रहरीको नियन्त्रणमा आइसकेको छ’, एसपी मल्लले भने।

कमेन्ट गर्नुहोस्