इतिहासमैं पहिलाेपटक भिडियाे कन्फ्रेन्समार्फत मन्त्रीपरिषदकाे बैठक

काठमाडौं । मन्त्रीपरिषद बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठक बस्न लागेको हो । मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ ।

भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुने र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनलल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य अवस्थामा रहेको उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले बताएकी छन् ।

यो उपचार प्रक्रिया अरु केही पटक गरिने बताइएको छ । प्रधानमन्त्री ओलीलाई गत बिहीबार उपचारका लागि केहीसाताकै बीचमा दोस्रो पटक सिंगापुर लगिएको हो । त्यसअघि उनी १० दिन सिंगापुरमा उपचारका लागि गएका थिए ।

कमेन्ट गर्नुहोस्