खानेपानी मन्त्रालयमा कार्य सम्पादन सम्झौता सम्पन्न

काठमाडौं । आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्नका लागि खानेपानी मन्त्री बिना मगर र सचिव माधव बेल्वासेबीच सोमबार कार्य सम्पादन सम्झौता भएको छ ।

मन्त्रालयको सभाहल सिंहदरबारमा सोमबार सम्पन्न भएको सम्झौता कार्यक्रममा खानेपानी मन्त्रालयसँग सम्बन्धित योजनाहरु आर्थिक वर्ष २०७६।०७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । मन्त्री मगर र सचिव बेल्वासेले सम्झौतामा हस्ताक्षर गरे ।

सरकारको नीति तथा कार्यक्रममा आधारभूत स्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र चार वर्षभित्र शत प्रतिशत जनसंख्याको पहुँचमा पुऱ्याइने उल्लेख छ ।

त्यस्तै निर्माणधीन खानेपानी आयोजनाहरु सम्पन्न गरी तराईका जिल्लाहरुमा आर्सेनिक मुक्त सुरक्षित खानेपानी उपलब्ध गराइने नीति तथा कार्यक्रममा भनिएको छ । सरकारले लिएका यी लक्ष्यहरु पुरा गर्न मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता भएको हो ।

सम्झौतामा उल्लेख भए अनुसार ९८ वटा भूकम्पबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरुको पुनर्निर्माण गर्ने, १३ सय ६८ वटा आयोजनाहरुको खानेपानी सेवा विस्तार तथा पुनस्थापना गरिने भएको छ ।

त्यस्तै १५ वटा क्रमागत तथा ४१ वटा नयाँ गुणस्तर सुधारका आयोजनाहरुको कार्यान्वयन गर्ने र थोक वितरण प्रणाली तथा जलाशययुक्त सम्भाव्य आयोजनाहरुको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन कार्य यसै चालु आर्थिक वर्षभित्र गर्ने बताइएको छ ।

त्यस्तै पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, भद्रपुर, धरान, वीरगञ्ज, भैरहवा र धनगढी लगायत २३ वटा नगर क्षेत्रको लागि खानेपानी सुधार कार्य गर्ने हस्ताक्षरित सम्झौतामा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६।०७७ मा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने उल्लेख भएकाले चालु आर्थिक वर्षभित्रमा मेलम्चीको पानी पथान्तरण गरिसक्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ ।

त्यसैगरी नेपाललाई खुला दिसा मुक्त राष्ट्र बनाई पूर्ण सरसफाइ अभियानलाई देशैभरि अगाडि बढाउने मन्त्रालयको प्रतिबद्धता छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले यो सम्झौता जनतासँग गरिएको प्रतिबद्धता भएको बताइन् ।

‘यो सम्झौता जनताका अगाडि यो यो काम गर्छु भनेर गरिएको प्रतिबद्धता हो, उनले भनिन्, ‘ हामीले चालु आर्थिक वर्षभित्र धेरै काम सम्पन्न गरेर देखाउनुपर्ने चुनौति छ ।’

मन्त्री मगरले मन्त्री र सचिवले मात्रै नभई सबैले आत्मसात् गरी सरकारको कार्यक्रम योजनाहरु कार्यान्वयन गर्न तिर लाग्न आव्हान गरिन् ।

सचिव बेल्वासेले नीति तथा कार्यक्रम र बजेटले लिएका लक्ष्यहरु पुरा गर्ने तर्फ लाग्न सबैको साथ सहयोग जरुरी रहेको बताए ।

कमेन्ट गर्नुहोस्