पाकिस्तानद्वारा क्रिकेटका नियममा महत्वपूर्ण परिवर्तन

पाकिस्तानले घरेलु प्रतियोगताका लागि क्रिकेटको एउटा महत्वपूर्ण नियम नै फेरबदल गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आगामी दिनमा प्रथम श्रेणीका घरेलु प्रतियोगितामा खेल सुरु हुनुअघि ‘टस’ गर्ने प्रचलन अन्त्य गर्ने भएको हो ।

यो नियम लागु भए पछि इतिहासमै पहिलो पटक पाकिस्तानको प्रथम श्रेणीको घरेलु प्रतियोगिता कायदे आजम ट्रफीमा ‘टस’ गरिने छैन ।

पीसीबीसम्बद्ध सूत्रका अनुसार अब उप्रान्त पाहुना टोलीलाई पहिले ब्याटिङ या फिल्डिङ के गर्ने भन्ने छनौट गर्न पाउने छ । पीसीबीले घरेलु टीमलाई अतिरिक्त फाइदा नमिलोस् र खेल बढीभन्दा बढी तटस्थ होस् भनेर यस्तोप नियम ल्याइएको बताएको छ ।

पीसीबीसम्बद्ध सूत्रका अनुसार यदि दुवै टीमले पहिले ब्याटिङ गर्ने भन्ने कुरामा अड्डी लिएको खण्डमा मात्र म्याच रेफ्रीले ‘टस’ गराउन सक्ने छन् । एक जना पिसीबी अधिकारीले भने, “सामान्यतया घरेलु टीमहरूले पिच बनाउँदा फास्ट बलरहरूलाई फाइदा पुग्ने खालको पिच निर्माण गर्ने गर्छन् ।”

उनले थपे,”हामीलाई लाग्छ हामी घरेलु सिरिजमा राम्रो पिच बनाउने छौं ताकि राम्रो क्रिकेट हेर्न सकियोस । यस क्रममा पिच क्युरेटरहरूलाई राम्ररी काम गर्ने वातावरण बनाइनेछ ।”

उनका अनुसार एकदिवसीय र टी२० सिरिजका हकमा भने साबिक बमोजिम नै ‘टस’ गरिनेछ । सूत्रका अनुसार यो प्रस्ताव पीसीबीका प्रमुख कार्यकारी अधिकारी वसीम खानले राखेका थिए र बैठकले यसलाई अनुमोदन गरेको थियो ।

वसीमले भने, “मलाई केही वर्ष यताका प्रथम श्रेणी क्रिकेटका स्कोर कार्ड हेरेर अचम्म लाग्यो । मैले के देखे भने खेलहरू चाडै समाप्त हुँदै थिए र थोरै मात्र रनहरू बनिरहेका थिए । मलाई लाग्यो केही त् गडबड छ ।”

खानले भने, “केही वर्ष यता हाम्रा घरेलु प्रथम श्रेणीका खेलहरूमा कडा प्रतिस्पर्धा देख्न सकिएको थिएन । अब हामी ‘टस’बाहेकका विकल्पहरूमा पनि विचार गरिरहेका छौं ।”

पीसीबीले आगामी १२ सेप्टेम्बरदेस्खी कायदे आजम ट्रफीको नयाँ सत्र सुरु गर्दैछ ।

कमेन्ट गर्नुहोस्