Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मल्लको धैर्यताले रोकियो रक्तपात, प्रहरी पिटिए तर दिएनन् गोली हान्ने आदेश

काठमाडौं। साउन १९ गते राति नै पत्रकार शालिकराम पुडासैनी नारायणगढको पोखरा बसपार्कस्थित कंगारु होटलमा मृत अवस्थामा भेटिएको सूचना प्रहरीले पाइसकेको थियो। प्रहरीले रातिदेखि नै कंगारु होटललाई आफ्नो नियन्त्रणमा राखिसकेको थियो।

भोलिपल्ट अर्थात् साउन २० गते बिहानै पुडासैनी झुण्डिएको समाचार सबैतिर फैलिइसकेको थियो। प्रहरी घटनास्थलमा पुगेर सघन अनुसन्धान सुरु भयो, त्यतिञ्जेल मृतक पुडासैनीका आफन्त घटनास्थलमा आइसकेका थिए।

प्रहरीले शवको मुचुल्का उठाएर पोस्टमार्टम गर्न खोजे पनि पुडासैनीका आफन्तले दिएनन्। उनीहरुले पुडासैनीको हत्या वा आत्महत्याका लागि बाध्य पारिएको हुनसक्ने आशंका गर्दै घटनाको निष्पक्ष छानविन भएपछि मात्र शव उठाउन दिने अडान लिए। घटनास्थलमा खटिएको प्रहरीले मृतकका आफन्तलाई कन्भिन्स गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमूख एसपी दानबहादुर मल्ल आफै घटनाको अनुसन्धानमा खटिए।

एसपी मल्लले कन्भिन्स गरेपछि मृतकका आफन्त शव उठाउन दिन राजी भए। शव उठाएर पोस्टमार्टमका लागि पठाइयो। त्यसपछि आफन्तले पुडासैनीको शव काठमाडौं ल्याए। त्यतिञ्जेलसम्म घटनाका बारेमा धेरै चर्चा भएको थिएन। तर, पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो प्रहरीले फेला पारेपछि पुडासैनी मृत्यु प्रकरणले नयाँ मोड लियो।

एसपी दानबहादुर मल्लले चाहेको भए भिडियो भेटिएलगत्तै रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई गिरफ्तार गर्न सक्थे। तर, उनी तत्काल गिरफ्तारभन्दा भिडियोको फरेन्सी ल्याव टेस्टतिर लागे। दोषी नउम्कोस्, निर्दोष नफसोस् भन्ने जानीबुझी एसपी मल्लले उक्त कदम चालेका थिए। फरेन्सी ल्यावको रिपोर्ट आएपछि बल्ल प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्यो।

रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई गिरफ्तारपछि लामिछानेका समर्थकहरु स्तव्ध भए। त्यसमा केही साँचो मनले लामिछानेलाई माया गर्ने र उनको कामका प्रशंसक पनि थिए। उनीहरुलाई आत्महत्या दुरुत्साहन सम्बन्धि कानूनी प्रावधानको ज्ञान थिएन। तर, लामिछानेलाई फसाउन लागिएको हो कि भन्ने भय र चिन्ता थियो।

समर्थकहरुको त्यही चिन्ता र भयमा राजनीति घुस्यो। प्रहरीले कानूनी प्रक्रियाभित्र रहेर अनुसन्धान प्रक्रिया अघि बढाइरहेको थियो। तर, त्यसै बेला एसपी मल्ललाई जबर्जस्ती विवादमा तान्ने कोशिस गरियो। रविका समर्थकहरुको नियत खराब थिएन। तर, तिनीहरुलाई परिचालन गर्ने शक्तिको नियत खराब नै देखियो।

आन्दोलनमा रविको पक्षमा मात्र नारा लागेन। प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड, भरतपुरकी मेयर रेनु दाहाल र एसपी दानबहादुर मल्लविरुद्ध पनि नाराबाजी गरियो। आन्दोलनमा ‘गणतन्त्र मूर्दावाद’सम्मका नारा लागे। यो रविका समर्थकको काम थिएन। बरु, रवि गिरफ्तारीलाई ढाल बनाएर सरकार र गणतन्त्रमाथि प्रहार गर्ने शक्ति र समूहको सुनियोजित प्रपञ्च थियो।

एकथरि राजावादीहरु पर्दाभित्रबाट भीडलाई भड्काउने र रक्तपात मच्चाउने कोशिसमा थिए। प्रहरी प्रशासन र राजनीतिक नेताहरुलाई उत्तेजित पार्ने र परिस्थितिलाई हिंस्रक बनाउने कोशिस गर्दै थिए ताकि परिस्थिति भड्किएर जनमत आफ्नो हातमा आइपुगोस्। तर, एसपी मल्लले निकै संयमता र धैर्यता देखाए।

भरतपुरलाई रणमैदान बनाउने र देशव्यापी भीडन्तको परिस्थिति निर्माण गर्ने योजना सफल हुन सकेन। उनले हजारौं आलोचना सहे, उनीमाथि सामाजिक सञ्जाल र युट्युवमा अश्लिल गालीको वर्षा भयो। तर, उनले न धैर्यता गुमाए न विवेक। सोमबार साँझसम्म आइपुग्दा उनकै विवेकका कारण सामान्य परिस्थितिमा थुनछेकको बहस सकियो।

एसपी मल्ल नभएर अर्को कुनै प्रहरी प्रमूख भएको भए परिस्थिति भड्किएर टीकापुरजस्तै अप्रिय घटना त हुने थिएन ? चितवनको नागरिक समाज र वौद्धिक समुदायमा परिस्थिति भड्केला कि भन्ने चिन्ता थियो। तर, मल्लले धैर्यता र विवेकका बलमा परिस्थिति आफ्नो नियन्त्रणमा राखे र सोमबारदेखि भरतपुर सामान्य अवस्थामा फर्कियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: