माओवादी प्रभावित १० राज्यका मुख्यमन्त्री दिल्लीमा, नक्सलवादी सिध्याउन विशेष रणनीतिमा भारत

नयाँ दिल्ली । सशस्त्र संघर्ष गर्दै आएको भारतीय कम्युनिष्ट पार्टी (माओवादी)लाई भारत सरकारले मुख्य सुरक्षा चुनौतीका रुपमा लिएको छ ।

देशका बिभिन्न क्षेत्रमा सशस्त्र संघर्ष चर्किंदै गएपछि नक्सलवादी भनेर चिनिने भारतीय माओवादीलाई नियन्त्रण गर्न गृहमन्त्रीले प्रभावित राज्यका मुख्यमन्त्री र सुरक्षा प्रमुखसँग छलफल गरेका छन् ।

भारतका गृहमन्त्री अमित शाहले सोमबारका दिन माअ‍ोवादी प्रभावित राज्यको राजनीतिक र सुरक्षा प्रमुखसँग छलफल पछि माओवादीविरुद्ध निकै कडा हुने संकेत दिएका हुन ।

मोदी सरकारले सबै प्रभावित राज्यको नेतृत्वलाई सामूहिकरुपमा बोलाएर छलफल गरेको सम्भवतः यो पहिलोपटक हो ।

भारतमा माओवादी सशस्त्र संघर्षमा मर्नेहरुको संख्या अन्य आन्दोलनमा भन्दा बढी छ ।

मानवीय क्षतिका हिसाबले कश्मीर समस्याभन्दा पनि भयावह बनेको भारतीय सरकारको ठहर छ । यही विषयमा उच्च प्रचाथमिकता दिँदै सोमबार माओवादी गतिविधिलाई केन्द्र सरकारले नियन्त्रणमा लिने तयारी स्वरुप विभिन्न राज्यका मुख्यमन्त्री र सुरक्षा निकायका उच्च अधिकारीसँग छलफल गरेको भारतीय मिडियाले जनाएका छन् ।

माओवाद प्रभावित क्षेत्रमा छापामार युद्धलाई कसरी नियन्त्रणमा लिने र त्यहाँका जनतामा विकासको प्रतिफल कसरी पुर्‍याउने भन्ने विषयमा छलफल केन्द्रित थियो ।

भारतमा माओवादी प्रभावित मुख्य प्रदेशहरु छत्तीसगढ़, झारखंड, ओडिशा, पश्चिम बंगाल, बिहार, महाराष्ट्र, तेलंगाना, आंध्र प्रदेश, मध्य प्रदेश र उत्तर प्रदेश रहेका छन् ।

कमेन्ट गर्नुहोस्