घाइते समर्थक भेट्न अस्पताल पुगे रवि लामिछाने

काठमाडौंः आफ्नो समर्थनमा भएको प्रदर्शनमा घाइते भएकालाई भेट्न सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने अस्पताल पुगेका छन्।

रविले भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई भेटेका हुन् । भेटमा उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

रविसँगै तीन लाख धरौटीमा छुटेका युवकराज कँडेलपनि अस्पताल पुगेका थिए । रवि लामिछाने निर्दोष रहेको दाबीसहित जनप्रदर्शन चर्किँदा केही घाइते भएका थिए।

उनीहरुको अहिले उपचार भइरहेको छ। रवि लामिछानेले सोमबार भएको प्रदर्शनपछि पक्राउ परेकाहरुसँग पनि भेट गरेका छन् ।

कमेन्ट गर्नुहोस्