टीकापुर घटनाबारे ट्वीटरमा भट्टराई र रावलको जुहारी, प्रश्नमाथि प्रश्न

काठमाडौंः एक बालकसहित ९ जनाको ज्यान जाने गरी ४ वर्षअघि कैलालीमा भएको टीकापुर घटनाबारे पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र नेकपाका नेता भीम रावलबीच जुहारी चलेको छ।

टीकापुर घटनाको ठीक चार वर्षपछि भदौ ७ गते नै टीकापुरमा भएको थरूहट थारूवान राष्ट्रिय सम्मेलनमा समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष रहेका डा. भट्टराईले दिएको अभिव्यक्तिप्रति नेकपा सुदूरपश्चिम ईञ्चार्जसमेत रहेका रावलले आपत्ति जनाउँदै ट्वीट गरेका थिए। उनले कति मान्छे मारिएपछि सन्तुष्ट हुनुहुन्छ भन्दै बाबुरामलाई प्रश्न गरेका थिए।

त्यसको जवाफमा बाबुरामले कम्युनिष्ट पार्टीका नेताले एकलजातीय अहंकारवादी गर्ने कार्य सुहाएनकी भनेर प्रतिप्रश्न गरेका छन्। बाबुरामले ट्वीटमा लेखेका छन्, ‘माक्र्सले प्रतिपादन गरेको कम्युनिष्ट सिद्धान्तले शान्ति र सद्भाव निरपेक्ष हैन सपेक्ष हुन्छ भन्छ ! न्याय र समानता विनाको शान्ति र सद्भावको आलापलाई समाजका बर्चस्वशाली वर्ग र जातिको पाखण्ड ठान्छ ! नाउँ ‘कम्युनिष्ट पार्टी’ राख्ने तर कुरा यस्तो एकलजातीय अहंकारवादी गर्ने ? अलि सुहाएन है !…

ट्वीटरको जुहारी यत्तिमै रोकिएन। भट्टराईले लगत्तै अर्को ट्वीट गर्दै भीम रावललाई प्रतिप्रश्न गरेका छन्। ‘मित्र भीम रावललाई प्रश्न–झापा आन्दोलन भजन गाएर भएको थियो ? थारूहरूको जमिन खोसेर उनीहरूलाई नै कमैया, कमलरी बनाउनु ‘कम्युनिज्म’ हो ? तपाईंले थारू भाषामा जाँच दिनुपरेको भए अहिले यो ठाउँमा पुग्नुहुन्थ्यो ? थारू, मैथिली र नेवारी भाषामा लोकसेवा जाँच दिनु परे तपाईँका कति सजातीय अहिले सचिव हुँदाहुन् ?

त्यसलगत्तै रावलले ट्वीट गर्दै थारूको जग्गा बाबुरामजीले कम्युनिष्ट रहँदा खोसेको सम्झँदै अरूलाई आरोप लगाउनु भएको हो कि भनेर सोधेका छन्।

कमेन्ट गर्नुहोस्