प्रधानमन्त्रीको उपचार हुँदै गरेको प्लाज्माफेरेसिस भनेको के हो, के फाइदा गर्छ यसले ?

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार हुँदैछ । प्रधानमन्त्री सचिवालयले जनाए अनुसार, उनको प्लाज्माफेरेसिस विधिबाट उपचार हुँदैछ । यो उपचारमा समय लाग्ने उनका चिकित्सकहरुले सार्वजनिक गरेका छन् ।

केही वर्ष अघि प्रधानमन्त्रीले मृगौला प्रत्यारोपण गरेका थिए । अहिले उनी प्लाज्मा फेरेसिस उपचार पद्धतीमा रहेका छन् ।

के हो त प्लाज्मा फेरेसिस ?

प्लाज्मा फेरेसिसलाई अर्को भाषामा प्लाज्मा एक्सचेन्ज पनि भन्ने गरिन्छ। यो एउटा चिकित्सकीय प्रक्रिया हो जस अन्तर्गत रगतबाट अस्वस्थ्य प्लाज्मालाई निकालिन्छ र यसरी शुद्ध पारिएको रगतलाई फेरि शरीरमा रगत चढाइन्छ ।

यसको लागि एउटा क्याथेटरको सहायताले शरीरको रगत बाहिर झिकिन्छ र त्यसलाई प्लाज्मा फेरेसिस मेसिनको सहायताले शुद्ध पारिन्छ । यसलाई एक किसिमले डायलिसिस जस्तै प्रक्रिया हो तर यसमा रगतको प्लाज्मामा रहेका हानिकारक एन्टीबडीलाई हटाउने गर्दछ ।

डायलिसिसमा मृगौलाले छान्न नसकेको रगतमा रहेको अतिरिक्त पानी या अन्य चीजहरू हटाइन्छ ।
हाम्रो शरीरमा बग्ने रगतमा प्लाज्मा भन्ने बस्तु हुन्छ । यो प्लाज्मा एकप्रकारका तरल पदार्थ हो । यो रक्तकोष, प्लेलेट्स र अन्य आवश्यक पौष्टिक तत्व मिलेर बनेको हुन्छ ।

प्लाज्माफेरेसिसको प्रक्रियामा रगत झिकेर त्यसलाई मेशिनद्वारा तीन भागमा बाँडिन्छ ।

चिकित्कसकीय भाषमा फेरेसिस या अफेरेसि भनेको शरीरबाट रगत झिक्ने, त्यसलाई फिल्टर गर्ने र यसका तत्वहरु बनाइराख्ने कुनै पनि प्रकारको प्रक्रिया हो ।

  • प्लाजमा प्रतिस्थापन किन गरिन्छ ?
    बिभिन्न अवस्थाका चिकित्सामा प्लाज्माको प्रतिस्थापन गरिन्छ । जस्तोः मष्तिष्क र स्नायु प्रणालीसँग सम्बन्धित अवस्था जस्तो कि एक्युट गिलेन बेरे सिण्ड्रोम
  • रक्त असन्तुलन (डिसअर्डरस्) जस्तो कि थ्रोम्बाटिक थ्रोम्बोसाइटोपेनिक -पर्पुरा रगत जम्ने र क्लट हुने विशेष अवस्था)
  • मृगौलासँग जोडिएका केही अवस्था जस्तो गुडपाश्चर सिण्ड्रोम (यस्तो राग जुन एन्टीबडीहरुलाई फोक्सो र मृगौलामा आक्रमण गर्ने कारक बन्छ ।)
  • हाइपरभिस्कोसिटी सिन्ड्रोम

के फाइदा हुन्छ प्लाज्माफेरेसिसबाट ?

प्लाज्मा फेरेसिसले माथि उल्लेख गरिएका लक्षणहरुलाई कम गर्नुका साथै रगतबाट अनावश्यक पदार्थ बाहिर निकाल्न मद्दत गर्दछ ।

अटो इम्युन अवस्था भएको व्यक्तिमा यसले शरीरमा हानिकारक एन्टीबडी रोक्नबाट समेत मद्दत पुर्याउँछ ।
यी प्रक्रियाहरू सामान्यतः उपचार योजनाको तत्व हुन । त्यसैले यो मात्रै सबै उपचार नभई यसलाई समग्र उपचारको एउटा पक्षका रुपमा लिइन्छ । प्लाज्माफेरेसिस प्रक्रियाको क्रममा कुनै अन्य व्यक्तिले दान गरेको रगतमा रहेको प्लाज्मा उपचाररत व्यक्तिलाई चढाउँदा ुएलर्जिक प्रतिक्रियाु देखिनसक्ने हुँदा त्यसको समाधानकालागि औषधीय प्रक्रियाहरू अपनाइने हुन्छ ।

कतिपय अवस्थामा उपचारको क्रममा र उपचारपछि सम्भाव्य जोखिम कम गर्न चिकित्सकहरू उपचार प्रक्रिया थाल्नुपूर्व नै औषधि चलाउने गर्छन् ।

उपचाररत व्यक्तिलाई दान गरिएको रगतबाट लिइएको प्लाज्मामा ब्याक्टेरिया या अन्य कुनै संक्रमण छ कि छैन भनेर प्रयोगशाला परीक्षण गरिन्छ ।

यसरी परीक्षण गरिएको प्लाज्मालाई उपचाररत व्यक्तिको शरीरमा चढाइँदा उपचाररत व्यक्तिमा संक्रमण सर्ने सम्भावना रहँदैन ।

प्लाज्मा फेरेसिसका जोखिम

यसरी दान गरिएको प्लाज्माका कारण उपचाररत व्यक्तिमा चढाउने क्रममा केही समय समस्या आउन सक्ने हुन्छ । त्यस्तोमा व्यक्तिलाई सास फेर्न गाह्रो हुने, या हात गोडा चिसो हुने समस्या देखा पर्न सक्छ । यस्तो अवस्थामा उपचारमा संलग्न चिकित्सकले उपचार प्रक्रिया रोकेर शरीरलाई सामान्य अवस्थामा आउन दिने गर्दछन् ।

यसरी प्लाज्मा प्रतिस्थापन गर्ने क्रममा केही समय न्यून रक्तचापको लक्षण समेत देखा पर्न सक्छ र केही अवस्थामा मानसिक आघातको समस्या समेत आउन सक्छ ।

प्लाज्माफेरेसिसले रक्तदातामा रोग प्रतिरोधात्मक क्षमता कम हुन सक्छ । तर यस्तो समस्या सामान्यतया अस्थायी प्रकृतिको हुन्छ । तर प्लाज्मा दान गरेको केही समयसम्म दाता सजिलै संक्रमणको शिकार हुनसक्छन् ।

एकैपल्टमा सबै अस्वस्थ्य प्लाज्मालाई प्रतिस्थापन गर्न सकिने अवस्थामा प्लाज्मा फेरेसिसमा रक्तदातालाई तुरुन्तै घर फर्किन मिल्छ । तर त्यस्ता मान्छेले केही समय थकानको अनुभूति गर्न सक्छन् । यस्तोमा पर्याप्त आराम गर्ने र शारीरिक व्यायाम या गाडी चलाउने जस्ता काम नगर्नु नै राम्रो मानिन्छ ।

कति समय लाग्छ ?
प्लाज्मा फेरेसिसको सम्पूर्ण प्रक्रियामा २ देखि ४ घण्टा लाग्ने गर्दछ । उपचारत व्यक्तिले त्यो अवधिभर बिना हलचल रहिराख्नु पर्ने हुँदा निजको ध्यान प्रक्रियाबाट हटाउन टेलिभिजन हेर्न लाउने या कुनै पुस्तक पढ्न दिने गरिन्छ ।

यस सम्पूर्ण प्रक्रियाका दौरान त्यहाँ चिकित्सकहरूको उपस्थिति हुने गर्छ र उनीहरूले प्रत्येक कुरामा निगरानी गर्ने गर्छन् ।

यसरी प्लाज्मा प्रतिस्थापनको काम सिद्धिएपछि मेसिनलाई अलग्याइन्छ र नयाँ सिराबाट रक्त परीक्षणको प्रक्रिया सुरु हुन्छ ।

प्लाज्माफेरेसिसबाट शरीरका नकारात्मक र हानी पुर्याउने एन्टीबडीलाई प्रतिस्थापन गर्न सकेको खण्डमा व्यक्तिमा देखिएको रोगको लक्षण निदान गर्न निकै मद्दत पुग्छ । यद्यपी शरीरलाई पुरानै अवस्थामा ल्याउनु भने निकै कठीन हुने चिकित्सकहरु बताउँछन् । शरीरको अवस्था, स्वस्थ्य र अस्वस्थ्य एन्टीबडीको अनुपात, व्यक्तिको जीवनशैलीलगायतका कतिपय पक्षहरुले प्लाज्माफेरेसिसको फाइदा निर्भर हुन्छ ।

 

Feature Photo: medicalnewstoday

कमेन्ट गर्नुहोस्