६० वर्षे खेल जीवन, २० हजार म्याच, सात हजार विकेट: ८५ वर्षमा बल्ल सन्यास लिँदै छन् यी क्रिकेटर

सामान्यतया क्रिकेट खेलाडीहरू ४० वर्ष पुग्दासम्म सक्रीय खेल जीवनबाट सन्यास लिने गर्दछ्न् । उनीहरु त्यसपछि क्रिकेटसँग सम्बन्धित अन्य कामहरूमा व्यस्त हुने गर्दछन् । यदि कुनै खेलाडीले आफू अझै सक्रिय भएर खेल्न सक्ने बताए पनि मिडिया, खेल विश्लेषक र प्रशंसकहरूले बारम्बार उनीहरूको सन्यासबारे विभिन्न अड्कलबाजी गरेर हैरान पारिदिने गर्दछन् ।

त्यसमा पनि झन् ‘फास्ट बलर’का लागि त ३५ वर्ष कटाउन पनि निकै मुस्किल हुने गर्छ । त्यतिबेलासम्म उनीहरू काँध र पाखुराका चोटहरूले लगभग थला नै परिसकेका हुन्छन् । यस्तो अवस्थामा त्यसरी उमेर छिप्पिएका खेलाडीले पनि आफूले सक्रिय खेल जीवन त्याग्नु पर्ने महसुस गर्ने गर्दछन । सामान्यतया देखिने गरेको यही हो ।

तर वेस्टइन्डिजका एक फास्ट बलर स्यामुअल सेसिल राइट भने विगत छ दशकभन्दा बढी समयदेखि लगातार क्रिकेट खेलिराखेका छन् र उनले ८५ वर्षको उमेरमा बल्ल खेलबाट सन्यास लिने विचार गरेका छन् । यसलाई विश्वभरिका क्रिकेट सम्बधि समाचार प्रसारकहरूले ‘अनौठो रेकर्ड’को दर्जा दिएका छन् ।

हरेक २७ बलमा एक विकेट

आफ्नो क्यारिअरमा हजारौं म्याच खेलिसकेका सेसिलले सात हजारभन्दा बढी विकेट लिएर अनौठो रेकर्ड बनाएका छन् । उनले आउट गरेका खेलाडीमा ग्यारी सोबर्स, भिभियन रिचार्ड्स जस्ता दिग्गज समेत रहेका छन् । विकेट लिने उनको गतिको अनुमान लगाउन एउटा मात्र तथ्यांक हेरे पुग्छ । उनले कुनै समय पाँच सिजनमा मात्र ५३८ विकेट लिएका थिए । उनले हरेक २७ बलमा एक विकेट लिएका थिए ।

अझै यस्तो जोश !

अहिले पनि विश्व क्रिकेटमा क्रिस गेल र महेन्द्र धोनीले कहिले सन्यास लिने भन्नेबारे चर्चा चलिरहेको छ । उनीहरू दुबै जना ४० पुग्ने अवस्थामा छन् । हुन पनि यस उमेरपछि शरीरमा भनेजस्तो स्फूर्ति नरहने हुँदा राम्रो प्रदर्शन गर्न सकिँदैन र आफूले सन्यास लिने घोषणा नगरे पनि बिस्तारै टीमको छनौटमा पर्ने सम्भावना कम हुँदै जान्छ । तर कुनै खेलाडी, त्यो  पनि फास्ट बलरले ८५ वर्षको उमेरसम्म पनि सक्रिय रूपमा क्रिकेट खेलिराख्नु र विकेट लिइराख्नुलाई अचम्म नै मान्नु पर्दछ ।

कसैले नभेट्ने रेकर्ड

वेस्टइन्डिजमा ‘सेस’ भनेर चिनिने सेसिल राइट कुनै समय जमैकाको तर्फबाट बारबाडोसविरुद्ध व्यावसायिक खेलको सुरुवात गरेका थिए । उनीसँगै क्रिकेट सुरु गरेका ग्यारी सोबर्स, भिभ रिचार्ड्स, वेस्ले हल र गारफिल्ड सोबर्सजस्ता खेलाडीहरूले आफ्नो नाममा फरक फरक कीर्तिमान त कायम गरे तर लामो समयसम्म क्रिकेट खेल्ने रेकर्डको मामिलामा भने सेसलाई कसैले भेट्टाउन सक्दैन ।

अझै व्यवसायिक क्रिकेट खेल्छन् सेसिल 

उनले वेस्टइन्डिजको घरेलु क्रिकेटमा वेस्ले हल र जोएल गार्नरजस्ता दिग्गजविरुद्ध पनि बलिङ गरिसकेका छन् । उनले १९५९ को सेन्ट्रल लंकाशायर लीगमा पूर्व इङ्लिश क्रिकेटर डेनिस कम्पटनविरुद्ध समेत खेलेका थिए ।

जमैकाको तर्फबाट थुप्रै प्रथम श्रेणीका खेल खेलिसकेका सेसिल १९६२ मा स्थायी रूपमै इङ्ल्याण्ड बसाइ सरे । त्यहाँ गएर पनि  उनले क्रिकेट छोडेनन् र व्यवसायिक क्रिकेटरको रूपमा आफ्नो क्यारिअरको नयाँ सुरुवात गरे ।

लगभग ६० वर्षको सक्रिय खेल जीवनमा सेसिलले अब सन्यास लिने घोषणा गर्दै डेली मिररलाई भने,”मलाई नै थाहा छैन मैले कसरी यति लामो समय क्रिकेट खेल्न सकेँँ ।”

२० हजार बढी खेल, सात हजार विकेट

डेली मिररले लगाएको अनुमानमा सेसिलले आफ्नो छ दशक लामो खेल जीवनमा लगभग २० हजारभन्दा बढी खेल खेलेको र त्यसमा सात हजार विकेट लिएको बताएको छ । उनले आफ्नो तन्दुरुस्तीको रहस्य खोल्दै भने,”लंकाशायरको पारम्परिक भोजनले मलाइ स्वस्थ राखेको छ । म खानेकुरामा जे पनि खाइदिन्छु तर धेरै मदिरा सेवन भने गर्दैन । हो, कहिले काहिँ बियरसम लिने गरेको छु ।”

पनाति उमेरकालाई गर्छन् घातक बलिङ 

उनले भने,”अचेल म तालिममा पनि भाग लिन्न, बुढो भइसके भनिदिन्छु तर मलाइ बसेर टिभी हेर्न मन पर्दैन । म त खेल्न छोडेपछि पनि बाहिर घुमफिर गर्न नै मन पराउने छु ।”

विश्वकै यी अचम्मका क्रिकेटरले ७ सेप्टेम्बरमा आफ्नो अन्तिम खेल खेल्दैछन् । उनि अपरमिल टीमको तर्फबाट स्प्रिङहेडविरुद्ध मैदानमा उत्रिने छन् । उनको हालको प्रदर्शन जेजस्तो भएपनि उनी युवा खेलाडीका लागि प्रेरणा भने बनेका छन् ।

कमेन्ट गर्नुहोस्