Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रवि लामिछानेविरुद्ध फेरी अर्काे मुद्दा, यस्तो छ कारण

काठमाडौंः न्यूज–२४ का पत्रकार रवि लामिछानेविरुद्ध फेरी अर्काे मुद्दा दर्ता भएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबाट धरौटीमा छुटेको दुई दिनपछि लामिछानेविरुद्ध अर्को मुद्दा दर्ता भएको हो ।

‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका लामिछानेविरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका हुन् । पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै भण्डारीले लामिछानेविरुद्ध मुद्दा दर्ता गराएका छन् ।

निर्मला हत्या प्रकरणमा लामिछानेले हत्यारालाई बचाउन भूमिका खेलेको आरोप भण्डारीले लगाएका छन । निर्मला प्रकरणमा भण्डारी र लामिछानेबीच विवाद हुँदै आएको छ । उक्त प्रकरणमा उनीहरू आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

यस्तो छ मुद्दाः
श्री प्रेस काउन्सिल नेपालमा दायर गरेको निवेदन–पत्र
बिषयः– पत्रकार आचारसंहिताको नग्न उल्लंघन गर्नेमाथि हदैसम्मको कारबाही गरि पाँउ ।
निवेदक
भीमदत्त नगरपालिका वडा नं. १८ कञ्चनपुरस्थित दैनिक मानसखण्डको सम्पादक खेम भण्डारी…..१
विरुद्ध
जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं २ पानीपोखरी, महाराजगंज स्थित न्युज २४ टेलिभिजन (फोन नं ४००२६६६, ४४४६१९९, ईमेल news@news24neapl.tv……………………………………………………….१
ऐऐ “सिधा कुराजनतासंग”कार्यक्रम………१
ऐ. ऐ. “सिधा कुराजनतासंग”कार्यक्रमका चिफप्रोड्युसर एवं प्रस्तोता अं वर्ष ५० को रवि लामिछाने (फोन नं ४००२६६६, ४४४६१९९, ईमेल news@news24neapl.tv)……………………………………………………..१
विपक्षीहरुले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहितको नग्न उल्लंघन गर्दै म निवेदकमाथि अन्याय गरेको तथा पत्रकारिता पेशालाई नै कलंकित पार्ने गरी काम गरेकोले विपक्षीहरुविरुद्ध तपशीलअनुसारको दलिल तथा प्रमाण पेश गर्दै उल्लेखित मागदावी अनुसारको कारबाही होस् भनी यो निवेदन पेश गरेको छु ।
१. २०७५ साल श्रावण ११ गते बलात्कारपछि मृत अवस्थामा भेटिएकी जिल्ला कञ्चनपुर भीनपा–२ उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तका बारे म निवेदकले निरन्तर रुपमा लेख्दै आएको छु । सम्पूर्णतः तथ्यमा आधारित भएर मैले प्रहरी अनुसन्धानमा भएका त्रुटी तथा सो घटनाका दोषीलाई बचाउने नियतका साथ निर्दोषलाई फसाउने विभिन्न प्रयासको विरोध गरेको छु । मैले नेपाल सरकारद्वारा गठित उच्चस्तरीय छानविन समिति तथा राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञ टोलीको प्रतिवेदनका आधारमा अनुसन्धान अगाडि बढाउनुपर्ने माग गर्दै कलम चलाउँदै आएको छु । मैले सो प्रकरणमा प्रचलित कानुन तथा पत्रकार आचारसंहिताको कहिंकतै उल्लंघन गरेको छैन ।
२. निर्मला प्रकरणमा मैले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको उपभोग गर्दै कलम चलाइरहेको बेला मैले विभिन्न खालका षड्यन्त्रहरुको सामना पनि गर्नुपरेको छ । विभिन्न समाचार पोर्टलमा आधारहिन तथा तथ्यहिन तरिकाले मेरो मानमर्दन गर्ने र निर्मला प्रकरणलाई दबाउने प्रयत्न भइरहेको पृष्ठभूमिमा सञ्चारको मूलधार रहेको न्यूज–२४ टेलिभिजन, सो टेलिभिजनबाट सञ्चालन हुने ‘सीधा कुरा जनतासँग’ तथा सो कार्यक्रमका चिफ प्रोड्यूसर रवि लामिछानेले पत्रकारिताका आधारभूत सिद्धान्त, मान्यता, विश्वव्यापी रुपमा प्रचलित आचारसंहिता तथा देशभित्रकै आचारसंहिताको नग्न उल्लंघन गर्दै मलाई बदनाम गर्ने तथा निर्मला प्रकरणलाई दवाउन भइरहेका विभिन्न प्रयासलाई सघाउने काममा मतियारको भूमिका गरेका छन् ।
३. निर्मला प्रकरणका बारेमा विपक्षीहरुले २०७६ साउन ११ गतेबाट सो कार्यक्रममा सामग्री प्रस्तुत गर्न थालेका थिए । २०७६ साउन १६ को कार्यक्रममा विपक्षीहरुले मेरा फेसबुक स्टाटस तथा मैले सम्पादन गर्ने अखबारका आधारमा असन्तुलित तथा एकतर्फी सामग्री प्रस्तुत गरे । मैले निर्मला प्रकरणलाई तोडमरोड गरेको भन्दै विपक्षीहरुले आफूलाई अनुकूल हुने मेरा फेसबुक स्टाटसलाई अतिरञ्जित तरिकाले प्रस्तुत गरेका छन् । २०७५ साउन ११ देखि १५ सम्म र २०७६ भाद्र ७ देखि १० गतेसम्मका मेरा स्टाटसलाई लुकाएर विभिन्न सन्दर्भमा मैले लेखेका स्टाटसको सन्दर्भ नै नखुलाई नितान्त मनोगत र दुर्नियतका साथ रिपोर्ट प्रस्तुत गरियो । पत्रकारिताको आधारभूत तत्व ‘सन्तुलन’लाई लज्जास्पद तरिकाले उपेक्षा गर्दै मलाई यथोचित स्थान नै नदिई विपक्षीहरुले नेपाली पत्रकारिताकै अनुहारमा कालो पोत्ने गरी काम गरेका छन् ।
४. २०७६ साउन १६ को अंकपछि दवाव उत्पन्न हुँदा विपक्षीहरु मलाई सो कार्यक्रममा स्थान दिन सहमत भए । सहमति अनुसार २०७६ साउन २१ को अंकको पूरै समय मलाई दिनेसहितका शर्तमा म सो टेलिभिजनको स्टुडियोमैं उपस्थित हुने सहमति भयो तर विपक्षीहरुले पत्रकारिताका सबै आधारभूत मान्यता र सिद्धान्तको धज्जी उड्ने गरी सो अंकमा निम्नानुसारका गैरव्यावसायिक व्यवहार गरे
(क) दर्शकहरुलाई बुझ्न सजिलो होस् भनी मैले तयार गरेका सामग्री निर्धारित कार्यक्रमभन्दा एक दिन पहिले नै मैले मेरो इमेलबाट गुगल ड्राइभ प्रयोग गरी कार्यक्रमका उत्पादक दीपक बोहराको इमेलमा पठाएको थिएँ । विपक्षीहरुले व्यावसायिक आचरणविरुद्ध तत्काल मेरा इमेल निर्मला प्रकरणमा निलम्बित तथा कञ्चनपुर जिल्ला अदालतमा यातना तथा प्रमाण नष्ट सम्बन्धी मुद्दा खेपिरहेका निलम्बित डिएसपी अंगुर जिसीलाई फरवार्ड गरिदिएका रहेछन् । निज जिसीले गुगल ड्राइभमा ‘एक्सेस’ माग्दा गैरव्यावसायिक तरिकाले इमेल फरवार्ड गरिएको मैले थाहा पाएँ । सोको सबै प्रमाण यसैसाथ संलग्न छ । विपक्षीहरुको यस्तो व्यवहारले पत्रकारितालाई विचौलिया धन्दाका रुपमा प्रयोग गरेको मेरो ठम्याई छ ।
(ख) पूर्वशर्त अनुसार सो अंकको पूरै समय म एक्लैलाई प्रदान गरिनुपर्नेमा कार्यक्रम सुरु भएको करिब १० मिनेटसम्म पनि लुकाएर अकस्मात स्टुडियोमा निलम्बित डिएसपी अंगुर जिसीलाई उपस्थित गराइयो । जुन आरोपमा जिसी निलम्बित भएका हुन् र जुन अभियोगमा उनीमाथि अदालतमा मुद्दा चलिरहेको छ सोही विषयको विज्ञका रुपमा चोरबाटोबाट जिसीलाई कार्यक्रममा प्रवेश गराइयो । यो पत्रकारिताको इतिहासमैं जघन्य र निकृष्ट तथा गैरव्यावसायिक हर्कत हो । यसबाट नेपाली पत्रकारिताको निधारमा कलंक लागेको मेरो ठम्याई छ ।
(ग) मेरो तेजोबध गर्न कार्यक्रमका दौरान कार्यक्रम सञ्चालक रवि लामिछानेले पत्रकारिताको मान्यता अनुरुप ‘होस्ट’को भूमिकामा नरही निलम्बित र अदालतमा मुद्दा खेपिरहेका व्यक्तिको एकोहोरो पक्षपोषण गरिरहे । उनले मेरो मानमर्दन मात्रै गरिरहे भने निलम्बित डिएसपी जिसीलाई कुनै पनि प्रश्न गरेनन् बरु जिसीलाई नै सफाई दिने नियत र शैलीमा प्रस्तुत भए । यो पत्रकारिताका सिद्धान्त, मान्यता र आचारसंहिताको नग्न उल्लंघन हो ।
(घ) मेरा दावी र तर्कलाई खण्डन गर्न कार्यक्रम सञ्चालक रवि लामिछानेले निकृष्ट तरिकाले तथ्यहरुको तोडमोड गरे भने मलाई गलत सावित गर्नका लागि नक्कली र फर्जी सामग्रीको पनि प्रयोग गरे । कार्यक्रममा भिजन मिडिया नामक यूट्यूब च्यानलले खिचेको निर्मलाकी आमा दुर्गादेवी पन्तको भिडियो आफ्नो अनुकूल हुने गरी प्रस्तुत गरे । सो भिडियोमा काँटछाँट गरेर लामिछानेले मेराविरुद्धको सामग्री बनाए ।
(ङ) कार्यक्रममा पहिचान लुकाइएकी एक युवतीलाई प्रस्तुत गरियो । ती युवतीले भोलिपल्टै ‘साझाआवाज’ नामक यूट्यूब च्यानललाई अन्तर्वार्ता दिंदै लामिछानेले आफ्नो भनाईलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाइन् । यसबाट लामिछानेसहितका विपक्षीले पत्रकारितामा गर्नै नहुने काम गरेर फर्जी सामग्री तयार गरी दर्शकलाई भ्रममा राख्ने प्रयास गरेको देखियो ।
(च) कार्यक्रममा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालले दिलिपसिंह विष्टको मानसिक अवस्थाका बारेमा जारी गरेको रिपोर्टलाई गलत भन्ने निलम्बित डिएसपी अंगुर जिसीको दावीलाई सञ्चालक लामिछानेले पूरै बल लगाएर समर्थन गरे । त्यसबारेमा उनले विशेषज्ञ राय समेत बुझ्न चाहेनन् ।
(छ) पूर्वसहमति अनुसार सञ्चालक लामिछानेले मैले तथ्यका रुपमा प्रस्तुत गर्न पठाएका ९ वटा सामग्रीमध्ये २ वटा मात्रै प्रसारण गराए भने मैले पटक–पटक अनुरोध गर्दासमेत बाँकी सामग्री लुकाइयो । यसबाट लामिछानेहितका विपक्षीले दर्शकलाई भ्रममा राखेर मलाई बदनाम गराउने पूर्वनियोजित प्रपञ्च रचेका प्रष्ट हुन्छ ।
(ज) मैले न्यूज–२४ को कार्यक्रममा सहभागी हुनका लागि सामाजिक सञ्जालमार्फत् ३ वटा शर्त राखेको थिएँ । पहिलो मेरो यातायात तथा आवासको खर्च विपक्षीहरुले नै बेहोर्नुपर्ने, दोस्रो कार्यक्रमको पूरै समय म एक्लैलाई उपलब्ध गराउनुपर्ने र तेस्रो मेरो सुरक्षाको प्रत्याभूति हुनुपर्ने । ती शर्त स्वीकारेको कार्यक्रमका उत्पादक दीपक बोहराले फेसबुकमै लेखेका थिए भने २०७६ साउन १६ को कार्यक्रममा सञ्चालक लामिछानेले पनि टेलिभिजनमैं बोलेका थिए र मसँगको एसएमएस सम्वादमा पनि उनले ती शर्त स्वीकारेका थिए । तर, विपक्षीहरुले कुनै पनि शर्त पालना गरेनन् । न्यूज–२४ टेलिभिजनले मेरा लागि धनगढी–काठमाडौंको आतेजाते हवाई टिकट पठाइदिएको भए पनि कार्यक्रमकै बीचमा सञ्चालक लामिछानेले सो रकम फिर्ता मागे । पछि मैले रु. १२०००।– (बाह्र हजार) बुझाएँ जसमध्ये उनले मलाई रु. २००।– फिर्ता गर्नुपर्ने थियो तर अहिलेसम्म सो रकम मैले फिर्ता पाएको छैन । पूर्वशर्त र पूर्वसहमतिको धज्जी उडाउँदै विश्वव्यापी प्रचलनअनुसार मेरो सबै खर्च स्वयं टेलिभिजनले उठाउनुपर्ने भए पनि उल्टै निकृष्टताको हद नाघेर कार्यक्रममैं मसँग रकम फिर्ता मागियो । यो निकृष्टताले नेपाली पत्रकारितालाई थप कलंकित बनाएको छ ।
(झ) सञ्चालक लामिछानेले २०७६ साउन १४ को अंकमा निर्मला प्रकरणकी प्रत्यक्षदर्शी भनेर पेश गरेकी महिलाले अनुसन्धानलाई कुनै लिड नगरेको कञ्चनपुरका एसपी दिनेश आचार्यले स्थानीय मिडियासँग बोलेको आवाजलाई प्रसारण गरिएन जबकी लामिछाने स्वयंले एसपी आचार्यलाई फोन गर्दा पनि सो प्रत्यक्षदर्शी सक्कली नै भएको खुलेन । नक्कली पात्रहरु खडा गर्ने र ती पात्रलाई बलजफ्ती सक्कली सावित गर्न खोज्ने यस्तो प्रवृत्तिले नेपाली पत्रकारितालाई बजारिया धन्दाका रुपमा बदनाम गरेको छ ।
(ञ) कार्यक्रममा निलम्बित डिएसपी अंगुर जिसीको पक्षपोषण गर्दै सञ्चालक लामिछानेले राज्यका निकाय तथा अंगहरुको मानमर्दन हुने गरी प्रस्तुति दिएका छन् । यसबाट पत्रकारिताको आडमा राज्यलाई नै विश्रृंखलित बनाउने र राज्यप्रति निराशा फैलाउन खोजेको देखिन्छ । यस्तो प्रवृत्तिले नेपाली पत्रकारिता निकृष्ट अभीष्ट पूरा गर्ने हतियारका रुपमा विकास हुन सक्ने खतरा देखिएको छ ।
(ट) विपक्षीहरुले मिति २०७६ श्रावण १४ को कार्यक्रममा प्रस्तुत गरेको दिलिपसिंह विष्टको भिडियो यातना दिएर बनाइएको र सो भिडियोमा गलत तथ्य रहेको भनी कञ्चनपुर जिल्ला अदालतमा सुनुवाईको क्रममा रहेको यातना सम्बन्धी मुद्दाको विषयवस्तुलाई जानजान कार्यक्रमको विषय बनाएका छन् र अभियुक्त अंगुर जिसीलाई पटक–पटक कार्यक्रममा स्थान दिने काम गरेका छन् । यसबाट अदालतको गरिमा मात्रै खण्डित गर्ने कार्य भएको छैन विचराधिन मुद्दाका अभियुक्तलाई मिडिया ट्रायलमार्फत सफाई दिने दुर्नियतपूर्ण कार्य भएको छ । विपक्षीहरुको यो कार्यले स्वतन्त्र न्यायालय सम्बन्धमा पत्रकार आचारसंहिताले गरेको व्यवस्थाको घोर उल्लंघन भएको छ ।
५. मागदावी ः उपरोक्त दलिलका आधारमा विपक्षीहरुलाई कारबाही गरिपाउँ भनी निम्नानुसारको मागदावी प्रस्तुत गर्दछु,
(क) विपक्षीहरुले पत्रकार आचारसंहिताको नग्न उल्लंघन गरेको ठहर गरी उनीहरुलाई प्रेस काउन्सिलमैं झिकाई माफीनामामा दस्तखत गराई न्यूज–२४ टेलिभिजनको सोही कार्यक्रमबाट क्षमायाचना गर्न निर्देशन गरिपाउँ । सो निर्देशन नटेरेमा राज्यबाट विपक्षीहरुले पाउने सबै सुविधा स्थगन गरिपाउँ ।
(ख)ं उपरोक्तअनुसारको प्रकरण नेपाली पत्रकारिताको निधारमा लागेको कलंक ठहर गर्दै सो सम्बन्धमा व्यापक छलफल गरी पत्रकारितालाई स्वच्छ राख्नका लागि नयाँ कानुनी व्यवस्थातर्फ पहल गरिपाउँ
६. प्रमाणहरु
(क) न्यूज–२४ को युट्यूब च्यानलमा उपलब्ध २०७६ साउन ११, १४, १६, १८ र २१ गते प्रसारित ‘सीधा कुरा जनतासँग’को अंकहरु प्रमाण लगाइ पाउँ ।
(ख) भिजन मिडिया नामक यूट्यूब च्यानलमा रहेको दुर्गादेवी पन्तको भिडियो प्रमाण लगाईपाउँ ।
(ग) साझाआवाज नामक यूट्यूब च्यानलमा रहेको साउन २१ मा परिचय लुकाइएकी युवतीको भिडियो प्रमाण लगाई पाउँ ।
(घ) दीपक बोहराले अंगुर जिसीलाई फरवार्ड गरेको मेरो इमेलको ‘एक्सेस रिक्वेस्ट’को स्क्रिन सट ।
(६) रवि लामिछाने र मबीच एसएमएसमा भएका सहमतिको क्रिन सट ।
७. यसमा लेखिएको व्यहोरा ठिक साँचो हो, झुठ्ठा ठहरे कानुनबमोजिम सहुला बुझौला ।
निवेदक
खेम भण्डारी
ईति सम्बत २०७६ साल भाद्र ११ गते रोज ४ शुभम्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: