आफ्नो हवाई क्षेत्रमा भारतीय विमानहरूलाई पूर्ण बन्देज गर्ने तयारीमा पाकिस्तान

काठमाडौँ, पाकिस्तानका विज्ञान तथा प्रविधिमन्त्री फवाद हुसैन चौधरीले उनको देशले पुन: एक पटक भारतसँगको आफ्नो हवाई मार्ग बन्दको घोषणा गर्न गइरहेको बताएका छन्।

मन्त्री चौधरीले पाकिस्तानले भारतको लागि आफ्नो हवाई मार्ग पूर्ण रूपमा बन्द गर्नेबारे सोचिरहेको बताएका हुन् । उनका अनुसार अफगानिस्तानसँगको कारोबारमा भारतले पाकिस्तानको भूमि प्रयोग गर्ने गरेकोमा त्यसमा समेत प्रतिबन्ध लगाइनेछ।

याे पनि पढ्नुस  तनावकैबीच पाकिस्तानद्वारा ब्यालेष्टिक मिसाइल परीक्षण

त्यसका लागि कानुनी औपचारिकताहरू पूरा गर्ने काम भइरहेको र त्यो छिट्टै कार्यान्वयनमा आउने उनको भनाइ थियो। फवाद हुसैन चौधरीको त्यस्तो भनाइ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रका नाममा सम्बोधन गरेपछि आएको हो। खानले आफ्नो सम्बोधनमा कश्मीरको विषयमा पाकिस्तान चुप नबस्ने बताएका थिए।

यद्यपि मन्त्री चौधरीको भनाईप्रति भारतमा पाकिस्तानी उच्चायुक्तका रूपमा काम गरिसकेका अब्दुल बासितले भने असन्तुष्टि पोखेका छन्। बासितले ट्वीटमा भनेका छन्: “यी कुरालाई निर्णय हुनुभन्दा अगावै तपाईँले किन सार्वजनिक गर्नुभएको हो ? यो अपरिपक्व राजनीति र लापरवाह कूटनीतिको पहिचान हो।”

याे पनि पढ्नुस  स्वीच थिचेर ओली र मोदीले गरे पाइपलाइन उद्घाटन

यसअघि भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्रको प्रयोग गर्नबाट भारतलाई प्रतिबन्ध लगाएको थियो। अगस्ट ५ मा भारतले जम्मू-कश्मीरको संवैधानिक स्वायत्तता अन्त्य गर्ने निर्णय गरेको थियो।

त्यसयता पाकिस्तानले असन्तुष्टि जनाउँदै त्यसविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा विरोधका स्वरहरू उठाइरहेको छ। यसअघि पनि गत जुलाईमा पाकिस्तानले गैरसैनिक उडानका लागि आफ्नो आकाशमाथिको हवाई मार्ग झण्डै पाँच महिनाको प्रतिबन्धपछि खुला गरेको थियो।

याे पनि पढ्नुस  मोदीलाई ओलीले दिए ३ भाषामा जन्मदिनको शुभकामना

भारतसँगको तनाव चुलिएको पृष्ठभूमिमा पाकिस्तानले त्यसरी आफ्नो आकाश बन्द गरेपछि अन्यत्रबाट उडान गर्नुपर्दा भारतीय विमान सेवाहरूले करोडौँ डलर घाटा बेहोरेका थिए। बीबीसी

कमेन्ट गर्नुहोस्