विदेश भ्रमणको निहुँमा गोप्य भेटघाटमा पूर्वराजा

काठमाडौं, पूर्व राजा ज्ञानेन्द्र शाहले विदेश भ्रमणका क्रममा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूसँग हिमचिम बढाउँदै गैरहेको समाचार बाहिरिएको छ। पारिवारिक भ्रमणमा बैंककमा रहेका पूर्वराजा शाहले राजनीतिक भेटवार्ता सुरु गरेको समाचारलाई आएपछि शाहको बैंकक बसाईलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको हो ।

पूर्वराजाको यस भ्रमणलाई नेपालमात्रै नभएर विश्वभरि छरिएर रहेका नेपालीहरुले बढो महत्वका साथ हेरिरहेका छन् ।
विशेष सूत्रलाई उद्धृत गर्दै रिपोर्टर्स क्लबले प्रकाशित गरेको समाचारमा बैंकक बसाईको क्रममा पूर्वराजा शाहले भारत र चीन दुवै देशका विशेष एजेन्सीको प्रतिनिधिहरुसँग समेत भेटवार्ता सुरु गरेका छन् ।

नेपालमा पछिल्लो समय राजावादीहरु सक्रिय भैरहेको अड्कलबाजी सुरु भएको अवस्थामा उनको बैंकक बसाई र विभिन्न एजेन्सीका प्रतिनिधिहरुसँगको भेटवार्ताले विशेष रूपमा हेरिएको छ ।

२४ साउनको दिउँसो थाइ एयरवेजको विमानबाट शाह थाइल्यान्ड प्रस्थान गरेका थिए । पछिल्लो समय उनको थाइल्यान्ड आवतजावत बाक्लिएको छ । उनले त्यहाँबाट अन्तर्राष्ट्रिय शक्तिकेन्द्रसँग सम्पर्क बढाएको चर्चा छ ।

नातिनीहरू बैंकमा अध्ययन गरिरहेकाले उनी बैंकक गइरहेको बताइन्छ । कतिपयले स्वास्थ्योपचारका लागि आवतजावत बाक्लो बनाएको बताइरहेका छन् । तर, उनले त्यहाँबाट राजनीतिक र कूटनीतिक सक्रियता बढाइरहेको भनिएको छ ।

पूर्वराजा शाह थाईल्याण्ड गएको दुई दिन नबित्दै नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला पनि सपरिवार थाईल्याण्ड प्रस्थान गरेको समाचारले विशेष चर्चा पाएको थियो ।

स्रोतले कोइरालाले पूर्वराजा शाहसँग भेटवार्ता गरेको दाबी गरेको छ । तर, कोइरालाले भने यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । एक महिनाको अन्तरालमा पूर्वराजा शाह पुनः थाइल्यान्ड उडेका हुन् । यसअघि असारमा उनी बैंकक पुगेका थिए ।

कमेन्ट गर्नुहोस्