विप्लव र राजावादीबीच साँठगाँठ ?

काठमाडौंः

अलिकति इतिहासको कुरा

नेपालको कम्युनिष्ट आन्दोलनको स्थापनादेखि नै भारत र राजालाई हेर्ने सवालमा दुई धार देखिए ।

कम्युनिष्टहरुले समाजको तत्कालिन परिस्थितिको ब्याख्या गर्दै त्यसलाई बदल्न बनाउने रणनीतिमा प्रधान अन्तरविरोध को सँग हुने भन्ने विषयका आधारमा तत्कालिन कार्यनीति, कार्यक्रम र संघर्षको स्वरुप निर्धारण गर्ने गर्दछन् ।

जोविरुद्ध तत्कालका लागि संघर्ष गर्नुपर्ने हो, त्यो प्रधान अन्तविरोधी शक्ति हुन्छ । रणनीतिकरुपमा मुख्य बिरोधी शक्तिसँगको संघर्षमा अन्य बिरोधी शक्तिसँग मोर्चागत एकताको समेत परिकल्पना कम्युनिष्टहरुले गरेका हुन्छन् ।

नेपालमा २००७ सालको राजनीतिक परिवर्तनपछि भारतको प्रत्यक्ष राजनीतिक हस्तक्षेप देखा पर्दै आयो । पछि २०१७ मा पञ्चायत शासन लागू भएपछि यसका बिरुद्ध समेत संघर्ष शुरु भयो ।

यही बिन्दुमा आएर कम्युनिष्टहरु विभाजित भए ।

एकथरिले भने– राजा नै नेपाली क्रान्तिको प्रधान निशाना बन्नुपर्छ । राजनीतिक भाषामा नेपाली सामन्तवादको संरक्षक राजतन्त्र भएकोले पहिलो निशाना राजालाई बनाउनुपर्छ र यसका लागि भारतप्रति नरम बन्नुपर्छ ।

अर्कोथरिले भने– प्रधान शत्रु भारत हो, राष्ट्रिय स्वाधिनताको लडाईं लडने क्रममा राजा पनि साथमा लिएर जानुपर्छ । राजासँगको संघर्ष प्रधान होइन, सहायक हो ।

त्यसैले नेपाली कम्युनिष्टहरु कुनै बेला राजासँग नजिक हुने र भारतको बिरोध गर्ने अनि भारतसँग नजिक हुने र राजाको बिरोध गर्दै आएको इतिहास देखिन्छ ।

कतिपय अवस्थामा भने खासगरी तत्कालिन माओवादी र मसालले राजा र भारतीय बिस्तारविरुद्ध समानस्तरमा अन्तरविरोध रहेकोले क्रान्ति या कार्यक्रमको निशाना दुबै बन्नुपर्छ भन्ने मत समेत राखेको पाइन्छ ।

अहिले यो प्रसंग उल्लेख गर्नुको कारण के हो भने पछिल्ला दिनहरुमा नेपाली राजनीतिमा यसप्रकारका प्रयोगहरु फेरी शुरु भएका छन् ।

याे पनि पढ्नुस  ‘विप्लवसँग वार्ता गर, राजावादीमाथि प्रतिबन्ध लगाऊ’

राजा गएपछि गणतन्त्र निशानामा

राजा गइसकेपछि पनि नेपाली समाजको एउटा तप्काले राजाको समर्थन गर्दछ । राजाको समर्थन भनेको व्यक्तिको मात्र समर्थन नभई राजतन्त्र नामक राजनीतिक संस्थाको समर्थन हो । एकथरिले राजालाई हिन्दुधर्मसँग जोड्छन् । यसरी राजा या राजतन्त्रका समर्थक र हिन्दु राष्ट्र नेपालका पक्षधरहरु एउटा कित्तामा उभिन पुगेका छन् । उनीहरुले वर्तमान व्यवस्थाको बिरोध गर्दछन् । गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक संघीयताको बिरोध गर्दछन् ।

एउटा उत्तर र एउटा दक्षिण बाटोमा हिँडिरहेका भए पनि दुबैका लागि एउटा मध्यबिन्दु बनेको छ । यो मध्यबिन्दुमा वर्तमान व्यवस्था छ, वर्तमान सरकार छ ।

अर्कोतर्फ अति क्रान्तिकारी चरित्र रहेको दावी गर्ने नेत्र बिक्रम चन्द नेतृत्वको पार्टीले समेत अहिलेको संविधानलाई अस्वीकार गर्दछ । उसले संसदीय व्यवस्थालाई भत्काउनु पर्ने मत राख्दछ ।

राजनीतिक विचारका हिसाबले बिप्लवले अग्रगामी कुरा गर्छ भने राजावादी प्लस हिन्दुवादीहरुले पश्चमगमनको कुरा गर्छन् । एउटा फेरी हिन्दु राजतन्त्रात्मक नेपालको कुरा गर्छ भने अर्कोले अहिलेको बहुदलीय संसदीय व्यवस्थाको ठाउँमा समाजवादको कुरा गर्छ ।

एजेण्डाका हिसाबले विप्लवहरु प्रगतिशील देखिएका छन् भने राजावादीहरु प्रतिगामी भूमिकामा छन् ।

बाटो उल्टो निशाना एउटै

तर उनीहरुबीच एउटा कुरामा समानता देखिएको छ । दुबैका लागि अहिलेको संसदीय व्यवस्था र यसलाई समर्थन गर्ने दलहरु मुख्य बिरोधी देखिएका छन् ।

विप्लव समूहले आफ्ना राजनीतिक दस्तावेजमा प्रधान अन्तरविरोध दलाल पूँजिवादी राज्यसत्ता मान्छ भने राजावादीहरुले गणतन्त्रात्मक संसदीय व्यवस्था नै मुख्य बाधक भएको मान्दछ ।

एउटा उत्तर र एउटा दक्षिण बाटोमा हिंडिरहेका भएपनि दुबैका लागि एउटा मध्यबिन्दु बनेको छ । यो मध्यबिन्दुमा वर्तमान व्यवस्था छ, वर्तमान सरकार छ ।

याे पनि पढ्नुस  रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च दालतको आदेश

तसर्थ, कार्यनीतिकरुपमा कतिपय अवस्थामा विप्लव र राजावादीहरुबीच साँठगाँठ देखिएको हो ।
पछिल्ला दिनहरुमा राजावादी र विप्लववादीका गतिविधि चुलिएका छन् । राजावादीहरु खुलेआम गतिविधि गरिरहेका छन् भने विप्लव समूहमाथि प्रतिबन्ध लागेको छ । दुबैले संविधानको बिरोध गरेका छन् ।

सरकारका काम कारवाहीप्रति जनता पूर्ण सन्तुष्ट हुन नसक्दा र सरकारको अनुभूति त्यो तहसम्म हुन नसक्दा दुबै समूहले समाजको एउटा तप्कालाई आकर्षण गर्न सकेका छन् । तर दुबैको निसानामा सरकार भएकोले कतिपय घटनाहरुमा उनीहरु एकै ठाउँमा देखिएका छन् ।

त्यसो भए के दुबै राजावादी र विप्लवहरुले अहिलेको व्यवस्थालाई निशाना बनाउने नाममा अघोषित मोर्चाबन्दी गरेका हुन त ?

पुडासैनी प्रकरणमा मौनता ?

प्रायःजसो स–साना घटनामा पनि रिएक्टिभ हुने विप्लव समूह देश र विदेशमा नै ठूलो हलचल मच्च्याएको रबि लामिछाने प्रकरणमा भने मौन देखियो । जबकि निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा भने विप्लव समूहले निकै सक्रियता देखाउँदै आफूले हत्यारा पत्ता लगाई कार्वाही गर्ने सम्मको विज्ञप्ती निकाल्यो । तर चितवन प्रकरणमा भने रवि लामिछाने पक्राउ परेदेखि रिहाईसम्म विप्लव समूह कतै देखिएन ।

संयोग चाहिं के थियो भने रवि समर्थकहरुको आन्दोलनमा पूर्व राजारानीका तस्वीर अंकित टिशर्ट लगाएका युवाहरुको जमात उल्लेख्य नै देखिन्थ्यो । यता विप्लवहरुको मौनता र उता राजावादीहरुले आन्दोलनलाई प्रयोग गर्नुका पछाडि के अर्थ हुनसक्छ ? त्यो भने समयले स्पष्ट गर्ने छ । जबकि सामान्यरुपमा ससाना घटनामा पनि विप्लव समूहले आफ्नो प्रतिक्रिया जनाएको हुन्छ । अर्को संयोग एउटा प्रतिक्षालय भत्काएको आरोपमा त्यहि बेला विप्लव समूहले चितवन बन्दको आयोजना गरेको थियो ।

त्यसो भए के दुबै राजावादी र विप्लवहरुले अहिलेको व्यवस्थालाई निशाना बनाउने नाममा अघोषित मोर्चाबन्दी गरेका हुन त ?
राजनीतिकरुपमा विप्लव समूह र राजाबादीको बाटो ठ्याक्कै उल्टो भएकोले यो कुरा पत्याउन नसकिएला तर वर्तमान सत्तासँग उनीहरु दुबैको अन्तरविरोध र तथाकथित राष्ट्रवादको नाममा दुबैबीच सामिप्यता नहोला र ?

याे पनि पढ्नुस  शालिकराम आफ्नै कारण मरे, रवि आफ्नै कर्मले फसेः बिमल पोखरेल

अर्को घटना, आन्दोलनको समापन भएकै दिन विप्लव समूहका केही सामाजिक सञ्जालमा रहेका समूह र व्यक्तिबाट प्रचण्डलाई लक्षित गरेर भिडियो र पोष्टहरु सार्वजनिक भए । यो बीचमा प्रचण्ड सबैभन्दा बढी आन्दोलनकारीको प्रहारमा थिए । रवि लामिछानेको आन्दोलन एकअर्थमा प्रचण्डविरुद्ध केन्द्रीत थियो भन्दा पनि फरक नपर्ला । र, रविहरुको आलोचनामाथि विप्लव समूहका ती सामाजिक सञ्जालका पेजहरुले थप योगदान दिए । प्रचण्डको ३३ दलको आन्दोलनका बेलाको एउटा भिडियो विप्लव फ्यान क्लब, काठमाडौंका नामले सार्वजनिक गरियो । अनि यो भिडियोलाई रवि लामिछाने समर्थकहरुले निकै जोडतोडका साथ प्रचार प्रसार गरे ।

दुबै समूहबीच घोषितरुपमा सल्लाह भएर यसो नभएको हुनसक्ला तर प्रवृत्तिगतरुपमा दुबै एकै ठाउँ देखिए । दुबैका विचार फरक भएपनि दुबैको क्रियाकलाप एउटै बिन्दुमा देखिए  ।

तर एउटा सत्य के हो भने वर्तमान व्यवस्था नै सबैथोक नभएपनि राजावादीहरुका क्रियाकलाप भोली विप्लवकै सत्ता आएमा पनि परिवर्तनका सबैभन्दा ठूलो बाधक हुन । राजावादीहरुले सत्ताको बिरोध गर्दा खुसी हुने अवस्थाको सबैभन्दा ठूलो प्रहार प्रगतिशील शक्तिहरुमा नै पर्छ । माथि नै भनियो, विप्लव प्रगतिशील समूह हो, राजावादीहरु प्रतिगामी समूह हो । त्यसैले उपलब्धि रक्ष ागर्ने सवालमा जतिसुकै अन्तरविरोध भएपनि वर्तमान सत्ता या सरकारको बिरोध गर्ने अवस्थामा विप्लव र राजावादी एक ठाउँ भएको कुनै पनि अर्थमा सुहाउँदैन ।

कमेन्ट गर्नुहोस्