गणतन्त्रमा पनि सामन्तराज, कुख्यात सुदखोरले सयौं परिवारबाट ठगे करोडौं रुपैयाँ (विज्ञप्तिसहित)

काठमाडौंः सर्लाहीका कुख्यात सुदखोर श्यामकृष्ण साह (श्याम परदेशी) ले कीर्ते कागज गरेर सयौं परिवारबाट करोडौ रुपैया ठगेका छन् । कीर्ते कागज गरेर सयौं परिवारबाट करोडौ रुपैया ठगेको भन्दै पीडित न्याय खोज्दै काठमाडौंमा आएका छन् । उनीहरू बुधबारदेखि माईतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बस्दैछन् । साहबाट पीडितले ‘श्याम परदेशी पीडित संघर्ष समिति’ नै गठन गरेर न्यायका निम्ति काठमाडौंमा आन्दोलन गर्दैछन् ।

पीडितहरुलाई न्याय दिलाउनको लागि गठित समितिले प्रमुख दलका प्रमुख नेताहरु, गृहमन्त्री, कानूनमन्त्री, महान्यायाधिवक्ता, सभामुख र प्रमुख पार्टीका संसदीय दलका कार्यालयहरुमा ज्ञापन पत्र बुझाउने जनाएको छ । सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ४ बस्ने साहले गरिब, निमुखाहरुलाई ऋण लगानी गर्ने नाममा एउटै ऋणमा परिवारका विभिन्न व्यक्तिहरुसँग फरक–फरक कागज गराएर ऋण लिएको रकमभन्दा दशौं गुणा बढीको कागज गरेको गुनासो पीडितको छ ।

१५० जना व्यक्तिले लिएको बास्तविक ऋण एक करोड ९ लाख ५१ हजार रुपैयाँ साँवा रहेको समितिले जनाएको छ । जसमध्ये विभिन्न पटकमा १ करोड ४७ लाख ४ हजार तिरिसकिएको छ । तर, निज कलवारले अझैपनि ७ करोड रुपैयाँ तिर्नुपर्ने भन्दै दाबी गर्ने आएको श्याम परदेशी पीडित संघर्ष समितिले जानकारी दिएको छ ।

साहले सोझासिधा, गरिब निमुखालाई सयकडा पाँच ब्याजदरमा लगानी गर्ने भए पनि मनलाग्दी ढंगले कागज बनाउने गरेका छन् । सो क्रममा उनले ऋण लिएकाहरूलाई कुनै कागजपत्र दिँदैनन् । उनले मनलाग्दी ढङ्गले रकम बढाउनका लागि त्यसो गर्ने गरेको पीडितको आरोप छ ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यतिका श्रीसम्पत्ति थोरै समयमा कसरी आर्जन गर्न सम्भव छ ? यसलाईसमेत छानबिनको दायरामा ल्याई हामी शोषित पीडितलाई न्याय दिलाई दिन हार्दिक अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा थप भनिएको छ, ‘सर्लाही गएर यथार्थ बुझि हामीले लिएको ऋणको नियमानुसारको साँवा, ब्याज निजलाई हस्तान्तरण गरि गराई अनावश्यक हामी माथि थोपारिएको ठूलो धनराशी र कानूनी झन्झटबाट मुक्ति दिलाउन अपिल गर्दछौं ।’

लिएको ऋणको साँवा र ब्याज तिर्न आफूहरू अहिले पनि तयार रहेको बताउँदै पीडितहरूले झुक्याएर गराएको लिखित रकम नतिर्ने अडान राखेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पीडित रुक्मिणि चौधरी, फत्मा खातुन, रीना साह, उर्मिला चौधरी, सुमित्रा चौधरीलगायतले आ–आफ्नो पीडा सुनाउँदै आफूहरुलाई राज्यले न्याय दिलाउनुपर्ने माग गरे।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज डाचाराज वाग्लेले राज्यले गरिब, निमुखाहरुमाथि भएको यस्तो शोषणबाट उनीहरुलाई मुक्ति दिलाउनुपर्ने बताए । आफूहरुले दुई वर्षदेखि जिल्लाबाट न्याय दिलाउन पहल गरेको पनि उनले सुनाए । नेकपाका प्रदेश कमिटी सदस्य कमल बुढाथोकीले भारतको हरियाणा र दिल्लीका किसानहरु ऋण तिर्न नसकेर झुण्डिएर मर्न बाध्य भएको सुनाउँदै त्यस्तो अवस्था नेपालमा पनी आउन सक्ने भन्दै सरकारलाई न्याय दिन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्